फेवाताल अतिक्रमणविरुद्ध कडा कदम: कर्ण शाक्यको वाटरफ्रन्ट रिसोर्टमा पोखरा महानगरको डोजर
काठमाडौं/पोखरा । फेवाताल किनारमा निर्माण गरिएका अवैध संरचनाविरुद्ध पोखरा महानगरपालिकाले कडा कदम चाल्दै पर्यटन व्यवसायी कर्ण शाक्यको पार्क भिलेज वाटरफ्रन्ट रिसोर्टमा डोजर चलाएको छ। सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्ने क्रममा महानगरले संरचना हटाउने अभियान अघि बढाएको हो।
अदालतले फेवातालको मापदण्ड उल्लंघन गरी ६५ मिटर सीमाभित्र निर्माण गरिएका संरचना गैरकानुनी ठहर गर्दै ६ महिनाभित्र हटाउन निर्देशन दिएको थियो। सोही आदेशअनुसार महानगरले रिसोर्टको मूल गेट, स्वीमिङ पुल क्षेत्रलगायतका संरचनामा डोजर चलाएको जनाएको छ।
काठमाडौ गेष्ट हाउस (केजीएच) समूहअन्तर्गत सञ्चालनमा रहेको वाटरफ्रन्ट रिसोर्टले विगतमा नगर विकास समितिको सिफारिस र स्थानीय निकायको स्वीकृतिका आधारमा निर्माण गरिएको दाबी गरे पनि अदालतले सार्वजनिक तथा पर्ती जग्गामा समेत संरचना बनेको ठहर गरेको थियो। फेवातालको दीर्घकालीन संरक्षण, स्वच्छता र सुन्दरता कायम राख्न अवैध संरचना हटाउनुपर्ने निष्कर्ष अदालतले निकालेको हो।
सरकारले फेवाताल अतिक्रमण हटाउने विषयलाई प्राथमिकतामा राखेपछि संघीय, प्रदेश र स्थानीय तह सक्रिय भएका छन्। पोखरा महानगरका मेयर धनराज आचार्यले अदालतको फैसला कार्यान्वयन गर्न डोजर चलाइएको स्पष्ट पार्दै फेवाताल किनारमा रहेका अन्य अवैध संरचनामा पनि चरणबद्ध रूपमा कारबाही हुने बताएका छन्।
महानगरका अनुसार फेवाताल क्षेत्रका करिब ३० वटा अवैध संरचना हटाउने प्रक्रिया अघि बढाइएको छ। अदालतको फैसलाअनुसार २०३१ सालअघि दर्ता भएका जग्गाधनीलाई मात्र मुआब्जा दिने र त्यसपछि दर्ता भएकालाई मुआब्जा नदिने व्यवस्था लागू हुने बताइएको छ।
फेवाताल संरक्षण अभियानलाई सरकारले दीर्घकालीन पर्यावरणीय तथा पर्यटन व्यवस्थापनसँग जोडेर अघि बढाएको जनाएको छ।
