अन्नपूर्ण पदमार्गमा बाढीपहिरोको असर, सुरक्षित यात्रा अपनाउन पर्यटकलाई आग्रह
काठमाडौं । लगातारको वर्षापछि कास्कीको अन्नपूर्ण गाउँपालिका क्षेत्रमा आएको बाढीपहिरोले अन्नपूर्ण पदमार्गका विभिन्न संरचनामा क्षति पुर्याएको छ। यससँगै ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीले पदयात्री, गाइड तथा पर्यटन व्यवसायीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
टान गण्डकीका अनुसार अन्नपूर्ण गाउँपालिका–१० र ११ अन्तर्गत कुम्रुङ खोला र मोदी नदीमा आएको बाढीले घुर्जुङ जोड्ने झोलुङ्गे पुल, अन्नपूर्ण आधार शिविर (एबीसी) जाने मुख्य पदमार्ग तथा स्याउलीबजार आसपासका संरचनामा उल्लेखनीय क्षति पुगेको छ।
प्राकृतिक विपत्तिको प्रभाव घान्द्रुकको बनठाँटी क्षेत्रमा पनि परेको छ। त्यहाँ रहेका दुई होटलमा क्षति पुगेको छ भने पदमार्ग अवरुद्ध हुँदा पदयात्रामा रहेका पर्यटक, गाइड र भरियाले कठिनाइ भोगिरहेका छन्।
टानले प्रभावित होटल व्यवसायीप्रति ऐक्यबद्धता जनाउँदै क्षतिग्रस्त पदमार्ग, पुल तथा अन्य पूर्वाधारको तत्काल मर्मत र पुनः सञ्चालनका लागि सरकार तथा सम्बन्धित निकायले शीघ्र पहल गर्नुपर्ने आवश्यकता औंल्याएको छ।
संस्थाले अहिलेको अवस्थामा पर्यटन गतिविधिभन्दा पनि मानव सुरक्षालाई पहिलो प्राथमिकता दिनुपर्ने बताएको छ। जोखिमयुक्त मार्ग हुँदै यात्रा जारी नराख्न र सम्भव भएसम्म वैकल्पिक सुरक्षित मार्ग प्रयोग गरी प्रभावित क्षेत्रबाट बाहिरिन पर्यटक तथा ट्रेकिङ टोलीलाई अनुरोध गरिएको छ।
साथै, फिल्डमा रहेका सबै गाइड र पोर्टरलाई आफ्नो ट्रेकिङ एजेन्सी वा टान सचिवालयसँग नियमित सम्पर्कमा रहन तथा आपतकालीन अवस्था आएमा स्थानीय सरकार, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (ACAP) र पर्यटन प्रहरीसँग समन्वय गरेर मात्र यात्रा अघि बढाउन टानले आग्रह गरेको छ।
