आगजनीपछि प्रयोगविहीन बनेको सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, सम्मेलन पर्यटनमा असर
Tourism Face Banner News, NEWS
तस्वीर : सुर्याम्स उप्रेती / नेपाल फोटो लाइब्रेरी
ललितपुर । गोदावरीस्थित सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र जेन–जी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडपछि लामो समयदेखि प्रयोगविहीन अवस्थामा रहेको छ। एक समय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा–सम्मेलन आयोजना गर्ने उद्देश्यले निर्माण गरिएको आधुनिक संरचना अहिले क्षतिग्रस्त बनेर पुनः सञ्चालनको प्रतीक्षामा छ।
गत २४ भदौ २०८२ मा भएको हिंसात्मक घटनाका क्रममा सम्मेलन केन्द्रको मुख्य सभाहलमा आगलागी हुँदा छाना भत्किएको थियो। भवनका सिसा, आन्तरिक संरचना, विद्युतीय प्रणाली तथा अन्य भौतिक पूर्वाधारमा समेत व्यापक क्षति पुगेपछि केन्द्र सञ्चालन हुन सकेको छैन।
करिब ४३ रोपनी १५ आना क्षेत्रफलमा फैलिएको यो सम्मेलन केन्द्रमा एकैपटक झण्डै तीन हजार सहभागी अट्ने क्षमता छ। आधुनिक सुविधा सम्पन्न यस पूर्वाधारलाई नेपालमा ठूला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलन, प्रदर्शनी, व्यावसायिक कार्यक्रम र सरकारी समारोह आयोजना गर्ने उद्देश्यले निर्माण गरिएको थियो।
शहरी विकास मन्त्रालयले २०७६ कात्तिक ५ गते भवनको शिलान्यास गरेको थियो भने २०७८ वैशाख ३१ गते यसको उद्घाटन गरिएको थियो। प्रारम्भिक रूपमा करिब ६२ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजना विभिन्न कारणले लागत बढ्दै झण्डै ८१ करोड रुपैयाँ पुगेपछि निर्माण सम्पन्न भएको थियो।
२०७८ असारदेखि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिले सञ्चालन गर्दै आएको यो केन्द्र केही वर्षमै देशको प्रमुख सम्मेलन स्थलका रूपमा स्थापित हुने अपेक्षा गरिएको थियो। तर आगजनीपछि संरचना प्रयोगबाहिर जाँदा सरकारी कार्यक्रम मात्र होइन, सम्मेलन तथा MICE (Meetings, Incentives, Conferences and Exhibitions) पर्यटन प्रवर्द्धनका योजनासमेत प्रभावित भएका छन्।
पर्यटन क्षेत्रका जानकारहरूका अनुसार सम्मेलन केन्द्रहरू केवल सरकारी कार्यक्रमका लागि मात्र नभई उच्च खर्च गर्ने व्यावसायिक पर्यटक भित्र्याउने महत्वपूर्ण पूर्वाधार हुन्। यस्ता अन्तर्राष्ट्रियस्तरका स्थल सञ्चालनमा आउँदा होटल, रेस्टुरेन्ट, यातायात, ट्राभल कम्पनी तथा स्थानीय व्यवसायले प्रत्यक्ष लाभ लिन्छन्।
यसबीच, सम्मेलन केन्द्रका लागि अधिग्रहण गरिएको केही जग्गा अतिक्रमणमा परेको विषय पनि विगतदेखि उठ्दै आएको छ। क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र संरक्षणलाई प्राथमिकता दिन सके गोदावरी क्षेत्रलाई सम्मेलन तथा व्यवसायिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा पुनः स्थापित गर्न सकिने पर्यटन क्षेत्रका सरोकारवालाहरूको धारणा छ।
तस्वीर : सुर्याम्स उप्रेती / नेपाल फोटो लाइब्रेरी
