अष्ट्रेलियामा सँगालेको सीप नेपालको आतिथ्य क्षेत्रमा
Tourism Face Banner News, NEWS 0
काठमाडौं । नेपालमा हस्पिटालिटी अर्थात् आतिथ्य उद्योग विस्तारसँगै यस क्षेत्रमा महिलाको नेतृत्व पनि क्रमशः बलियो बन्दै गएको छ। यही पृष्ठभूमिमा करिब दुई दशकको अनुभव बोकेकी क्रिस्टिना श्रेष्ठ शाक्य अहिले नेपालकै होटल व्यवस्थापन क्षेत्रमा सक्रिय र प्रभावशाली नामका रूपमा स्थापित हुँदै गएकी छन्।
काठमाडौंमा कृष्णकुमार र दिनाकुमारी श्रेष्ठका जेठी सन्तानका रूपमा जन्मिएकी क्रिस्टिनाको पुर्ख्यौली घर तनहुँ हो। उनले प्रारम्भिक शिक्षा कुलेश्वरस्थित न्यू होराइजन बोर्डिङ स्कूलबाट सुरु गरिन् भने कक्षा ८ देखि १० सम्मको अध्ययन विश्व निकेतन उच्च मावि, त्रिपुरेश्वरबाट पूरा गरिन्। त्यसपछि क्याम्ब्रिज कलेजबाट प्लस टु सकेर उनले छोटो समय मल्होत्रा इन्टरप्राइजेजमा कम्प्युटर अपरेटरको रूपमा काम गरिन्।
उच्च शिक्षाका लागि सन् २००८ मा अष्ट्रेलिया पुगेकी क्रिस्टिनाले स्टर्लिङ कलेजमा कुलिनरी आट्र्स अध्ययन सुरु गरिन्। नयाँ देश, नयाँ परिवेश र आर्थिक चुनौतीबीच उनले पढाइसँगै कामलाई पनि अघि बढाइन्। त्यही क्रममा नेपाली मूलका सुरज श्रेष्ठले सञ्चालन गरेको ‘काठमाडौं नेवाः छे’ रेस्टुरेन्टमा वेटरको रूपमा काम गर्दै उनले हस्पिटालिटी क्षेत्रको व्यवहारिक पक्ष नजिकबाट बुझ्ने अवसर पाइन्।
रेस्टुरेन्टको अनुभवसँगै उनी हाउसकिपिङ व्यवस्थापनतर्फ आकर्षित भइन्। ‘क्वेष्ट सर्भिस अपार्टमेन्ट’बाट सुरु भएको उनको पेशागत यात्रा पछि इन्टरकन्टिनेन्टल, सेराटन र स्ट्यामफोर्डजस्ता अन्तर्राष्ट्रिय स्तरका पाँचतारे होटलसम्म पुग्यो। अष्ट्रेलियामा उनले हाउसकिपिङ सुपरभाइजरदेखि कार्यकारी तहसम्म काम गर्दै व्यवस्थापन, सेवा मापदण्ड र आतिथ्य संस्कृतिमा गहिरो अनुभव सँगालिन्। यससँगै उनले वृद्धवृद्धाको हेरचाह गर्ने ‘नर्सिङ असिस्टेन्ट’को रूपमा पनि काम गरिन्।
करिब एक दशक अष्ट्रेलियामा बिताएर सन् २०१८ मा नेपाल फर्किएकी क्रिस्टिनाले आफूले विदेशमा सिकेको अनुभव स्वदेशमै उपयोग गर्ने बाटो रोजिन्। नेपाल फर्किएलगत्तै उनले द्वारिकाज होटलमा हाउसकिपिङ प्रमुखको जिम्मेवारी सम्हालिन्। त्यसपछि रुपाकोट रिसोर्ट, ठमेलस्थित मल्ल होटल र हिल्टन होटलमा समेत उनले विभिन्न जिम्मेवारी निर्वाह गरिन्। अहिले भने नगरकोटमा नेपाली लगानीमै सञ्चालनको तयारीमा रहेको ‘निगालो होटल’मा कार्यकारी सहायक प्रबन्धकको रूपमा कार्यरत छिन्।
क्रिस्टिना केवल होटल व्यवस्थापनमै सीमित छैनन्। उनी धुम्बाराहीस्थित गेट कलेजमा होटल म्यानेजमेन्ट विषयकी फ्याकल्टी सदस्यका रूपमा पनि संलग्न छिन्। नयाँ पुस्तालाई हस्पिटालिटी क्षेत्रको व्यावहारिक ज्ञान, सेवा अनुशासन र व्यवस्थापन सीप सिकाउँदै उनी शिक्षा र उद्योगबीचको पुल बन्ने प्रयासमा छिन्।
उनका अनुसार नेपालमा विदेशको अनुभव र सीपलाई अझै पनि अपेक्षित महत्व दिने संस्कार पूर्ण रूपमा विकसित भइसकेको छैन। विशेष गरी महिलाले नेतृत्व सम्हाल्दा वा राति ड्युटी गर्दा समाजको दृष्टिकोण अझै परिवर्तनको चरणमै रहेको उनको अनुभव छ। त्यसैगरी होटल क्षेत्रमा ट्रेड युनियन राजनीति र दक्ष जनशक्ति विदेशिने प्रवृत्तिले उद्योगलाई थप चुनौतीपूर्ण बनाएको उनी बताउँछिन्।
क्रिस्टिनाको भनाइमा, नेपालमा होटल म्यानेजमेन्ट पढ्ने धेरै विद्यार्थीको लक्ष्य स्वदेशी उद्योगमा योगदान गर्नु भन्दा विदेश जाने तयारीतर्फ बढी केन्द्रित देखिन्छ। यसले नेपालकै हस्पिटालिटी क्षेत्रलाई दीर्घकालीन रूपमा कमजोर बनाउन सक्ने उनको चिन्ता छ। आफू पनि वर्षौँ विदेश बसेर अन्ततः नेपाल फर्किनुको कारण यही क्षेत्रमै केही नयाँ र सकारात्मक योगदान दिने चाहना रहेको उनी बताउँछिन्।
उनले नेपालमै दक्ष जनशक्तिका लागि पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै यदि सही वातावरण, अवसर र सम्मान मिल्यो भने नेपाली युवाले यहीँ उत्कृष्ट भविष्य बनाउन सक्ने विश्वास व्यक्त गर्छिन्।
