बैंककको नाइट पबमा भीषण आगलागी, २७ जनाको मृत्यु, ६३ घाइते
बैंकक । थाइल्यान्डको राजधानी बैंककस्थित एक नाइट पबमा सोमबार मध्यरातपछि भएको भीषण आगलागीमा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने ६३ जना घाइते भएका छन्। घाइतेमध्ये २२ जनाको अवस्था गम्भीर रहेको स्थानीय अधिकारीहरूले बताएका छन्।
घटना बैंककको उत्तरी क्षेत्रमा रहेको ना लाडफ्राओ पबमा राति करिब १२ बजेतिर भएको हो। प्रत्यक्षदर्शीका अनुसार आगो फैलिनुअघि स्टेज नजिक रहेको विद्युत् सर्किट ब्रेकरबाट धुवाँ निस्किएको देखिएको थियो। त्यसलगत्तै विद्युत् आपूर्ति बन्द भएको, विस्फोटजस्तो आवाज आएको र केही क्षणमै बाक्लो धुवाँले पूरै पब ढाकेको बताइएको छ।
सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरूमा पबबाट आगोको ठूलो मुस्लो र कालो धुवाँ निस्किरहेको तथा मानिसहरू ज्यान जोगाउन भागदौड गरिरहेको दृश्य देखिन्छ।
घटनास्थल पुगेका थाइल्यान्डका प्रधानमन्त्री अनुटिन चार्नविराकुलले २७ जनाको मृत्यु भएको पुष्टि गर्दै आगलागीको वास्तविक कारण पत्ता लगाउन अनुसन्धान भइरहेको जानकारी दिए। उनका अनुसार अधिकांश मृतक पबको पछाडिपट्टि रहेको शौचालय क्षेत्रमा फेला परेका छन्।
बैंककका गभर्नर चाडचार्ट सिट्टिपुन्टका अनुसार घाइते सबैलाई विभिन्न अस्पतालमा भर्ना गरिएको छ। तीमध्ये २२ जनाको अवस्था चिन्ताजनक छ। धेरै पीडितसँग परिचय खुल्ने कागजात नभएकाले तथा केही बेहोस अवस्थामा रहेकाले उनीहरूको पहिचान गर्ने काम जारी रहेको उनले बताए।
दमकल टोलीले करिब आधा घण्टाको प्रयासपछि आगो नियन्त्रणमा लिएको थियो। आगलागीपछि सार्वजनिक भएका तस्बिरहरूमा पबभित्रका टेबल, कुर्सी र अन्य सामग्री पूर्ण रूपमा जलेको तथा भवनको भित्री संरचनामा ठूलो क्षति पुगेको देखिन्छ।
हराइरहेका आफन्तको खोजीमा आएका परिवारका सदस्यबाट विवरण संकलन गर्न घटनास्थलमै दर्ता केन्द्र स्थापना गरिएको छ।
गायिका सुकान्या वोङवोङवाईले आफू नजिकै अर्को स्थानमा प्रस्तुति दिइरहेका बेला आगलागीको खबर पाएर घटनास्थल पुगेको बताइन्। उनका अनुसार उनका केही ब्यान्ड सदस्यहरू उक्त पबमा प्रस्तुति दिइरहेका थिए। तीमध्ये एक जनाको मृत्यु भएको, तीन जना अस्पतालमा उपचाररत रहेको र अर्का एक सदस्य अझै सम्पर्कविहीन रहेको उनले जानकारी दिइन्।
उनले प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै भनिन्, “आगो लाग्नेबित्तिकै सम्पूर्ण स्थान अन्धकार भयो, बिजुली काटियो र बाक्लो धुवाँले सबै ढाक्यो। त्यसपछि कसैलाई पनि एकअर्काको अवस्था थाहा पाउन कठिन भयो।”
थाइल्यान्डमा विगतमा पनि यस्ता दुःखद आगलागीका घटना भएका छन्। सन् २०२२ मा देशको पूर्वी क्षेत्रमा रहेको एक म्युजिक पबमा आगलागी हुँदा १४ जनाको मृत्यु भएको थियो। त्यसभन्दा अघि सन् २००९ को जनवरी १ मा बैंककको सान्टिका नाइटक्लबमा नयाँ वर्ष मनाउने क्रममा भएको आगलागीमा ६६ जनाले ज्यान गुमाएका थिए भने २०० भन्दा बढी घाइते भएका थिए। प्रारम्भिक अनुसन्धानले उक्त आगलागी भित्री भागमा गरिएको आतिशबाजीका कारण भएको देखाएको थियो। एजेन्सीको सहयोगमा
