लालपुर्जा हात परेपछि धनुषाका ३२८ परिवारमा उत्साह
धनुषा । गणेशमान चारनाथ नगरपालिका–५ का सुरेश रायले वर्षौंदेखि एउटै जग्गामा घर बनाएँ, खेतीपाती गरेँ र परिवार हुर्काएँ । तर एउटा अभाव भने सधैँ खड्किरह्यो १ जग्गाको कानुनी स्वामित्व प्रमाणित गर्ने लालपुर्जा । आज त्यो अभाव अन्त्य भयो । नापी कार्यालय धनुषाबाट लालपुर्जा हातमा परेपछि उनको अनुहारमा देखिएको खुसी शब्दमा व्यक्त गर्न गाह्रो थियो ।
“हाम्रा बाजेदेखि भोगचलन गर्दै आएको जग्गाको आज कानुनी कागज पायौँ । अब आफ्नै सम्पत्तिको प्रमाण हातमा छ । बैङ्कबाट ऋण लिन, छोराछोरीको भविष्यका लागि योजना बनाउन र अन्य कानुनी काम गर्न सहज हुनेछ,” उनले खुसी व्यक्त गरे ।
रायजस्तै गणेशमान चारनाथ नगरपालिका–५ र ६ का ३२८ परिवारले आइतबार गाउँब्लक जग्गाको लालपुर्जा प्राप्त गरे । पुस्तौँदेखि भोगचलन गर्दै आएका उनीहरूका लागि यो केवल एउटा कागज मात्र नभई लामो समयदेखि माग गरिएको अधिकारको औपचारिक मान्यता बनेको छ ।
स्थानीयवासीका अनुसार लालपुर्जा नहुँदा जग्गा आफ्नै भए पनि त्यसको कानुनी प्रमाण प्रस्तुत गर्न कठिन हुन्थ्यो । बैङ्किङ कारोबार, ऋण सुविधा, स्वामित्व हस्तान्तरण तथा अन्य सरकारी सेवामा अनेक समस्या भोग्नुपथ्र्यो । अब भने ती समस्या धेरै हदसम्म हट्ने विश्वास उनीहरुको छ ।
नापी कार्यालय धनुषाका प्रमुख उमेश साहका अनुसार विस २०७० मै नापजाँच भए पनि प्राविधिक र प्रशासनिक कारणले वितरण प्रक्रिया लामो समयसम्म रोकिएको थियो । आवश्यक कानुनी प्रक्रिया पूरा भएपछि अहिले लाभग्राहीलाई लालपुर्जा हस्तान्तरण गरिएको छ ।
नगर प्रमुख जितनारायण यादवले पुस्तौँदेखि भोगचलन गर्दै आएका नागरिकलाई कानुनी स्वामित्व दिलाउनु राज्यको दायित्व भएको बताए । उनले अझै लालपुर्जा प्राप्त गर्न बाँकी रहेका परिवारलाई पनि प्रक्रिया पूरा गरी चाँडै स्वामित्वको प्रमाणपत्र उपलब्ध गराइने जानकारी दिए ।
