काठमाडौं । सामाजिक सुरक्षा कोषमा आबद्ध योगदानकर्ताको संख्या ३० लाख नाघेको छ। आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म कोषमा एक खर्ब १६ अर्ब ७१ करोड ८९ लाख ५० हजार ५२५ रुपैयाँ बराबरको योगदान रकम संकलन भएको छ।
कोषले सार्वजनिक गरेको विवरणअनुसार उक्त रकम सूचीकृत रोजगारदाता र योगदानकर्ताबाट संकलन गरिएको हो। हालसम्म २३ हजार ४९० रोजगारदाता कोषमा सूचीकृत भएका छन् भने योगदानकर्ताको संख्या ३० लाख ४३ हजार २०० पुगेको छ।
सामाजिक सुरक्षा योजनाअन्तर्गत कोषले विभिन्न शीर्षकमा गरी २१ अर्ब २७ करोड एक लाख २० हजार २५२ रुपैयाँ दाबी भुक्तानी गरेको जनाएको छ। यसमध्ये औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुविधाका लागि तीन अर्ब ५२ करोड पाँच लाख ४७ हजार ४६२ रुपैयाँ प्रदान गरिएको छ।
त्यसैगरी, दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गत ३० करोड ४६ लाख छ हजार ५१४ रुपैयाँ, आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत ३८ करोड चार लाख २५ हजार २१६ रुपैयाँ तथा अवकाश सुविधा अन्तर्गत १७ अर्ब छ करोड ४५ लाख ४१ हजार ६१ रुपैयाँ भुक्तानी गरिएको छ।
हालै वैदेशिक रोजगारीमा जाने श्रमिकलाई समेत सामाजिक सुरक्षा योजनामा समेटिएपछि योगदान रकम र सहभागीको संख्या उल्लेख्य रूपमा बढेको कोषले जनाएको छ।
पेन्सन, स्वास्थ्य उपचारलगायत सामाजिक सुरक्षासम्बन्धी कार्यक्रमको विस्तारसँगै सर्वसाधारणको आकर्षण कोषतर्फ बढ्दै गएको छ। साथै, कोषले उत्पादनमूलक क्षेत्रहरूमा लगानीको दायरा विस्तार गरिरहेको र यसबाट दीर्घकालीन रूपमा आर्थिक तथा सामाजिक लाभ प्राप्त हुने अपेक्षा गरिएको छ।