तुर्के पुल–फालिदोबाटो सडकको कालोपत्र अन्तिम चरणमा, भोजपुरको ग्रामीण पर्यटनलाई नयाँ गति
Tourism Face Banner News, NEWS
भोजपुर । भोजपुरको षडानन्द नगरपालिकामा निर्माणाधीन तुर्के पुल–झ्याउपोखरी–साम्पाङ–फालिदोबाटो सडक अन्तिम चरणमा पुगेसँगै पूर्वी पहाडी क्षेत्रको ग्रामीण तथा प्रकृतिमुखी पर्यटन विस्तार हुने अपेक्षा गरिएको छ। कुल २० किलोमिटर लामो सडकमध्ये १४ किलोमिटरमा कालोपत्र सम्पन्न भइसकेको छ भने बाँकी काम पनि तीव्र गतिमा अघि बढिरहेको छ।
पूर्वाधार विकास कार्यालयका अनुसार आयोजनाको भौतिक प्रगति करिब ८३ प्रतिशत पुगेको छ। आर्थिक वर्ष २०७७ मा करिब ५१ करोड ६२ लाख रुपैयाँको लागतमा सुरु भएको परियोजनामा आधुनिक अस्फाल्ट प्रविधि प्रयोग गरी मापदण्डअनुसार सडक निर्माण भइरहेको छ। गुणस्तर सुनिश्चित गर्न नियमित प्राविधिक अनुगमनसमेत भइरहेको कार्यालयले जनाएको छ।
सडक निर्माण सम्पन्न भएपछि भोजपुरका दुर्गम बस्ती मात्र होइन, प्राकृतिक सौन्दर्य, पहाडी दृश्यावलोकन र स्थानीय संस्कृति अनुभव गर्न चाहने आन्तरिक तथा बाह्य पर्यटकलाई पनि सहज पहुँच उपलब्ध हुने अपेक्षा गरिएको छ। वर्षायाममा समेत सहज यात्रा सम्भव हुने भएपछि यस क्षेत्रका सम्भावित पर्यटकीय गन्तव्यमा आगन्तुकको संख्या बढ्ने स्थानीयको विश्वास छ।
षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्रकुमार उदासले सडकलाई समग्र विकाससँगै पर्यटन प्रवर्द्धनको आधारका रूपमा व्याख्या गरे। उनका अनुसार सहज सडक पहुँचले स्थानीय उत्पादन, कृषि, होटल तथा होमस्टे व्यवसाय, हस्तकला र सांस्कृतिक गतिविधिलाई समेत प्रत्यक्ष लाभ पुग्नेछ। पर्यटनसँग जोडिएका साना तथा मझौला व्यवसाय विस्तार हुने सम्भावनाले स्थानीय युवाका लागि रोजगारीका अवसर पनि सिर्जना गर्न सक्ने अपेक्षा गरिएको छ।
स्थानीयवासीका अनुसार वर्षौँदेखि कच्ची सडकका कारण यात्रा कठिन हुने, ढुवानी खर्च बढ्ने र पर्यटक आगमन प्रभावित हुने अवस्था अब अन्त्यतर्फ पुगेको छ। स्थानीय देवीराम चौलागाईंले सडक कालोपत्रपछि यात्रा समय घट्ने, सुरक्षित आवतजावत सम्भव हुने र बाहिरी आगन्तुकलाई गाउँसम्म पुग्न सहज हुने बताए।
पर्यटन व्यवसायीहरूका अनुसार गुणस्तरीय सडक सञ्जालले भोजपुरको पहाडी प्राकृतिक सौन्दर्य, स्थानीय संस्कृति, धार्मिक तथा ग्रामीण जीवनशैलीलाई पर्यटनसँग जोड्ने महत्वपूर्ण आधार तयार गर्नेछ। सडक पूर्ण रूपमा सञ्चालनमा आएपछि षडानन्द नगरपालिका आसपासका क्षेत्रलाई ग्रामीण पर्यटन, कृषि पर्यटन र सामुदायिक होमस्टे गन्तव्यका रूपमा विकास गर्ने अवसर थप बलियो हुने विश्वास गरिएको छ।
