कर्मचारी सरुवा अब पूर्ण रूपमा अनलाइन, मन्त्रालयले लागू गर्यो डिजिटल प्रणाली
Tourism Face NEWS, Political 0
नयाँ व्यवस्थाअनुसार कर्मचारीको व्यक्तिगत तथा सेवासम्बन्धी सम्पूर्ण विवरण डिजिटल प्रोफाइलमा आधारित रहनेछ। सम्बन्धित सरकारी सूचना प्रणालीसँग प्रत्यक्ष वा एपीआई (API) मार्फत आबद्ध हुने भएकाले आवश्यक विवरण स्वतः अद्यावधिक हुने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।
सरुवा आवेदनको प्रभावकारी व्यवस्थापनका लागि प्रणालीमा ‘फ्ल्यागिङ’ सुविधा पनि राखिएको छ। यसले दोहोरिएका आवेदन, विशेष निगरानी आवश्यक भएका वा थप परीक्षण गर्नुपर्ने फाइलहरूलाई स्वतः पहिचान गरी निर्णय प्रक्रियालाई सहज बनाउनेछ।
यसका साथै कर्मचारीहरूले आफ्नो सरुवा आवेदन कुन चरणमा पुगेको छ भन्ने जानकारी अनलाइन ‘प्रोसेस ट्र्याकिङ’ प्रणालीमार्फत जुनसुकै समयमा हेर्न सक्नेछन्। यसले आवेदनको अवस्थाबारे जानकारी लिन कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य हुने अपेक्षा गरिएको छ।
मन्त्रालयका अनुसार सरुवासम्बन्धी आदेश तथा पत्रहरू प्रणालीबाटै स्वचालित रूपमा तयार हुनेछन्। आवश्यक परे अन्य सरकारी निकायका सूचना प्रणालीसँग एपीआईमार्फत तथ्यांक आदान–प्रदान गर्ने सुविधा पनि उपलब्ध हुनेछ।
पारदर्शितालाई थप मजबुत बनाउन सरुवासम्बन्धी निर्णय र विवरण मन्त्रालयको वेबसाइटमा २४ घण्टाभित्र स्वतः सार्वजनिक हुने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ। नयाँ प्रणालीले सरुवा प्रक्रियालाई कागजरहित, प्रविधिमैत्री र थप उत्तरदायी बनाउने विश्वास मन्त्रालयको छ।
