इलामको तीनकुने पोखरी पर्यटनको नयाँ केन्द्र बन्दै
इलाम — चुलाचुली गाउँपालिका–२ मा रहेको तीनकुने पोखरी पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ। प्राकृतिक सौन्दर्य, जैविक विविधता र सहज पहुँचका कारण यहाँ घुम्न, तस्बिर तथा भिडियो खिच्न र वनभोज गर्न आउनेको संख्या दिनप्रतिदिन बढ्दै गएको हो।
स्थानीयवासीको सक्रियतामा गरिएको पूर्वाधार विकासले पोखरीलाई व्यवस्थित बनाउँदै लगेको छ। स्थानीय चेतन आङथुपोका अनुसार शनिबार तथा सार्वजनिक बिदाका दिन यहाँ आउने पर्यटकको भीड उल्लेख्य हुन्छ, जसले क्षेत्रको चहलपहल र स्थानीय आर्थिक गतिविधि बढाएको छ।
तीनकुने पोखरीको प्रचारप्रसार र आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘तीनकुने पर्यटन महोत्सव’ पनि सुरु गरिएको छ। ‘चुलाचुलीको पहिचान, पर्यटनको अभियान’ भन्ने मूल नारासहित आयोजना गरिएको महोत्सव वैशाख १ गतेसम्म सञ्चालन हुनेछ।
महोत्सवमा स्थानीय मौलिक कला, संस्कृति, साहित्य र संगीतलाई प्राथमिकता दिइएको छ। आयोजक संयोजक नगीन्द्र श्रेष्ठका अनुसार लिम्बू समुदायको च्याब्रुङ नाच, राई समुदायको साकेला, नेवार समुदायको लाखे, तामाङको सेलो, मगरको मारुनी तथा खसआर्य समुदायको सांस्कृतिक झाँकी प्रस्तुत गरिनेछ। साथै स्थानीय हस्तकला, रैथाने परिकार र परम्परागत उत्पादनको प्रदर्शनीसमेत राखिनेछ।
महोत्सवले स्थानीय संस्कृति संरक्षणसँगै युवालाई रोजगारी सिर्जना गर्ने र स्थानीय उत्पादनलाई बजारसँग जोड्ने लक्ष्य लिएको आयोजकको भनाइ छ। कार्यक्रममा राजेशपायल राई, साहिल लिम्बू, पूजा लामा, पदम राई, एलिना चौहानलगायत कलाकारको सांगीतिक प्रस्तुति रहने बताइएको छ।
करिब ६ बिघा क्षेत्रफलमा फैलिएको तीनकुने पोखरी सिमसार क्षेत्र पर्यावरणीय दृष्टिले पनि महत्वपूर्ण मानिन्छ। २०५२ सालमा स्थानीय अगुवाले खोल्सी बाँधेर पानी संकलन गर्न सुरु गरेको यस क्षेत्रमा २०७२ सालपछि व्यवस्थित पोखरी निर्माण गरिएको हो। समुद्री सतहबाट करिब १८५ मिटर उचाइमा रहेको यो पोखरी पूर्व–पश्चिम राजमार्गबाट करिब साढे पाँच किलोमिटर उत्तरतर्फ पर्दछ, जहाँ सवारी साधनमार्फत सजिलै पुग्न सकिन्छ।
चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङका अनुसार महोत्सवले तीनकुने पोखरीको व्यापक प्रचारप्रसार गर्दै इलामको महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। स्थानीयवासीको सहभागितामा भइरहेको यो पहलले पर्यटनसँगै स्थानीय अर्थतन्त्रलाई पनि टेवा पुग्ने विश्वास गरिएको छ।
