तेह्रथुमको ऐतिहासिक ‘छातेढुंगा’ पर्यटकको आकर्षण बन्दै, आठराईमा पर्यटनको नयाँ सम्भावना
तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिकास्थित ऐतिहासिक छातेढुंगा पछिल्ला वर्षहरूमा आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ। सांस्कृतिक महत्व बोकेको ढुंगाको अनौठो संरचना अवलोकन गर्न विभिन्न जिल्लाबाट आगन्तुकहरू पुग्न थालेपछि यो स्थल स्थानीय पर्यटनको प्रमुख गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ।
आठराई गाउँपालिका–५ मा रहेको यो ऐतिहासिक संरचना विक्रम संवत् १९८१ साल माघ १८ गते सुकलाल कन्दङवाले निर्माण गरेका थिए। छाता आकारमा बनाइएको ढुंगाकै कारण यस स्थानको नाम ‘छातेढुंगा’ रहन गएको स्थानीय इतिहासकार तथा ज्येष्ठ नागरिक राममणि थपलियाले बताए।
उनका अनुसार कन्दङवा लिम्बु समुदायका पुर्खाले आफ्नो इतिहास र पहिचानलाई पुस्तान्तरण गर्न प्रतीकात्मक रूपमा यी ढुंगाका छाता गाडेका थिए। यही चिनारीका आधारमा विगतमा यस क्षेत्रलाई छातेढुंगा गाउँ पञ्चायत, छातेढुंगा गाविस तथा छातेढुंगा माध्यमिक विद्यालयको नामसमेत दिइएको थियो।
तेह्रथुम सदरमुकाम म्याङलुङबाट करिब ७५ किलोमिटर पूर्व तथा पाँचथरको फिदिमबाट १४ किलोमिटर पश्चिममा रहेको यस स्थलमा पुगेका पर्यटकहरूले ऐतिहासिक संरचना अवलोकनसँगै तस्बिर खिच्ने, प्राकृतिक दृश्यावलोकन गर्ने र स्थानीय संस्कृति बुझ्ने अवसर पाउने गरेका छन्।
छथर गाउँपालिका–३ पञ्चकन्याका फौदराज लिम्बुले छातेढुंगाले स्थानीय इतिहास संरक्षणको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको बताए। उनका अनुसार यस्ता सम्पदाको संरक्षणले पर्यटनसँगै नयाँ पुस्तालाई इतिहास बुझ्न पनि सहयोग पुर्याउँछ।
पहिले यहाँ तीनवटा ढुंगा गाडिएका भए पनि समयसँगै संरचना जीर्ण बनेपछि स्थानीय सरकार र विभिन्न सहयोगी संस्थाको सहकार्यमा पुनर्निर्माण गरिएको थियो। पुनर्निर्माणपछि अहिले पाँचवटा ढुंगाको समूह निर्माण गरिएको छ। तीमध्ये सबैभन्दा अग्लो ढुंगा करिब साढे सात फिट उचाइको रहेको छ भने त्यसको टुप्पोमा करिब साढे आठ फिट व्यासको छाता आकारको ढुंगा राखिएको छ। अन्य चारवटामा पनि साना आकारका ढुंगाका छाता जडान गरिएका छन्।
आठराई गाउँपालिकाका अध्यक्ष दिलकुमार पाहिमले छातेढुंगासहित क्षेत्रका अन्य ऐतिहासिक तथा प्राकृतिक सम्पदालाई समेटेर दीर्घकालीन पर्यटन विकास योजना अघि बढाइएको जानकारी दिए। उनका अनुसार झाँक्री गुफा, चमेरे ओढार, याकुम्बा गढी र बगाले पार्क जस्ता गन्तव्यको संरक्षण, पूर्वाधार विकास र प्रवर्द्धनमा गाउँपालिका सक्रिय छ।
स्थानीय तहको विश्वास छ कि ऐतिहासिक सम्पदाको संरक्षण, पहुँच मार्गको सुधार र प्रभावकारी प्रचार–प्रसार गर्न सके छातेढुंगा तेह्रथुमको मात्र होइन, पूर्वी नेपालको महत्त्वपूर्ण सांस्कृतिक तथा ग्रामीण पर्यटन गन्तव्यका रूपमा स्थापित हुन सक्नेछ।
