शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बढ्यो पर्यटकको चहलपहल, आन्तरिक पर्यटनमा नयाँ उत्साह
कञ्चनपुर । सुदूरपश्चिमको प्रमुख वन्यजन्तु तथा प्रकृतिमा आधारित पर्यटन गन्तव्य शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन निरन्तर बढ्दै गएको छ। चालु आर्थिक वर्षको असारसम्म निकुञ्ज भ्रमण गर्ने पर्यटकको संख्या गत वर्षको तुलनामा उल्लेखनीय रूपमा वृद्धि भएको तथ्यांकले आन्तरिक पर्यटनप्रतिको आकर्षण अझ सशक्त बन्दै गएको देखाएको छ
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बढ्यो पर्यटकको चहलपहल, आन्तरिक पर्यटनमा नयाँ उत्साह
निकुञ्ज प्रशासनका अनुसार चालु आर्थिक वर्षमा असारसम्म ४ हजार १९१ पर्यटकले शुक्लाफाँटा भ्रमण गरेका छन्। यो संख्या अघिल्लो आर्थिक वर्षको ३ हजार ७२२ को तुलनामा ४६९ जना बढी हो, जसले करिब १२.६ प्रतिशत वृद्धि जनाउँछ।
सूचना अधिकारी पुरुषोत्तम बाग्लेका अनुसार भ्रमण गर्नेमध्ये १ हजार ६५७ महिला र २ हजार ५३४ पुरुष रहेका छन्। कुल पर्यटकमध्ये ३ हजार ६९९ जना नेपाली रहेको तथ्यांकले शुक्लाफाँटाले आन्तरिक पर्यटकको रोजाइमा आफ्नो स्थान थप बलियो बनाएको पुष्टि गर्छ। नेपाली पर्यटकको हिस्सा कुल आगन्तुकको करिब ८८ प्रतिशत पुगेको छ।
त्यस्तै, सार्क मुलुकबाट ३५८ र अन्य विदेशी मुलुकबाट १५६ पर्यटक निकुञ्ज पुगेका छन्। विदेशी पर्यटकको संख्या अझै सीमित रहे पनि अघिल्लो वर्षको तुलनामा तेस्रो मुलुकका आगन्तुक केही बढेका छन्, जसले अन्तर्राष्ट्रिय स्तरमा पनि गन्तव्यप्रतिको रुचि विस्तार हुँदै गएको संकेत गर्छ।
महिनागत विवरणअनुसार चैत सबैभन्दा व्यस्त महिना रह्यो, जहाँ ६२१ पर्यटकले निकुञ्जको भ्रमण गरे। त्यसपछि कात्तिक (५८०), जेठ (५७९), वैशाख (५५४) र असार (४२४) मा उल्लेख्य आगमन भएको छ। मौसम अनुकूल हुने र वन्यजन्तु सजिलै अवलोकन गर्न सकिने भएकाले वसन्त तथा प्रारम्भिक गर्मीयाममा पर्यटकको चाप बढी हुने गरेको निकुञ्ज प्रशासनको भनाइ छ।
वर्षायामको सुरुआत र पर्यटन सिजन सुरु नहुँदा असोज मा भने सबैभन्दा कम, केवल ९ जना पर्यटक मात्र पुगेका थिए।
करिब ३०५ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विश्वकै सबैभन्दा ठूलो बाह्रसिङ्गा आवास क्षेत्रका रूपमा परिचित छ। यहाँ पाटेबाघ, एकसिङ्गे गैँडा, जंगली हात्ती, चितुवा, नीलगाई, जरायो, भालु, जंगली बँदेललगायत दुर्लभ वन्यजन्तु पाइन्छन्।
पक्षीप्रेमीका लागि पनि निकुञ्ज विशेष आकर्षणको केन्द्र हो। यहाँ ४५० भन्दा बढी प्रजातिका चराचुरुङ्गी अभिलेख गरिएका छन्, जसले शुक्लाफाँटालाई नेपालको महत्त्वपूर्ण बर्डवाचिङ गन्तव्य बनाएको छ।
निकुञ्जभित्र रहेका विशाल शुक्लाफाँटा घाँसेमैदान, रानीताल, सिकारी ताल, सलगौडी ताल, बाबा ताल, वन्यजन्तु अवलोकन टावर तथा प्राकृतिक पदमार्ग पर्यटकका मुख्य आकर्षण हुन्। जिप सफारी, हात्ती सफारी र बर्डवाचिङमार्फत पर्यटकले वन्यजन्तुलाई प्राकृतिक बासस्थानमै नजिकबाट अवलोकन गर्ने अवसर पाउँछन्।
निकुञ्ज प्रशासनले पूर्वाधार विस्तार, पर्यटकमैत्री सेवा र अन्तर्राष्ट्रिय प्रचार–प्रसारलाई थप प्रभावकारी बनाउन सके शुक्लाफाँटा आगामी वर्षहरूमा विदेशी पर्यटकका लागि पनि अझ आकर्षक वन्यजन्तु पर्यटन गन्तव्य बन्ने विश्वास व्यक्त गरेको छ।
