काठमाडौं । पाकिस्तानको ८,०४७ मिटर अग्लो ब्रोड पिकमा हिमपहिरोमा परी बेपत्ता भएका आरोहीहरूको खोजी तथा उद्धार अभियान जारी छ । बिहीबार दोस्रो र तेस्रो शिविर (क्याम्प–२ र क्याम्प–३) बीच करिब ७ हजार मिटर उचाइमा ठूलो हिमपहिरो खस्दा विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाई’ सहित १० सदस्यीय टोली सम्पर्कविहीन भएको थियो।
शुक्रबार दिनभर गरिएको खोजी अभियानमा चार जनाको शव फेला परेको छ। तीमध्ये नेपालका पूरबहादुर गुरुङ र ओमानकी नधिरा अहमद अब्दुल्लाह अल हार्थीको पहिचान पुष्टि भएको छ भने अन्य दुई शवको अझै सनाखत हुन सकेको छैन।
अल्पाइन क्लब अफ पाकिस्तानका अनुसार हिमपहिरोले शिखरतर्फ उक्लिरहेको टोलीलाई करिब एक हजार मिटर तलसम्म बगाएको देखिएको छ। जीपीएस ट्र्याकिङ प्रणालीबाट प्राप्त विवरणले पनि टोली हिमपहिरोमा परेको पुष्टि गरेको छ।
बाँकी बेपत्ता आरोहीहरूको खोजी कार्य शुक्रबार साँझसम्म जारी रहे पनि कुनै सफलता हात परेन ।