विश्वकपबाट बाहिरिएसँगै नेयमारको अन्तर्राष्ट्रिय यात्रामा पूर्णविराम
Tourism Face Main News, NEWS, Sports 0
काठमाडौं। ब्राजिलका चर्चित फरवार्ड नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट औपचारिक रूपमा सन्यासको घोषणा गरेका छन्। फिफा विश्वकप २०२६ को अन्तिम १६ मा नर्वेसँग २–१ को पराजय भोगेपछि उनले राष्ट्रिय टोलीसँगको १६ वर्ष लामो यात्राको अन्त्य गरेका हुन्।
३४ वर्षीय नेयमार पराजयपछि निकै भावुक देखिएका थिए। उनले मैदानमै आफ्नो अन्तर्राष्ट्रिय करियर समाप्त भएको संकेत गर्दै अब ब्राजिलका लागि खेल्ने अध्याय सकिएको प्रतिक्रिया दिए।
अमेरिकाको न्युजर्सीमा सम्पन्न खेलमा नर्वेका स्ट्राइकर एर्लिङ हालान्डले दुई गोल गर्दै आफ्नो टोलीलाई क्वार्टरफाइनलमा पुर्याए। ब्राजिलका लागि नेयमारले इन्जुरी समयमा पेनाल्टीमार्फत एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन त्यो पर्याप्त हुन सकेन।
लामो समय चोटसँग संघर्ष गरेका नेयमार पूर्ण फिटनेसमा विश्वकप खेल्न सकेका थिएनन्। चोटका कारण उनले प्रतियोगिताका सुरुआती खेल गुमाएका थिए भने पुनरागमनपछि पनि अधिकांश खेलमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका थिए। स्कटल्यान्ड र नर्वेविरुद्ध पनि उनी बेन्चबाट खेलमा आएका थिए।
नर्वेविरुद्ध गरेको पेनाल्टी गोल नै ब्राजिलका लागि नेयमारको अन्तिम अन्तर्राष्ट्रिय गोल बनेको छ।
सन् २०१० मा ब्राजिलको सिनियर टोलीबाट डेब्यु गरेका नेयमारले राष्ट्रिय टोलीका लागि १२९ खेल खेल्दै ८० गोल गरेका छन्। यससँगै उनी ब्राजिलका पुरुष फुटबल इतिहासकै सर्वाधिक गोलकर्ता बने।
उनले लगातार चार संस्करणको फिफा विश्वकपमा ब्राजिलको प्रतिनिधित्व गरे पनि विश्वकप उपाधि भने जित्न सकेनन्। यद्यपि अन्तर्राष्ट्रिय स्तरमा उनले उल्लेखनीय सफलता पनि हासिल गरेका छन्। दुई ओलम्पिकमा सहभागी भएका नेयमारले सन् २०१२ मा रजत पदक जितेका थिए भने २०१६ मा कप्तानका रूपमा ब्राजिललाई पहिलो पटक ओलम्पिक फुटबलको स्वर्ण पदक दिलाएका थिए।
नेयमारको अन्तर्राष्ट्रिय सन्याससँगै ब्राजिलियन फुटबलको एक महत्वपूर्ण युग समाप्त भएको विश्लेषण गरिएको छ। राष्ट्रिय टोलीका लागि उनको योगदान, व्यक्तिगत कीर्तिमान र आक्रामक खेलशैलीले उनलाई आधुनिक ब्राजिलियन फुटबलका सर्वाधिक प्रभावशाली खेलाडीमध्ये एकका रूपमा स्थापित गरेको छ। एजेन्सीको सहयोगमा
