अन्नपूर्ण क्षेत्रमा उचाइजन्य समस्या (लेक लाग्ने) का कारण एक वर्षमै २५ जनाको ज्यान गयो
पोखरा । अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) अन्तर्गतका विभिन्न उच्च हिमाली क्षेत्रमा आर्थिक वर्ष २०८२/८३ मा उचाइजन्य समस्या (लेक लाग्ने) का कारण २५ जनाको मृत्यु भएको छ। यस अवधिमा अन्य दुर्घटनाबाट थप पाँच जनाले ज्यान गुमाएका छन्।
एक्यापका अनुसार सबैभन्दा बढी मृत्यु मुस्ताङ जिल्लामा भएको छ। मुस्ताङमा मात्रै १५ जनाले लेक लागेर ज्यान गुमाएका छन्। मुक्तिनाथ क्षेत्रमा आठ भारतीय र चार नेपाली, दामोदर कुण्डमा एक नेपाली, लोमान्थाङमा एक नेपाली तथा टुकुचेमा एक मेक्सिकन नागरिकको मृत्यु भएको तथ्यांकमा उल्लेख छ।
मनाङमा लेक लागेर मृत्यु हुनेको संख्या आठ पुगेको छ। नार–फु क्षेत्रमा तीन नेपाली भरिया तथा गाइड, अन्नपूर्ण चक्रपथमा एक नेपाली गाइड, एक नेपाली पर्यटक, एक भारतीय, एक जापानी र एक सिंगापुरका नागरिकको ज्यान गएको एक्यापले जनाएको छ।
त्यसैगरी, मार्दी हिमाल क्षेत्रमा एक स्पेनी नागरिक र अन्नपूर्ण आधार शिविर (एबीसी) जाने मार्गमा एक नेपाली नागरिकको पनि उचाइजन्य समस्याका कारण मृत्यु भएको छ।
उच्च हिमाली पदयात्राका क्रममा भएका अन्य दुर्घटनाले पनि पर्यटकको ज्यान लिएको छ। मनाङमा हिमपातपछि बेपत्ता भएका दुई भारतीय पर्यटक मृत अवस्थामा फेला परेका थिए। हिमलुङ हिमालमा लडेर एक अष्ट्रेलियाली आरोहीको मृत्यु भएको थियो भने मार्दी हिमाल पदमार्गमा हराएका एक नेपाली पदयात्री र खोप्रा पदमार्गमा लडेका एक जर्मन पदयात्रीको पनि मृत्यु भएको थियो।
एक्यापका निर्देशक डा. रविन कडरियाले उचाइमा यात्रा गर्दा विशेष सावधानी अपनाउनुपर्नेमा जोड दिएका छन्। उनका अनुसार पर्याप्त तयारीबिना उच्च क्षेत्रमा पुग्दा लेक लाग्ने जोखिम बढ्ने भएकाले क्रमिक रूपमा उक्लिनु, शरीरलाई उचाइसँग घुलमिल हुन समय दिनु र समस्या देखिएमा तत्काल तल्लो क्षेत्रमा झर्नु आवश्यक छ।
उचाइजन्य जोखिमबारे जानकारी गराउन पदमार्गका विभिन्न स्थानमा सचेतनामूलक सूचना बोर्ड राखिएको एक्यापले जनाएको छ।
