कतारलाई पछि पार्दै सिंगापुर एयरलाइन्स विश्वकै उत्कृष्ट, टप–२० मा कुन–कुन परे?
एजेन्सी । विश्वकै उत्कृष्ट एयरलाइन्सको सूचीमा सिंगापुर एयरलाइन्सले फेरि पहिलो स्थान हासिल गरेको छ। स्काईट्र्याक्स वर्ल्ड एयरलाइन अवार्ड्स २०२६ मा सिंगापुर एयरलाइन्सलाई वर्षकै उत्कृष्ट एयरलाइन्स घोषणा गरिएको हो।
लन्डनस्थित ल्यांघम होटलमा आयोजित समारोहमा सिंगापुर एयरलाइन्सले प्रतिष्ठित अवार्ड प्राप्त गरेको हो। स्काईट्र्याक्सको २५ वर्षे इतिहासमा सिंगापुर एयरलाइन्सले यो मुख्य उपाधि छैटौंपटक जितेको हो।
गत वर्ष शीर्ष स्थानमा रहेको कतार एयरवेज यसपटक दोस्रो स्थानमा झरेको छ। कतारले पछिल्लो १५ वर्षमा नौपटक विश्वकै उत्कृष्ट एयरलाइन्सको उपाधि जितिसकेको छ।
तेस्रो स्थानमा क्याथे प्यासिफिक एयरवेज परेको छ। जापानको अल निप्पन एयरवेज (एएनए) चौथो, टर्किस एयरलाइन्स पाँचौं र इमिरेट्स छैटौं स्थानमा छन्।
स्काईट्र्याक्सका अनुसार विश्वकै उत्कृष्ट एयरलाइन्सको उपाधि पछिल्ला वर्षहरूमा सीमित केही प्रमुख कम्पनीबीच नै घुमिरहेको छ। यसपटक पनि तीमध्ये अधिकांश एयरलाइन्स शीर्ष २० मा समेटिएका छन्।
सिंगापुर एयरलाइन्सले समग्र उपाधिसँगै इकोनोमी क्लास र इकोनोमी क्लास खानातर्फ पनि पुरस्कार जितेको छ। यी अवार्डहरू बेलायतस्थित उड्डयन परामर्शदाता कम्पनी स्काईट्र्याक्सले गरेको विश्वव्यापी ग्राहक सन्तुष्टि सर्वेक्षणका आधारमा प्रदान गरिएको हो।
कतार एयरवेजले पश्चिम एसियाको उत्कृष्ट एयरलाइन्सको उपाधिसहित उत्कृष्ट बिजनेस क्लास, अनबोर्ड वाईफाई र बिजनेस क्लास लाउन्जका पुरस्कार पनि हात पारेको छ। क्याथे प्यासिफिकले उत्कृष्ट क्याबिन क्रू र फर्स्ट क्लास लाउन्जको पुरस्कार जितेको छ।
यस वर्षको शीर्ष २० मा ब्रिटिश एयरवेज अटाउन सकेन। अमेरिकी एयरलाइन्सहरू पनि शीर्ष सूचीबाट बाहिरिएका छन्। उत्तर अमेरिकाबाट भने एयर क्यानडा १७औँ स्थानमा पर्दै एक मात्र प्रतिनिधि बनेको छ।
उड्डयन क्षेत्र विभिन्न चुनौतीबाट गुज्रिरहेका बेला यस वर्षको अवार्ड घोषणा भएको हो। इरानसँगको द्वन्द्व, युक्रेन युद्ध, बढ्दो तेल मूल्य, नयाँ विमान आपूर्तिमा भइरहेको ढिलाइ तथा अन्तर्राष्ट्रिय सम्बन्धमा देखिएको तनावले उद्योगलाई प्रभावित गरिरहेको विषय समारोहमा समेत चर्चामा रह्यो।
ताइवानी एयरलाइन्स स्टारलक्सले पनि उल्लेखनीय सफलता हासिल गरेको छ। कम्पनीले स्काईट्र्याक्सको पाँचतारे मूल्याङ्कन प्राप्त गर्नुका साथै उत्कृष्ट सफा क्याबिनको पुरस्कार जितेको छ।
एयर फ्रान्स उत्कृष्ट फर्स्ट क्लासतर्फ विजेता बनेको छ भने ईभीए एयरले उत्कृष्ट प्रिमियम इकोनोमीको पुरस्कार पाएको छ। बजेट एयरलाइन्सतर्फ एयरएसिया, स्कूट, भुइलिङ, युरोविङ्स र इबेरिया एक्सप्रेस शीर्ष पाँचमा छन्।
क्षेत्रीयतर्फ बैंकक एयरवेज एसियाको उत्कृष्ट एयरलाइन्स र विश्वकै उत्कृष्ट क्षेत्रीय एयरलाइन्स घोषित भएको छ। इथियोपियन एयरलाइन्स अफ्रिकामा, LATAM दक्षिण अमेरिकामा र टर्किस एयरलाइन्स युरोपमा उत्कृष्ट बनेका छन्। उत्तर अमेरिकामा एयर क्यानडाले शीर्ष स्थान हासिल गरेको छ।
स्काईट्र्याक्स अवार्ड विश्वभरका यात्रुको सन्तुष्टि सर्वेक्षणमा आधारित हुने भएकाले एयरलाइन्सहरूका लागि यसको व्यावसायिक महत्त्व रहेको उद्योगका अधिकारीहरूको भनाइ छ। विशेषगरी प्रिमियम यात्रु आकर्षित गर्न एयरलाइन्सहरूबीच प्रतिस्पर्धा बढिरहेका बेला सेवा, सुविधा र यात्रु अनुभवमा लगानी बढिरहेको छ।
स्काईट्र्याक्स २०२६ का विश्वका उत्कृष्ट २० एयरलाइन्स
१. सिंगापुर एयरलाइन्स
२. कतार एयरवेज
३. क्याथे प्यासिफिक एयरवेज
४. अल निप्पन एयरवेज (एएनए)
५. टर्किस एयरलाइन्स
६. इमिरेट्स
७. एयर फ्रान्स
८. हेनान एयरलाइन्स
९. जापान एयरलाइन्स
१०. कोरियन एयर
११. ईभीए एयर
१२. क्वान्टास एयरवेज
१३. स्टारलक्स एयरलाइन्स
१४. लुफ्थान्सा
१५. साउदी अरेबियन एयरलाइन्स
१६. इबेरिया
१७. एयर क्यानडा
१८. भर्जिन एट्लान्टिक
१९. स्विस इन्टरनेसनल एयर लाइन्स
२०. थाई एयरवेज
