आधुनिक मेसिनबाट धान रोपाइँ, किसानको समय र लागत दुवै बचत
नवलपरासी । परम्परागत रूपमा धेरै जनशक्ति परिचालन गरेर गरिने धान रोपाइँ अहिले आधुनिक कृषि प्रविधिको प्रयोगसँगै छिटो, व्यवस्थित र कम खर्चिलो बन्दै गएको छ। विशेषगरी श्रमिक अभाव, उत्पादन लागतमा भएको वृद्धि र मौसमको अनिश्चितताबीच धान रोप्ने मेसिन किसानका लागि प्रभावकारी विकल्पका रूपमा स्थापित हुन थालेको छ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु नगरपालिकामा पछिल्ला वर्षहरूमा कृषि यान्त्रीकरणले गति लिएको छ। मध्यविन्दु–१ स्थित प्रकृति कृषि सहकारी संस्थाले सञ्चालनमा ल्याएको धान रोप्ने मेसिनमार्फत केही घण्टामै ठूलो क्षेत्रफलमा रोपाइँ सम्पन्न हुन थालेपछि स्थानीय किसान आधुनिक प्रविधितर्फ आकर्षित भएका छन्।
पहिले धेरै दिन लाग्ने काम अब छोटो समयमै सम्पन्न हुन थालेको सहकारीका सचिव ओमप्रसाद पाठक बताउँछन्। उनका अनुसार मेसिनको प्रयोगले श्रमिकको आवश्यकता घटाउनुका साथै रोपाइँ समान रूपमा हुने, उत्पादन लागत कम हुने र खेतीको कार्यतालिका समयमै पूरा गर्न सहज भएको छ।
उनले कृषि क्षेत्रमा श्रमिक अभाव बढ्दै गएको अवस्थामा आधुनिक उपकरणले खेतीलाई थप प्रभावकारी बनाएको उल्लेख गर्दै कम श्रममा बढी उत्पादन सम्भव भएकाले किसानको विश्वास यान्त्रीकरणतर्फ बढिरहेको बताए।
मध्यविन्दु नगरपालिकाले कृषिलाई व्यावसायिक, प्रतिस्पर्धी र प्रविधिमैत्री बनाउन कृषि यान्त्रीकरणलाई प्राथमिकतामा राखेको जनाएको छ। नगरप्रमुख भीमलाल अधिकारीका अनुसार नगरपालिकाले धान रोप्ने मेसिन, कम्बाइन हार्भेस्टर, कृषि एम्बुलेन्सलगायत आधुनिक कृषि उपकरण ८५ प्रतिशत अनुदानमा किसानलाई उपलब्ध गराउँदै आएको छ।
उनले उत्पादन लागत घटाउने, उत्पादकत्व बढाउने र युवापुस्तालाई कृषि पेसातर्फ आकर्षित गर्ने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिइएको बताए।
जिल्लामा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत गैँडाकोट नगरपालिकाका पाँच वडामा धान जोन कार्यक्रम सञ्चालनमा रहेको छ। ती क्षेत्रमा पनि कृषक समूहले धान रोप्ने मेसिन प्रयोग गरिरहेका छन् भने यस वर्ष कम्बाइन हार्भेस्टरसमेत उपलब्ध गराइएको छ।
कृषि विकास कार्यालयका कृषि अर्थविज्ञ सञ्जय ढकालका अनुसार नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा करिब १९ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ। पछिल्लो समय धान रोप्ने मेसिनसहितका आधुनिक कृषि उपकरणप्रति किसानको चासो र माग उल्लेखनीय रूपमा बढेको उनले बताए।
उनका अनुसार कृषि क्षेत्रमा देखिएको श्रमिक अभाव, बढ्दो लागत र जलवायु परिवर्तनका चुनौतीका कारण यान्त्रीकरण अब विकल्प मात्र नभई आवश्यकता बन्दै गएको छ। आधुनिक प्रविधिको विस्तारले किसानको श्रम घटाउनुका साथै कृषि पेसाप्रतिको आकर्षण पनि क्रमशः बढ्दै गएको उनको भनाइ छ।
