वैदेशिक रोजगार विभागले भन्यो– म्यानपावरलाई नगद नदिनू
काठमाडौं । वैदेशिक रोजगार विभागले विदेश जान चाहने युवालाई म्यानपावर कम्पनीसँग नगदमा आर्थिक कारोबार नगर्न सचेत गराएको छ। विभागले नगद लेनदेन गर्दा भविष्यमा ठगी भए प्रमाण जुटाउन कठिन हुने भएकाले यस्तो अभ्यासबाट टाढा रहन आग्रह गरेको हो।
विभागले इजाजतपत्र प्राप्त संस्था, तिनका सञ्चालक, कर्मचारी वा प्रतिनिधिलाई कुनै पनि प्रकारको रकम नगदमा नलिन र नदिन स्पष्ट निर्देशन दिएको छ। वैदेशिक रोजगारीसम्बन्धी सबै आर्थिक कारोबार औपचारिक बैंकिङ प्रणालीमार्फत मात्रै गर्न भनिएको छ।
सूचनामा सेवा शुल्क लगायतका सबै भुक्तानी कानुनअनुसार बैंकमार्फत उद्देश्य खुलाएर बुझाउनुपर्ने उल्लेख गरिएको छ। यसले आर्थिक पारदर्शिता कायम गर्नुका साथै सम्भावित ठगीबाट जोगिन सहयोग गर्ने विभागको भनाइ छ।
त्यसैगरी, विदेश जाने प्रक्रियामा सहभागी हुने व्यक्तिलाई भुक्तानीसँग सम्बन्धित सबै प्रमाण तथा अनलाइन कारोबार विवरण सुरक्षित राख्न पनि विभागले भनेको छ ।
