पर्यटन, पूर्वाधार र आर्थिक सुधारमा केन्द्रित हुँदै आगामी बजेटका मार्गदर्शक सिद्धान्त
टुरिजमफेस
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका मार्गदर्शक सिद्धान्त सार्वजनिक गर्दै पर्यटन, आर्थिक पुनर्संरचना, डिजिटल पूर्वाधार र सुशासनलाई प्राथमिकतामा राखिएको बताएका छन्।
संघीय संसद्का दुवै सदनमा प्रस्तुत विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकतामा सरकारले पर्यटनलाई नेपालको ‘सफ्ट पावर’ र आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा अघि बढाउने संकेत गरेको छ।
सरकारले लोकतान्त्रिक मूल्य, सुशासन र परिणाममुखी शासन प्रणालीलाई आधार बनाएर बजेट निर्माण गरिरहेको उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले रोजगारी सिर्जना, गुणस्तरीय सेवा र आर्थिक गतिशीलतालाई केन्द्रमा राखिएको बताए।
आगामी बजेट पाँच मुख्य सिद्धान्तमा आधारित रहने जनाइएको छ। तीमध्ये सुशासनको लाभांश, अर्थतन्त्रको पुनर्संरचना, एकीकृत पूर्वाधार विकास, सामाजिक उन्नयन तथा मध्यम वर्ग विस्तार र सौम्य शक्तिको सुदृढीकरण रहेका छन्।
सरकारले विशेषगरी पर्यटन, सेवा निर्यात, डिजिटल अर्थतन्त्र र स्वच्छ ऊर्जालाई आर्थिक वृद्धिको प्रमुख संवाहक बनाउने नीति लिएको छ। अन्तर्राष्ट्रियस्तरको हवाई सेवा, दूरसञ्चार र लजिस्टिक्स पूर्वाधार सुधारमार्फत नेपाललाई पर्यटन तथा लगानीका लागि थप आकर्षक बनाउने लक्ष्य पनि बजेटले अघि सारेको छ।
अर्थमन्त्रीका अनुसार आगामी बजेटले सडक, हवाई, ऊर्जा र डिजिटल पूर्वाधारलाई एकीकृत रूपमा विकास गर्नेछ। यसले पर्यटकीय गन्तव्यहरूलाई सहज पहुँचसँग जोड्ने र आर्थिक गतिविधि विस्तार गर्ने अपेक्षा गरिएको छ।
सरकारले डिजिटल सार्वजनिक पूर्वाधार विस्तार गर्दै सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने, प्रशासनिक झन्झट घटाउने र लगानी वातावरण सुधार गर्ने रणनीति लिएको छ।
साथै, पर्यटन, सांस्कृतिक पहिचान र आर्थिक कूटनीतिलाई एकसाथ प्रयोग गर्दै नेपालको अन्तर्राष्ट्रिय छवि र प्रभाव बढाउने नीति पनि बजेटका प्राथमिकतामा समेटिएको छ।
विदेशमा रहेका नेपालीको सीप, पुँजी र सञ्जाललाई राष्ट्रिय विकाससँग जोड्ने तथा पर्यटन र लगानी प्रवर्द्धनमार्फत आर्थिक लाभ विस्तार गर्ने सरकारको तयारी रहेको अर्थमन्त्री वाग्लेले बताएका छन्।
