कालोपत्र ढिलाइले ओझेलमा खोटाङको पर्यटन, हलेसी–जालपा जोड्ने सडक वर्षायाममै अधुरो
खोटाङ । निर्माण व्यवसायीको ढिलासुस्तीका कारण खोटाङका दुई महत्त्वपूर्ण ग्रामीण सडकको कालोपत्र योजना अधुरै रहने भएको छ। यसले जिल्लाका प्रमुख धार्मिक तथा ग्रामीण पर्यटन गन्तव्यमा पुग्ने यात्रु र पर्यटकलाई वर्षायाममा थप सास्ती हुने देखिएको छ।
मध्यपहाडी लोकमार्गसँग जोडिने दिक्तेल–हलेसी सडकको नुनथला–जौबारी–कुभिन्डे–हरमटार–ऐँसेलुखर्क सडक तथा हुर्लुङ–जालपा–सप्तेश्वर–बाक्सिला सडक कालोपत्र गर्ने योजना समयमै पूरा हुन नसक्दा स्थानीय विकाससँगै पर्यटन प्रवर्द्धनमा पनि असर परेको हो।
कोशी प्रदेश सरकारको बजेटमा सञ्चालित दुवै आयोजनाको काम अस्फाल्ट बिछ्याउने अन्तिम चरणमा पुगेर रोकिएको छ। बिसी–पिसी–पीकेबी जेभीले असार १५ भित्र काम सम्पन्न गर्ने सम्झौता गरे पनि हालसम्म नुनथला–हरमटार सडकमा करिब १८ प्रतिशत र हुर्लुङ–जालपा सडकमा १३ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ।
भौतिक पूर्वाधार विकास कार्यालय खोटाङका प्रमुख इन्जिनियर विनम दाहालका अनुसार कालोपत्रका लागि आवश्यक निर्माण सामग्री तयार भए पनि समयमै बिटुमिन उपलब्ध गराउन नसक्दा र त्यसपछि निरन्तर वर्षा सुरु भएकाले काम रोकिएको हो।
पर्यटन पूर्वाधारमा प्रत्यक्ष असर
यी सडकहरू केवल स्थानीय आवागमनका लागि मात्र नभई हलेसी महादेव, जालपा क्षेत्र, ऐँसेलुखर्क लगायत धार्मिक, सांस्कृतिक र ग्रामीण पर्यटन गन्तव्यसम्म पुग्ने प्रमुख पहुँचमार्ग हुन्। सडक स्तरोन्नति नहुँदा वर्षायाममा यात्रा कठिन बनेको छ भने आन्तरिक पर्यटक तथा तीर्थयात्रीको आवागमन पनि प्रभावित हुने स्थानीयको भनाइ छ।
पर्यटन व्यवसायीहरूका अनुसार सहज सडक पहुँच अभावले होटल, होमस्टे, यातायात सेवा र स्थानीय उत्पादनमा आधारित पर्यटन व्यवसायसमेत प्रभावित हुने जोखिम बढेको छ।
अन्तिम चरणमै रोकियो काम
नुनथला–जौबारी–कुभिन्डे–हरमटार सडकको २.२ किलोमिटर खण्ड कालोपत्र गर्न दुई करोड ३८ लाख रुपैयाँभन्दा बढीको ठेक्का सम्झौता गरिएको थियो। त्यस्तै हुर्लुङ–जालपा–सप्तेश्वर–बाक्सिला सडकको २.५ किलोमिटर खण्डका लागि दुई करोड ५३ लाख रुपैयाँभन्दा बढीको लागत तय गरिएको थियो।
दुवै सडकमा ड्रेन, रिटेनिङ वाल, ग्याविन जाली, सबबेस र कल्भर्टलगायतका अधिकांश संरचनागत काम सम्पन्न भइसके पनि कालोपत्र गर्ने मुख्य चरणमै निर्माण रोकिएको छ।
स्थानीयको आक्रोश
हुर्लुङका स्थानीय महन गुरुङका अनुसार कालोपत्र गर्ने तयारी पूरा भएपछि पनि काम रोकिँदा राज्यको लगानी जोखिममा परेको छ। निर्माण सामग्री सडकमै छाडिएकाले सवारी सञ्चालनसमेत कठिन बनेको उनले बताए।
स्थानीयका अनुसार ठेकेदार कम्पनीले लामो समयसम्म काम सुरु नगरी अन्तिम समयमा मात्रै निर्माण अघि बढाएको र वर्षा सुरु भएपछि काम अधुरै छाडेर गएको हो। कार्यालयले म्याद थप भए करिब एक महिनाभित्र कालोपत्र सम्पन्न गर्न सकिने जनाएको छ।
पर्यटनको सम्भावना सडकमै अड्कियो
खोटाङमा मध्यपहाडी लोकमार्गबाहेक अधिकांश ग्रामीण सडक अझै कालोपत्र हुन सकेका छैनन्। प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदाले भरिपूर्ण जिल्लामा सडक पूर्वाधार कमजोर रहँदा पर्यटन विस्तारको सम्भावना पनि पूर्ण रूपमा उपयोग हुन सकेको छैन। स्थानीय सरोकारवालाले पर्यटन प्रवर्द्धनका लागि सडक निर्माणलाई उच्च प्राथमिकतामा राखी ठेक्का व्यवस्थापन र कार्यान्वयनमा प्रभावकारी अनुगमन गर्न माग गरेका छन्।
