धार्मिक पर्यटनको आकर्षण बन्दै महाराजाथान
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) । नवलपुरको कावासोती नगरपालिका–१ हात्तीखोरमा अवस्थित महाराजाथान मन्दिर पछिल्लो समय धार्मिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास हुँदै गएको छ। सेनकालीन इतिहाससँग जोडिएको यो मन्दिर अहिले स्थानीय तथा बाह्य जिल्लाबाट आउने श्रद्धालुहरूको प्रमुख आस्था केन्द्र बनेको छ।
स्थानीय विश्वासअनुसार तत्कालीन पाल्पाका राजा मणिमुकुन्द सेनले आफ्नो राज्यको सुरक्षाका लागि शक्तिपीठका रूपमा महाराजाथान मन्दिर स्थापना गरेका थिए। महाराजा मन्दिर धार्मिक सेवा समितिका अध्यक्ष चेतबहादुर थापाका अनुसार यस मन्दिरमा पूजा गरे मनोकामना पूरा हुने जनविश्वास रहेको छ, जसका कारण दैनिक रूपमा भक्तजनको आगमन भइरहन्छ।
कावासोती बजारबाट करिब सात किलोमिटर उत्तरतर्फ पर्ने यो मन्दिरमा नवलपुरसहित देशका विभिन्न जिल्लाबाट श्रद्धालुहरू पुग्ने गरेका छन्। अनुकूल वा प्रतिकूल जुनसुकै परिस्थितिमा पनि स्थानीय समुदायले यहाँ पूजा गर्ने परम्परा रहेको समितिका अध्यक्ष थापाले बताए।
इतिहासमा तराई क्षेत्रमा औलो र अन्य महामारी फैलिँदा मानिसहरूले महाराजाथानमा पूजा गरी बलि चढाउने र केही दिनसम्म बसी धार्मिक अनुष्ठान गर्ने परम्परा रहेको अग्रजहरूको भनाइ छ। विशेषगरी आदिवासी थारू समुदायले यस मन्दिरलाई सदियौँदेखि विशेष आस्थाका साथ पूजा गर्दै आएको उल्लेख गरिएको छ।
निःसन्तान दम्पतीले यहाँ भाकल गरेर सन्तान प्राप्ति हुने विश्वास पनि रहेको छ। सन्तान प्राप्त भएपछि न्वारन गर्न मन्दिरमै ल्याउने र बालबालिकाको नाम महाराजा वा महाराजी राख्ने चलनसमेत देखिने गरेको समितिले जनाएको छ।
मन्दिर परिसरको हरियाली वातावरण, चिसो हावा र प्राकृतिक सौन्दर्यले धार्मिकसँगै पर्यटकीय आकर्षण पनि बढाएको छ। यहाँ पञ्चबलि चढाउने, परेवा उडाउन आउने तथा घुमफिर गर्नेहरूको सङ्ख्या उल्लेख्य रहेको बताइएको छ।
विशेषगरी बडादसैँ र रामनवमी (चैतेदसैँ) का अवसरमा यहाँ ठूलो मेला लाग्ने गर्दछ। मन्दिरको संरक्षण र व्यवस्थापनका लागि २०६९ सालमा महाराजा मन्दिर धार्मिक सेवा समिति गठन गरी संरचना निर्माण, परिसर स्तरोन्नति र विकासका काम अघि बढाइएको छ।
कावासोती नगरपालिका–१ का कार्यवाहक वडाध्यक्ष ओमबहादुर थापाका अनुसार मन्दिरको भौतिक संरचना निर्माण र व्यवस्थापनका लागि वडास्तरबाट बजेट विनियोजन गरिएको छ। प्रदेश र संघीय सरकारबाट थप सहयोग प्राप्त भए महाराजाथानलाई राष्ट्रिय स्तरको धार्मिक पर्यटन केन्द्रका रूपमा विकास गर्न सकिने उनले बताए।
समुचित प्रचारप्रसार, पूर्वाधार विकास र संरक्षणमा ध्यान दिन सकिए महाराजाथान नवलपुर मात्र नभई देशकै महत्वपूर्ण धार्मिक पर्यटन गन्तव्य बन्न सक्ने सम्भावना देखिएको छ।
