हिमाल चढ्न ७९ देशका ११ सयभन्दा बढी आरोही नेपालमा, सगरमाथामै ५ अर्ब खर्च हुने अनुमान
काठमाडौं । वसन्तकालीन आरोहण सिजनसँगै नेपालका हिमालहरू यतिबेला विदेशी पर्वतारोहीले भरिभराउ बनेका छन् । पर्यटन विभागका अनुसार सन् २०२६ को मार्चदेखि मे १५ सम्म ७९ देशका १ हजार १ सय ८१ जना आरोहीले विभिन्न हिमाल आरोहणका लागि अनुमति लिएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार यस अवधिमा नेपालका विभिन्न हिमालमा आरोहण गतिविधि उल्लेखनीय रूपमा बढेको छ । विशेषगरी विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि विदेशी पर्यटकको आकर्षण अझै उच्च रहेको देखिएको छ ।
विभागका अनुसार अनुमति लिने आरोहीमध्ये सबैभन्दा धेरै अमेरिकी नागरिक रहेका छन् । अमेरिकाबाट १५० जनाले हिमाल आरोहण अनुमति लिएका छन्, जसमध्ये १२५ पुरुष र २५ महिला छन् । दोस्रो स्थानमा चीन रहेको छ । चीनबाट आएका १५६ आरोहीमध्ये ११६ पुरुष र ४० महिला रहेका छन् ।
यस वर्ष नेपालमा कम्तीमा ७९ देशका नागरिक हिमाल आरोहणका लागि आएका छन् । कतिपय देशबाट एक–दुई जना मात्र आरोहणका लागि आएको विभागको तथ्यांकले देखाएको छ ।
पर्यटन व्यवसायीहरूका अनुसार पर्वतारोहण नेपालका लागि उच्च आम्दानी दिने पर्यटन क्षेत्रमध्ये एक हो । विशेषगरी अमेरिका र युरोपबाट आउने पर्यटकलाई खर्चालु पर्यटकका रूपमा लिने गरिन्छ । सामान्य घुमफिर गर्ने पर्यटकको तुलनामा पर्वतारोहीले धेरै रकम खर्च गर्ने भएकाले यसले अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्ने व्यवसायीहरूको भनाइ छ ।
सगरमाथा आरोहणका लागि मात्र यस वर्ष ५५ देशका ४९४ जनाले अनुमति लिएका छन् । तीमध्ये सबैभन्दा धेरै अमेरिकी नागरिक छन् । विभागका अनुसार ७७ अमेरिकी नागरिकले सगरमाथा आरोहणका लागि अनुमति लिएका हुन् ।
नेपाल सरकारले सगरमाथा आरोहणका लागि प्रतिव्यक्ति १५ हजार अमेरिकी डलर शुल्क लिन्छ । यो रकम केवल सरकारी रोयल्टी मात्रै हो । त्यसबाहेक आरोहीले गाइड, उपकरण, अक्सिजन, खाना, यातायात, बेसक्याम्प व्यवस्थापन, बीमा तथा अन्य तयारीमा ठूलो रकम खर्च गर्ने गर्छन् ।
पर्यटन विभागका अनुसार मे १५ सम्ममा आरोहण अनुमतिबाट मात्रै १ अर्ब २५ करोड ८४ लाख ६० हजार रुपैयाँ बराबर रोयल्टी संकलन भएको छ । अमेरिकी डलरमा यो रकम करिब ८४ लाख २९ हजार ६ सय २६ बराबर रहेको विभागले जनाएको छ ।
संकलित रोयल्टीमध्ये सबैभन्दा ठूलो हिस्सा सगरमाथाबाट आएको छ । विभागका अनुसार सगरमाथा आरोहण अनुमतिबाट मात्रै १ अर्ब ७ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ । अन्य हिमालको तुलनामा सगरमाथाको शुल्क महँगो हुनु र आकर्षण उच्च रहनु यसको मुख्य कारण मानिएको छ ।
पर्वतारोहण क्षेत्रमा आबद्ध व्यवसायीहरूका अनुसार सगरमाथा आरोहण एउटा महँगो साहसिक अभियान हो । एउटा विदेशी आरोहीले औसतमा ४५ हजारदेखि ५० हजार अमेरिकी डलरसम्म खर्च गर्ने अनुमान गरिएको छ ।
पर्वतारोहणविद् आङछिरिङ शेर्पाका अनुसार एउटा आरोहीले सरकारलाई तिर्नुपर्ने रोयल्टीबाहेक शेर्पा गाइड, अक्सिजन सिलिन्डर, उपकरण, खाना, लजिस्टिक्स र तयारीमा थप ठूलो रकम खर्च गर्नुपर्ने हुन्छ ।
“सगरमाथा आरोहण सामान्य पर्यटन गतिविधि होइन,” उनले भने, “एउटा आरोहीले आफ्नो सम्पूर्ण अभियानमा ५० हजार डलरसम्म खर्च गर्नु अहिले सामान्यजस्तै भएको छ ।”
उनका अनुसार सगरमाथा आरोहणका लागि अनुमति लिएका करिब ५ सय आरोहीले मात्रै समग्रमा ५ अर्ब रुपैयाँभन्दा बढी खर्च गर्ने अनुमान गरिएको छ । यसले नेपालका होटल, ट्रेकिङ एजेन्सी, एयरलाइन्स, गाइड, भरिया तथा स्थानीय व्यवसायलाई प्रत्यक्ष लाभ पुग्ने उनले बताए ।
विज्ञहरूका अनुसार पर्वतारोहण पर्यटनले हिमाली जिल्लाहरूको अर्थतन्त्र चलायमान बनाउन ठूलो भूमिका खेलिरहेको छ । आरोहीहरू हिमाली क्षेत्रमा लामो समय बस्ने भएकाले स्थानीय होटल, खाद्यान्न, यातायात, संचार तथा श्रम बजारमा यसको सकारात्मक प्रभाव देखिने गरेको छ ।
यस वर्ष विश्वका विभिन्न क्षेत्रमा जारी भू–राजनीतिक तनावका बीच पनि नेपालको पर्वतारोहण क्षेत्रमा भने उत्साहजनक गतिविधि देखिएको व्यवसायीहरू बताउँछन् । विशेषगरी पश्चिम एसियामा देखिएको तनावका कारण केही अन्तर्राष्ट्रिय पर्यटकले वैकल्पिक गन्तव्य रोज्दा नेपालको पर्वतारोहण क्षेत्र लाभान्वित भएको विश्लेषण गरिएको छ ।
आङछिरिङ शेर्पाका अनुसार मध्यपूर्व हुँदै आउने अन्तर्राष्ट्रिय उडान प्रभावित भएपछि कतिपय पर्यटकले आफ्नो यात्रा तालिका परिवर्तन गरेका थिए । “अन्य पर्यटन क्षेत्रमा केही सुस्ती देखिए पनि पर्वतारोहणमा भने अपेक्षाकृत राम्रो गतिविधि देखिएको छ,” उनले भने ।
नेपालमा विश्वका १४ मध्ये ८ अग्ला हिमाल रहेका छन् । सगरमाथासहित अन्नपूर्ण, मनास्लु, मकालु, धौलागिरि र ल्होत्सेजस्ता हिमालले विश्वभरका साहसिक पर्यटकलाई आकर्षित गर्दै आएका छन् ।
सरकारले पर्वतारोहणलाई विदेशी मुद्रा आर्जनको महत्वपूर्ण आधारका रूपमा लिँदै आएको छ । पर्यटन क्षेत्रको पुनरुत्थानका लागि हिमाली पर्यटनलाई थप व्यवस्थित, सुरक्षित र दिगो बनाउने रणनीतिमा सरकार अघि बढिरहेको पर्यटन विभागले जनाएको छ ।
पर्यटन व्यवसायीहरूका अनुसार नेपालमा पर्वतारोहणको आकर्षण अझ बढाउन सुरक्षित आरोहण, वातावरण संरक्षण, फोहोर व्यवस्थापन तथा पूर्वाधार विकासमा थप लगानी आवश्यक छ । उनीहरूका अनुसार हिमाल नेपालको अन्तर्राष्ट्रिय पहिचान भएकाले यसको संरक्षण र व्यवस्थापनलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता अझ बढ्दै गएको छ ।
