प्रधानमन्त्री–पुँजी बजार संवादपछि नेप्सेमा उत्साह, परिसूचक ४२ अंकले उकालो
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले पुँजी बजारसँग सम्बन्धित सरोकारवालासँग गरेको छलफलपछि सोमबार नेपाली सेयर बजारमा उल्लेखनीय सुधार देखिएको छ। लगानीकर्ताको मनोबल बढेसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४१.७० अंकले बढेर २ हजार ७१९.२४ बिन्दुमा पुगेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा नियामक निकाय, स्टक ब्रोकर तथा लगानीकर्ताका प्रतिनिधिसँग भएको छलफललाई बजारले सकारात्मक सन्देशका रूपमा लिएको विश्लेषण गरिएको छ। पुँजी बजारका समस्या समाधान र सुधारका विषयमा सरकार गम्भीर देखिएको संकेतले लगानीकर्ताको विश्वास बढाएको बजार विश्लेषकहरूको भनाइ छ।
पछिल्ला केही महिनादेखि नीतिगत अन्योल, तरलता व्यवस्थापन र बजार सुधारसम्बन्धी विषयमा लगानीकर्ताले सरकारसँग संवादको अपेक्षा गर्दै आएका थिए। प्रधानमन्त्री स्वयंले सरोकारवालासँग छलफल गरेपछि बजारमा सकारात्मक मनोविज्ञान बनेको देखिएको हो।
सोमबार ३४३ कम्पनीको कारोबार हुँदा २३९ कम्पनीको सेयर मूल्य बढेको छ भने ३२ कम्पनीको मूल्यमा गिरावट आएको छ। पाँच कम्पनीको सेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ। यस दिन एक करोडभन्दा बढी कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ५ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ।
कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत् कम्पनी अग्रस्थानमा रहँदै करिब २९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। त्यस्तै, रिलायन्स स्पिनिङको २४ करोड रुपैयाँ, रिडी पावरको २० करोड रुपैयाँ, कर्पोरेट डेभलपमेन्ट बैंकको १९ करोड रुपैयाँ तथा नेसनल हाइड्रोपावरको १५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
सेयर मूल्य वृद्धितर्फ एभरेष्ट कलर र रिडिज लाइन इनर्जीका लगानीकर्ताले सबैभन्दा बढी लाभ प्राप्त गरेका छन्। यी दुवै कम्पनीको सेयर मूल्य झण्डै १४ प्रतिशतले वृद्धि भएको छ।
उपसमूहगत रूपमा पनि बजार हरियालीमै देखिएको छ। कारोबार भएका १३ उपसमूहमध्ये १२ वटा समूहको सूचक बढेको छ भने म्युचुअल फन्ड समूह मात्र सामान्य ०.०२ प्रतिशतले घटेको छ।
उत्पादन तथा प्रशोधन समूहमा सबैभन्दा बढी ३.२१ प्रतिशतको वृद्धि भएको छ। हाइड्रोपावर समूह २.७९ प्रतिशत, होटल तथा पर्यटन समूह १.९८ प्रतिशत, विकास बैंक १.४८ प्रतिशत, लगानी समूह १.५५ प्रतिशत, फाइनान्स समूह ०.९३ प्रतिशत तथा बैंकिङ समूह ०.५५ प्रतिशतले बढेका छन्।
विश्लेषकहरूका अनुसार पुँजी बजारमा सरकारको चासो र सरोकारवालासँगको प्रत्यक्ष संवादले लगानीकर्तामा सकारात्मक सन्देश प्रवाह गरेको छ। नीतिगत स्थिरता र बजार सुधारका लागि सरकारको प्रतिबद्धता बलियो बन्दै गए आगामी दिनमा पनि बजारले सकारात्मक गति लिन सक्ने अपेक्षा गरिएको छ।
