थोरङपासमा हिमपात, भारतीय पदयात्रीलाई राति उद्धार
टुरिजमफेस
मुस्ताङ । मुस्ताङको चर्चित पदमार्ग क्षेत्रमा हिमपातका कारण अलपत्र परेका दुई भारतीय पर्यटकलाई नेपाली सेना र प्रहरीले संयुक्त रूपमा सुरक्षित उद्धार गरेका छन्।
थोरङपास हुँदै मुस्ताङतर्फ झर्दै गरेका भारतको केरला निवासी २९ वर्षीय फानिक टोनी र ३० वर्षीय मित्र बिन्दु अचानक परेको हिमपातपछि बाटो पहिल्याउन नसकी चिसापानी क्षेत्रमा रोकिएका थिए।
मुक्तिनाथ आसपासको उच्च हिमाली क्षेत्रमा मौसम एक्कासि बद्लिएपछि बाक्लो हिमपात भएको थियो। प्रतिकूल मौसमका कारण पदमार्ग ढाकिँदा उनीहरू अलपत्र परेको जानकारी जिल्ला प्रहरी कार्यालय मुस्ताङमा पुगेपछि उद्धार अभियान सुरु गरिएको थियो।
नेपाली सेनाको इन्द्रबक्स गण र प्रहरीको टोली हिमपातकै बीच खोजीमा खटिएको थियो। संयुक्त टोलीले थोरङपासको तल्लो क्षेत्र ड्रम क्याम्प नजिक साँझ करिब ८ बजे दुवै पर्यटकलाई फेला पारेर सुरक्षित स्थानमा ल्याएको जनाएको छ।
अन्नपूर्ण क्षेत्रको पदयात्रामा मौसम छिट्टै परिवर्तन हुने भएकाले पर्यटकलाई मौसम पूर्वजानकारी लिएर मात्रै यात्रा गर्न स्थानीय प्रशासनले आग्रह गरेको छ। विशेषगरी अन्नपूर्ण सर्किट पदमार्ग मा वैशाख–जेठ महिनामै उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने भएकाले सुरक्षा सतर्कता बढाउन सुझाव दिइएको छ।
