मोफसलमा फुटबल आकर्षण बढ्दो, क्लबहरू आन्तरिक स्रोत र दाताहरूको भरमा
टुरिजमफेस
मोरङ । संसारभर अहिले वल्र्डकपको माहोल चलिरहँदा नेपाली फुटबलको मेरुदण्डका रूपमा रहेका मोफसलका फुटबल क्लबहरू यतिबेला आन्तरिक स्रोत र दाताहरूको भरमा छन् ।
यसैबीच, मोरङको बेलबारीमा रहेको बेलबारी फुटबल क्लबले सीमित स्रोतसाधनका बाबजुद पनि राष्ट्रिय तथा ‘ए डिभिजन’ स्तरका खेलाडी उत्पादन र प्रतिष्ठित उपाधिहरू जित्दै मोफसलको फुटबलमा आफ्नो बलियो उपस्थिति जनाएको छ ।
विसं २०७१ अघि नमूना फुटबल क्लबका रूपमा परिचित यो क्लब स्थापनाकालदेखि स्थानीय फुटबलको विकासमा निरन्तर सक्रिय रहँदै आएको छ । हाल जिल्ला ए डिभिजन क्लबका रूपमा रहेको यस क्लबको नेतृत्व अध्यक्ष रसिन लामा र उपाध्यक्ष शङ्कर सुवेदीले गरिरहेका छन् ।
बेलबारी फुटबल क्लबले नेपाली फुटबल जगत्लाई थुप्रै प्रतिभावान् खेलाडी उपहार दिइसकेको छ । यस क्लबबाट उत्पादित अन्जन राई र किशोर गिरीले राष्ट्रिय टोलीसम्मको यात्रा तय गर्न सफल भएका थिए । तर, नेपाली फुटबलमा भविष्य सुरक्षित नदेखेपछि उनीहरू दुवै जना हाल रोजगारीको सिलसिलामा अष्ट्रेलिया पुगेका छन् ।
त्यस्तै, क्लबबाट उत्पादन भएका विक्रम धिमाल, सलबहादुर धिमाल, पूर्ण चेम्जोङ, विवेक पौडेल र मौसम सुब्बा जस्ता खेलाडीहरूले देशका प्रतिष्ठित ए डिभिजन क्लबबाट व्यावसायिक फुटबल खेलिसकेका छन् । खेलाडीहरू विदेश पलायन भइरहेको अवस्थामा पनि क्लबले नयाँ पुस्ता तयार पार्न छोडेको छैन ।
हाल क्लबले दुई समूहमा नियमित प्रशिक्षण दिइरहेको छ । क्लबका प्रशिक्षक राजकुमार राईले भने, “अहिले क्लबमा १३ वर्षमुनिका (अन्डर १३) २० जनाभन्दा बढी बालबालिकालाई विशेष प्रशिक्षण दिइरहेका छौँ । त्यसका साथै २५ वर्षमुनिका करिब २० जना खेलाडी पनि नियमित प्रशिक्षणमा आउने गरेका छन् ।”
बर्खाको समयमा समेत पानी नजम्ने उत्कृष्ट खेलमैदान भएका कारण बेलबारीमा प्रशिक्षण गर्न छिमेकी पालिकाबाट खेलाडीहरू आउने गरेको प्रशिक्षक राईले जानकारी दिए। एउटा स्थापित क्लब चलाउन र खेलाडी उत्पादन गर्न आर्थिक अभाव मुख्य चुनौती बन्ने गरेको उनको भनाइ छ ।
क्लबले स्थानीय स्तरमा फुटबल प्रतियोगिता गराएर बचाएको केही रकम र सहयोगी दाताहरूको चन्दाकै भरमा प्रशिक्षणलाई निरन्तरता दिइरहेको क्लबका उपाध्यक्ष शङ्कर सुवेदीले बताए । उनका अनुसार खेलका क्रममा खेलाडी घाइते हुँदा उपचारका लागि स्थानीय सरकार (बेलबारी नगरपालिका) र नेपाल फुटबल खेलाडी सङ्घले आर्थिक सहयोग गर्दै आएका छन् । क्लबले हालसम्म सफलतापूर्वक छ वटा प्रतिष्ठित गोल्डकप प्रतियोगिता सम्पन्न गरिसकेको उनले जानकारी दिए ।
त्यस्तै, मैदानमा पनि क्लबको प्रदर्शन निकै लोभलाग्दो छ । क्लबले हालै धनकुटामा सम्पन्न सहिद भीमनारायण गोल्डकपको उपाधि चुम्न सफल भएको थियो । यसका साथै क्लबले चार पटकसम्म जिल्ला स्तरीय ए डिभिजन क्लब च्याम्पियनको उपाधि जितिसकेको छ भने राजारानी गोल्डकप, ताप्लेजुङ गोल्डकपलगायत मोफसलका थुप्रै प्रतियोगितामा उपविजेता बन्दै बलियो चुनौती प्रस्तुत गरेको छ ।
बेलबारी नगरपालिका क्षेत्रभित्र डाँगीहाट फुटबल क्लब र एलएक्स सिटी फुटबल क्लब पनि वार्षिक रुपमा ठूला गोल्डकप गर्न सफल भएका छन् । मोरङ जिल्ला फुटबल सङ्घका अध्यक्ष सञ्जीव बुढाथोकीका अनुसार सहरमा भन्दा मोफसलमा फुटबलको आकर्षण बढ्दै गएको छ ।
“स्थानीय फुटबल क्लब र स्थानीय तहबीच प्रतियोगिताका लागि समन्वय हुँदै आएको छ, जसले गर्दा प्रतियोगिताहरु गर्न केही सजिलो बन्दै गएको”, बुढाथोकीले बताए । जिल्ला फुटबल सङ्घ आर्थिक रूपमा कमजोर भएकाले स्थानीय खेलाडीको चाहनाअनुसार पर्याप्त खेल सामग्री उपलब्ध गराउन नसकिएको उनले बताए ।
