हरियालीले चम्किँदै नेपाल : वन सम्पदाले पर्यटनमा नयाँ सम्भावना
काठमाडौं । दक्षिण एसियामा वन क्षेत्रको हिसाबले नेपाल दोस्रो स्थानमा उक्लिएको तथ्य सार्वजनिक भएपछि नेपालको पर्यटन क्षेत्रमा नयाँ उत्साह थपिएको छ । प्राकृतिक सौन्दर्य, जैविक विविधता र हरियालीले भरिएको नेपाल अब केवल हिमाल र संस्कृति मात्र होइन, वन पर्यटनको आकर्षक गन्तव्यका रूपमा पनि स्थापित हुँदै गएको छ ।
आर्थिक वर्ष २०८२/०८३ को आर्थिक सर्वेक्षणअनुसार दक्षिण एसियाका आठ मुलुकमध्ये सबैभन्दा बढी वन क्षेत्र भुटानमा रहेको छ भने नेपाल दोस्रो स्थानमा पुगेको हो । नेपालमा कुल भू–भागको ४६ दशमलव ०८ प्रतिशत क्षेत्र वनले ढाकिएको छ । यो तथ्यांकले नेपाललाई वातावरणीय सन्तुलन कायम गर्ने मात्र होइन, दिगो पर्यटन विकासका लागि समेत बलियो आधार तयार गरेको विश्लेषण गरिएको छ ।
नेपालको वन क्षेत्र निरन्तर विस्तार हुँदै जानु पर्यटन व्यवसायका लागि सकारात्मक संकेत मानिएको छ । विशेषगरी जंगल सफारी, पदयात्रा, वन्यजन्तु अवलोकन, बर्ड वाचिङ, इको–टुरिजम र एड्भेन्चर पर्यटनमा नेपालले अन्तर्राष्ट्रिय स्तरमा नयाँ पहिचान बनाउने सम्भावना बढेको पर्यटन व्यवसायीहरूको भनाइ छ ।
वन तथा वातावरण क्षेत्रका जानकारहरूका अनुसार हरियालीले ढाकिएका पहाडी भूभाग, संरक्षित क्षेत्र र सामुदायिक वनहरूले विदेशी पर्यटकलाई आकर्षित गर्ने मुख्य आधार तयार गरिरहेका छन् । चितवन, बर्दिया, शुक्लाफाँटा, कोशीटप्पु, लाङटाङ, मकालु–बरुण, अन्नपूर्ण संरक्षण क्षेत्रजस्ता गन्तव्यहरूमा प्रकृतिसँग नजिक भएर घुम्न चाहने पर्यटकको संख्या पछिल्ला वर्षमा उल्लेख्य रूपमा बढिरहेको छ ।
आर्थिक सर्वेक्षणमा उल्लेख भएअनुसार सन् १९९० मा नेपालको वन क्षेत्र ३९ दशमलव ६ प्रतिशत रहेको थियो । यो २०१५ मा ४४ दशमलव ७४ प्रतिशत र २०१९ मा ४५ दशमलव ३१ प्रतिशत पुगेको थियो । सन् २०२४ सम्म आइपुग्दा वन क्षेत्र ४६ दशमलव ०८ प्रतिशत पुगेको छ । यसमध्ये ४३ दशमलव ३८ प्रतिशत भाग वन क्षेत्र र २ दशमलव ७ प्रतिशत झाडी तथा बुट्यान क्षेत्र रहेको छ ।
वन क्षेत्र विस्तारसँगै ग्रामीण पर्यटन प्रवर्द्धनमा पनि सकारात्मक प्रभाव परेको छ । सामुदायिक वनको संरक्षणसँगै गाउँ–गाउँमा होमस्टे, पदमार्ग र पर्यावरणमैत्री पर्यटन गतिविधि विस्तार हुन थालेका छन् । यसले स्थानीय रोजगारी सिर्जना गर्नुका साथै गाउँको आर्थिक गतिविधिमा समेत टेवा पुर्याएको छ ।
नेपालको कुल भू–भागमध्ये ३४ हजार ४२० वर्ग किलोमिटर क्षेत्र संरक्षित क्षेत्रअन्तर्गत पर्दछ । यो कुल भू–भागको २३ दशमलव ४ प्रतिशत हो । यस्ता संरक्षित क्षेत्रहरू वन्यजन्तु संरक्षण र जैविक विविधताको केन्द्र मात्र नभई पर्यटन आकर्षणका मुख्य आधारका रूपमा विकसित भइरहेका छन् ।
विशेषगरी बाघ, गैँडा, हात्ती, हिमचितुवा, रेडपाण्डा, कस्तुरी मृगलगायत दुर्लभ वन्यजन्तु अवलोकन गर्न आउने विदेशी पर्यटकको संख्या बढ्दै गएको छ । नेपालमा पाइने सयौं प्रजातिका चराचुरुङ्गीले बर्ड वाचिङ पर्यटनलाई समेत विस्तार गरेको छ ।
वन क्षेत्र संरक्षणमा सामुदायिक वन उपभोक्ता समूहहरूको भूमिका पनि उल्लेखनीय देखिएको छ । हालसम्म २३ हजार १६२ सामुदायिक वन उपभोक्ता समूहमार्फत २५ लाखभन्दा बढी हेक्टर वन क्षेत्र व्यवस्थापन भइरहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ । यसले वन संरक्षणमा स्थानीय समुदायको सहभागिता बलियो बनेको देखाउँछ ।
त्यस्तै, मध्यवर्ती तथा संरक्षित क्षेत्रमा ८९९ सामुदायिक वन समूह गठन भइसकेका छन् । यी समूहहरूले संरक्षणसँगै पर्यटन गतिविधि विस्तार गर्न थालेपछि स्थानीय समुदायको आयआर्जनमा समेत सुधार आएको छ ।
पर्यटन विज्ञहरूका अनुसार जलवायु परिवर्तन र वातावरणीय संकट बढिरहेका बेला हरियाली जोगाउन सफल मुलुकप्रति विश्व समुदायको चासो बढ्दो छ । नेपालले वन संरक्षणलाई दिगो पर्यटनसँग जोड्न सके अन्तर्राष्ट्रिय बजारमा आफ्नो छुट्टै ब्रान्ड स्थापित गर्न सक्ने सम्भावना रहेको उनीहरूको भनाइ छ ।
वन क्षेत्रको विस्तारले वातावरणीय सन्तुलन कायम गर्नुका साथै कार्बन उत्सर्जन नियन्त्रण, जलस्रोत संरक्षण र प्राकृतिक विपद् न्यूनीकरणमा समेत योगदान पुर्याइरहेको छ । यही कारण नेपाललाई ‘हरित पर्यटन गन्तव्य’का रूपमा प्रवर्द्धन गर्न सकिने आधार बलियो बन्दै गएको छ ।
सरकारले वन संरक्षणसँगै प्रकृतिमा आधारित पर्यटन पूर्वाधार विस्तार, पदमार्ग व्यवस्थापन, जंगल सफारी प्रवर्द्धन र स्थानीय समुदायको क्षमता विकासमा ध्यान दिन सके नेपालको पर्यटन उद्योगले नयाँ उचाइ हासिल गर्ने अपेक्षा गरिएको छ ।
