दृश्यावलोकन र हाइकिङका कारण रोजाइमा मनकामना क्षेत्र
Manakamana-Cable-Car-
टुरिजमफेस
बागमती । हेटौँडाको व्यस्त बजारबाट करिब पाँच÷छ किलोमिटर उत्तरपूर्वमा अवस्थित मनकामना मन्दिर र आसपासको रमणीय परिवेशले यहाँ आउने जो–कोहीलाई लोभ्याउने गरेको छ । हेटौँडाको गर्मी छल्दै छोटो दूरीमा चिसो हावा खाँदै एकसाथ हेटौँडा बजारको दृश्यावलोकनसँगै मनकामना देविको दर्शनका लागि यहाँ मानिसहरूको भीड लाग्ने गरेको छ ।
धार्मिक महत्त्वको मनकामना मन्दिर, जाने मार्गको मुख्य चोकमा बनाइएको ठेकी पार्क, केहीपर रहेको मकवानपुरगढी, यहाँबाट देखिने हेटौैँडा बजारको रमणीय दृश्य आदिका कारण पनि यस क्षेत्रकै महिमा र गरिमा बढाएको छ ।
मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–४ मा पर्ने मनकामना मन्दिर र आसपासको क्षेत्र आफैँमा सुन्दर हरियालीयुक्त डाँडामा रहेको र यहाँबाट एकसाथ देखिने हेटौँडा बजार र आसपासका पहाडी भू–दृश्यले स्वदेशी एवं विदेशी पर्यटकलाई लोभ्याउने गरेको स्थानीयवासी एवं भूपू सैनिक ‘हाइजेनिक’ हाइटका सञ्चालक पदमनाथ सापकोटाले बताए।
“हेटौँडाबाट बिहान र बेलुकाको समयमा यहाँ ‘हाइकिङ’ गर्दै आउनेहरूको सङ्ख्या पनि दिनानुदिन बढिरहेको छ”, उनले भने, “यस क्षेत्रमा बढ्दो पर्यटकीय आकर्षणलाई दृष्टिगत गरी उनीहरूको सुविधालाई लक्षित गरी हामीले विगत सात वर्षयता भूपू सैनिक हाइजेनिक हाइट सञ्चालन गर्दै आएका छौँ ।” आफूहरूको भूपू सैनिक ‘हाइजेनिक हाइट’मा पर्यटकको इच्छाअनुसार खाना तथा खाजा खुवाउने गरिएको उनले जानकारी दिए।
पछिल्ला समयमा यस क्षेत्रमा पर्यटकलाई लक्षित गरी होटेल तथा रेष्टुरेन्ट थप्नेक्रम बढिरहेको छ । विशेषगरी बिदाको समयमा ठूलै सङ्ख्यामा आन्तरिक पर्यटक यस क्षेत्रमा आउने गरेका छन् ।
अर्का स्थानीयवासी गोपीकृष्ण सापकोटाका अनुसार यहाँस्थित मनकामना मन्दिरमा गोरखाको मनकामना मन्दिरमा जस्तै श्रद्धा भक्तिपूर्वका पूजाआजा गर्ने गरिन्छ । गोरखा मनकामनाको बहिनीका रूपमा लिइने यस मन्दिरको स्वरूप गोरखाकै मनकामना मन्दिरसँग मिल्दो रहेको उनले जानकारी दिए ।
यो मन्दिर २०१६ मा स्थापना गरेको पाइन्छ । सुरुमा काठको मन्दिर रहेकामा २०३७÷३८ सालतिर यहाँका गाउँलेले नजिकैको मकानचुली गएर इँटा बोकर ल्याई निर्माण गरिएको उनले जानकारी दिए । मनले चिताएको पुग्ने विश्वासका साथ हेटौँडा र आसपासका क्षेत्रबाट यहाँ दर्शनार्थी आउने गरेको उनले जानकारी दिए ।
यो क्षेत्र ऐतिहासिक मकवानपुरगढी (जुन सेन राजाहरूको दरबार र ऐतिहासिक किल्ला हो) सँगै जोडिएको हुनाले यसको ऐतिहासिक महत्त्व रहेको छ । सेनकालीन समयदेखि नै मनकामना मन्दिरलाई महत्त्वपूर्ण शक्तिपीठको रूपमा पूजाआजा गरिँदै आइएको छ ।
सहरको कोलाहल एवं व्यस्त जीवनका बीच थोरै समय मिलाएर शारीरिक र मानसिक शान्तिका लागि आउन सकिने शान्त र शीतल गन्तव्यका रूपमा यसले पहिचान बढाएको छ । पछिल्ला समयमा वनभोजसँगै छोटो दूरीको पदयात्रा हाइकिङका लागि पर्यटक यस स्थानमा आउने गरेको सापकोटाले जानकारी दिए । पर्यटको बढ्दो आगमनसँगै विभिन्न होटेल तथा अन्य पूर्वाधार विकासका काम पनि तीव्र रूपमा बढ्दै गएको उनले बताए ।
मनकामना मन्दिरको दर्शन गर्न आउने पर्यटक यहाँबाट केही पर रहेको ऐतिहासिक मकवानपुरगढीको भग्नावशेष, पुरानो दरबार क्षेत्र र गढीको अवलोकन गर्न जाने गरेका छन् । यस क्षेत्रमा हेटौँडा बजारको बुद्धचोकबाट मोटरसाइकल, गाडी वा अन्य स्थानीय यातायातका साधन प्रयोग गरेर सजिलै आउन सकिन्छ ।
हेटौँडाको मुख्य बजार क्षेत्रबाट एक घण्टाको पैदल यात्रामा नै पुगिने भएका कारण पनि छोटो दूरीको पदयात्रा गर्न चाहनेका लागि पनि यो गन्तव्य रोजाइमा पर्ने गरेको छ ।
यसअघि २०७६ सालमा मकवानपुर जिल्लाका ३० वटा पर्यटकीय गन्तव्य पहिचान गरिएको थियो । जिल्लाका १० वटा पालिकाका तीन÷तीन वटा पर्यटकीयस्थल पहिचान गरी पर्यटकीय गन्तव्य निर्धारण गरिएकामा मकवानपुरगढी गाउँपालिकाका ऐतिहासिक महत्त्व बोकेका मकवानपुरगढी दरबार क्षेत्र, मनकामना मन्दिर र सहिद रुद्रबाटिका पार्कलाई पर्यटकीय गन्तव्यका समेटिएको थियो ।
Manakamana-Cable-Car-
