भक्ति थापाको बाल्यकालसँग जोडिएको हरसिङडाँडा पर्यटनको नयाँ आकर्षण
लमजुङ ।राष्ट्रिय विभूति भक्ति थापाको बाल्यकालसँग जोडिएको लमजुङको हरसिङडाँडा इतिहास, प्रकृति र आधुनिक पूर्वाधारको संगम बन्दै पछिल्ला वर्षहरूमा आन्तरिक पर्यटनको उदाउँदो गन्तव्यका रूपमा परिचित हुन थालेको छ। मर्स्याङ्दी गाउँपालिका–३ मा अवस्थित यो डाँडा हिमाली दृश्य, ऐतिहासिक महत्व र ग्रामीण जीवनशैलीको अनुभवका कारण पर्यटकको रोजाइमा पर्दै गएको हो।
हालै राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा पुगेपछि हरसिङडाँडाको पर्यटन सम्भावनाले थप गति लिएको छ। साँझपख उज्यालोले झिलिमिली बन्न थालेको डाँडाले स्थानीयको जीवनशैली सहज बनाउनुका साथै पर्यटकलाई पनि थप सुविधा उपलब्ध गराएको छ।
नेपाल विद्युत् प्राधिकरण, लमजुङ वितरण केन्द्रले करिब १० लाख रुपैयाँको लागतमा १८ वटा पोलमार्फत राष्ट्रिय प्रसारण लाइन विस्तार गरेको हो। वितरण केन्द्रका प्रमुख सोवितबहादुर क्षेत्रीका अनुसार पर्यटन प्रवर्द्धनको सम्भावना भएका क्षेत्रलाई प्राथमिकतामा राख्दै विद्युत् विस्तार गरिएको हो। आगामी दिनमा बजेट उपलब्धताअनुसार अन्य पर्यटकीय गन्तव्यमा पनि यस्तै सेवा विस्तार गरिने उनले बताए।
हरसिङडाँडामा होटल सञ्चालन गर्दै आएका पूर्णबहादुर गुरुङका अनुसार पहिले सोलार प्रणालीको भरमा सेवा दिनुपर्थ्यो भने अहिले नियमित विद्युत् उपलब्ध भएपछि पर्यटकलाई बसोबास, खाना, मोबाइल चार्जिङ तथा अन्य सेवामा सहज भएको छ। उनका अनुसार उज्यालोले डाँडाको सौन्दर्यसमेत थप निखारेको छ।
स्थानीय चार युवाले केही वर्षअघि करिब ११ लाख रुपैयाँ लगानी गरी ३५ जनासम्म अट्ने आवाससहितको संरचना निर्माण गरेपछि यहाँ पर्यटकको आवागमन उल्लेख्य रूपमा बढ्न थालेको हो। अहिले विभिन्न मौसममा सयौँ आन्तरिक पर्यटक हरसिङडाँडा पुग्ने गरेका छन्।
विद्युत् विस्तारसँगै पर्यटन व्यवसाय थप व्यवस्थित हुने, स्थानीय कृषि तथा पशुपालनका उत्पादनले बजार पाउने, होमस्टे र होटल व्यवसाय विस्तार हुने तथा गाउँमै रोजगारी सिर्जना हुने अपेक्षा स्थानीयले गरेका छन्।
हरसिङडाँडाबाट मनास्लु हिमशृङ्खला, बुद्ध हिमाल, डा. हर्क पिक, मस्र्याङ्दी नदीको घुमाउरो बहाव, घलेगाउँ, कल्मेडाँडा, बेँसीसहर र तनहुँको बन्दीपुरसम्मको दृश्यावलोकन गर्न सकिन्छ। विशेषगरी सूर्योदय र सूर्यास्तको मनोरम दृश्यले यहाँ पुग्ने पर्यटकलाई लोभ्याउने गरेको छ।
प्राकृतिक सौन्दर्यसँगै यस स्थानको ऐतिहासिक महत्व पनि उत्तिकै विशेष छ। इतिहासअनुसार विसं १८०२ मा खुदीको ढुंगेबेँसीमा जन्मिएका राष्ट्रिय विभूति भक्ति थापाले बाल्यकालको धेरै समय यही डाँडामा गाईवस्तु चराउँदै बिताएका थिए। स्थानीयका अनुसार उनले यही क्षेत्रमा साथीहरूसँग खेल्ने, छेलो हान्ने र ग्रामीण परिवेशमा हुर्किने अवसर पाएका थिए।
मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले हरसिङडाँडालाई गाउँपालिकाको प्रमुख ऐतिहासिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने दीर्घकालीन योजना अघि बढाइएको बताए। उनका अनुसार सडक स्तरोन्नति, पर्यटकमैत्री पूर्वाधार निर्माण, बजेट व्यवस्थापन तथा प्रभावकारी प्रचार–प्रसारमार्फत यस क्षेत्रलाई गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।
स्थानीय सरकारका अनुसार पूर्वाधार विस्तारले पर्यटनसँगै स्थानीय अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। पर्यटकको संख्या बढेसँगै स्थानीय उत्पादनको बजारीकरण, होटल तथा होमस्टे व्यवसायको विस्तार र युवाका लागि गाउँमै रोजगारीका अवसर सिर्जना हुने विश्वास गरिएको छ।
केही वर्षअघिसम्म सुनसान रहने हरसिङडाँडा अहिले सडक, विद्युत्, आवास र आतिथ्य सेवासहित क्रमशः विकसित हुँदै गएको छ। इतिहास, संस्कृति, प्राकृतिक सौन्दर्य र आधुनिक सुविधाको समिश्रणले यो गन्तव्य अब लमजुङको मात्र होइन, गण्डकी प्रदेशकै सम्भावनायुक्त ऐतिहासिक तथा पर्यटन केन्द्रका रूपमा पहिचान बनाउन अग्रसर देखिएको छ।
