तनहुँमा बन्दीपुर–केशवटार ‘होमस्टे सर्किट’ विकास अभियान तीव्र
तनहुँ । तनहुँको ऐतिहासिक बन्दीपुर र धार्मिक तथा सांस्कृतिक महत्व बोकेको व्यास नगरपालिकालाई जोड्दै ‘बन्दीपुर–केशवटार होमस्टे सर्किट’ निर्माण प्रक्रिया अघि बढाइएको छ। व्यास नगरपालिका र बन्दीपुर गाउँपालिकाको सहकार्यमा ग्रामीण पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित सर्किट विकासको योजना अगाडि सारिएको हो।
गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाका अनुसार स्थानीय संस्कृति, परम्परा, उत्पादन र वातावरणमा आधारित पर्यटनलाई प्रोत्साहन गर्ने लक्ष्यसहित यो सर्किटलाई नयाँ मोडेलका रूपमा अघि बढाइएको हो। उनका अनुसार बन्दीपुर भ्रमण वर्ष २०२५ सफलतापूर्वक सम्पन्न भएपछि सन् २०२६ लाई ग्रामीण पर्यटन भ्रमण वर्षका रूपमा मनाउने घोषणा गरिएको छ।
एक समय प्रमुख व्यापारिक केन्द्रका रूपमा परिचित बन्दीपुर सदरमुकाम दमौली सरेपछि केही समय ओझेलमा परेको थियो। पछिल्लो समय भने बन्दीपुर ‘पहाडकी रानी’का रूपमा पुनः सांस्कृतिक र पर्यटकीय सहरका रूपमा स्थापित हुँदै गएको छ। होमस्टे सर्किटमार्फत पर्यटन विस्तार गरी स्थानीय अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य लिइएको गाउँपालिकाले जनाएको छ।
करिब ७५ किलोमिटर चक्रीय दूरीमा फैलिएको यस सर्किटमा १४ वटा होमस्टे र २० भन्दा बढी गाउँ समेटिनेछन्। गुरुङ, मगर, नेवार, क्षेत्री, ब्राह्मण तथा दलित समुदायबाट सञ्चालित होमस्टेहरूले फरक–फरक सांस्कृतिक अनुभव दिने अपेक्षा गरिएको छ। व्यास नगरपालिकाको वडा नम्बर १४ समेत यस योजनामा समावेश गरिएको छ।
सर्किट विकासका लागि तीन चरणमा कार्यक्रम अघि बढाइएको छ। पहिलो चरणअन्तर्गत चैत १४ र १५ गते पर्यटन तथा संस्कृतिविद्, व्यवसायी र प्राविधिक टोलीले क्षेत्रको अध्ययन, अवलोकन तथा होमस्टे गाउँहरूमा सचेतनामूलक कार्यक्रम सम्पन्न गरिसकेका छन्।
नेपाल पर्यटन बोर्ड पोखरासँगको सहकार्यमा आगामी वैशाख १८ र १९ गते आयोजना हुने गण्डकी प्रदेशस्तरीय ‘गाउँ पर्यटन मार्ट २०८३’ मार्फत सर्किटको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रचारप्रसार गरिने तयारी गरिएको छ।
ग्रामीण पर्यटनलाई सहज बनाउन गाउँपालिकाले सफारी जीप सेवा सञ्चालनमा ल्याएको पर्यटन शाखा प्रमुख सुरज भट्टराईले जानकारी दिए। यसले गाउँ–गाउँसम्म पर्यटकको पहुँच विस्तार हुने विश्वास गरिएको छ।
पर्यटनविज्ञ हरिसिंह गुरुङले यो सर्किट नेपालकै नमुना परियोजनाका रूपमा विकास गर्न खोजिएको बताउँदै यसले नेपाली ग्रामीण पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ पहिचान दिलाउने विश्वास व्यक्त गरे। उनले स्थानीय संस्कृति र जीवनशैली संरक्षण गर्दै दिगो पर्यटन विकास गर्नु आवश्यक रहेको उल्लेख गरे।
