पोखरा–कोशीबीच पर्यटन प्रवर्द्धनका लागि सहकार्य आवश्यक
विराटनगर । पोखरा र कोशी प्रदेशबीच पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनका लागि आपसी सहकार्यलाई सुदृढ बनाउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। पूर्वी नेपालमा सञ्चालन भइरहेको ‘जाउँ है पोखरा’ अभियान अन्तर्गत विराटनगरमा आयोजित कार्यक्रममा सहभागीहरूले दुवै क्षेत्रबीच पर्यटकीय साझेदारी विस्तार गर्नुपर्ने धारणा व्यक्त गरेका हुन्।
होटल सङ्घ नेपाल पोखराको पहल तथा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सहकार्यमा आयोजना गरिएको कार्यक्रममा वक्ताहरूले पोखरा र कोशी प्रदेश दुवै पर्यटन सम्भावनाले भरिपूर्ण भएकाले संयुक्त प्रयासबाट ठूलो लाभ लिन सकिने बताए। उनीहरूका अनुसार पर्यटन राजधानीका रूपमा चिनिएको पोखरा र औद्योगिक सहर विराटनगरसहितको कोशी प्रदेशबीच पर्यटक आदान–प्रदान बढाउन सके आर्थिक गतिविधि थप सशक्त बन्नेछ।
होटल सङ्घ नेपाल कोशी प्रदेशका अध्यक्ष राजन श्रेष्ठले गण्डकी र कोशी प्रदेशबीच पर्यटन सहकार्यको आधार तयार भइसकेको उल्लेख गर्दै त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने बताए। उनले प्रदेशस्तरीय पर्यटनमन्त्री समितिदेखि पर्यटनसम्बद्ध संस्थाहरूबीच सहकार्यका प्रयास अघि बढिसकेको जानकारी दिए।
त्यस्तै, सङ्घका उपाध्यक्ष भवि श्रेष्ठले पोखराको माछापुच्छ्रे हिमाल र कोशी प्रदेशमा रहेको सगरमाथा जस्ता विश्वप्रसिद्ध प्राकृतिक सम्पदाले दुवै क्षेत्रलाई पर्यटनको दृष्टिले विशेष बनाएको बताए। उनले धार्मिक पर्यटनका हिसाबले पोखराको विन्ध्यवासिनी मन्दिर र कोशीको बराहक्षेत्रजस्ता गन्तव्यलाई जोडेर पर्यटक आवागमन बढाउन सकिने धारणा राखे।
होटल सङ्घ नेपाल पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले विगत २५ वर्षदेखि ‘जाउँ है पोखरा’ अभियान सञ्चालन हुँदै आएको बताए। उनले पोखरामा आगामी चैत २९ गतेदेखि वैशाख १ गतेसम्म फेवा नववर्ष महोत्सव आयोजना हुने र त्यस अवसरमा होटलहरूमा २५ प्रतिशत छुटसहितको विशेष प्याकेज उपलब्ध गराइने जानकारी दिए।
उनका अनुसार पोखराको होटल क्षेत्रमा मात्रै करिब ६ खर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको छ भने करिब १ हजार २०० होटलमार्फत दैनिक ४० हजार पर्यटकलाई सेवा दिन सक्ने क्षमता रहेको छ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले हिमाल, ताल र प्राकृतिक सौन्दर्यको संगमका कारण पोखरा अन्तर्राष्ट्रिय पर्यटकका लागि आकर्षक गन्तव्य बनेको बताए।
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले गण्डकी र कोशीबीच जनस्तरमा पर्यटन सम्बन्ध बलियो बनाउन सके दुवै प्रदेशको आर्थिक विकासमा योगदान पुग्ने बताए।
नेपाल एसोसिएसन अफ ट्राभल एण्ड टुर एजेन्ट्स कोशी प्रदेशका अध्यक्ष पुष्प भट्टराईले पर्यटन साझेदारीमार्फत पोखरा र विराटनगरबीच पर्यटकको आवागमन बढ्ने र पर्यटन व्यवसाय थप चलायमान बन्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा सहभागीहरूले संयुक्त प्रचार, पर्यटन प्याकेज आदान–प्रदान, धार्मिक तथा प्राकृतिक गन्तव्यको एकीकृत प्रवर्द्धन र आन्तरिक पर्यटन विस्तारमा दुवै प्रदेशले मिलेर काम गर्नुपर्ने निष्कर्ष निकाले।
