ब्रोड पिक दुर्घटनामा सबै १० आरोहीको मृत्यु
काठमाडौं । पाकिस्तानको कराकोरम हिमशृङ्खलास्थित ब्रोड पिक हिमालमा गएको हिमपहिरोमा बेपत्ता भएका सबै १० जना आरोहीको मृत्यु भएको पुष्टि भएको छ। विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’ सहितको टोली आरोहणका क्रममा हिमपहिरोमा परेको थियो।
पुर्जाले स्थापना गरेको एलिट एक्सपेडले विज्ञप्तिमार्फत सबै आरोहीको निधन भएको जानकारी सार्वजनिक गरेको हो। उक्त अभियानको नेतृत्व स्वयं पुर्जाले गरिरहेका थिए।
बिहीबार बिहान करिब ६,७०० मिटर उचाइमा पुगेका बेला अचानक आएको हिमपहिरोले टोलीलाई बगाएको थियो। त्यसयता उनीहरू सम्पर्कविहीन बनेका थिए।
शुक्रबार नेपालका पुरबहादुर गुरुङ, अमेरिकी आरोही मालोरी गाइस र ओमानकी नधिरा अहमद अब्दुल्लाह अल हार्थीको शव फेला परेको थियो। त्यसपछि शनिबार बिहानदेखि थप खोजी तथा उद्धार अभियान सञ्चालन गरिएको थियो।
खोजीका क्रममा नेपालका किली पेम्बा शेर्पा (किलु), निमा शेर्पा, नवाङ थिन्डु शेर्पा, पाकिस्तानका सोहेल साखी, चीनका वाङ जोङ तथा अन्य बेपत्ताको पनि मृत्यु भएको पुष्टि भएको छ।
आरोहण व्यवस्थापन कम्पनी सेभेन समिट ट्रेक्सका महाप्रबन्धक थानेश्वर गुरागाईंका अनुसार उद्धार टोलीले खोजीका क्रममा सबैको अवस्थाबारे जानकारी संकलन गरेको थियो।
विश्वकै जोखिमपूर्ण हिमालमध्ये ब्रोड पिक
समुद्री सतहबाट ८,०५१ मिटर उचाइमा रहेको ब्रोड पिक विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये १२औँ अग्लो शिखर हो। के–टू नजिकै अवस्थित यो हिमाल मौसमको तीव्र परिवर्तन, हिमपहिरो र प्राविधिक कठिनाइका कारण विश्वका सबैभन्दा चुनौतीपूर्ण आरोहण गन्तव्यहरूमध्ये एक मानिन्छ।
अधुरै रह्यो निम्स दाइको अर्को ऐतिहासिक लक्ष्य
सन् २०१९ मा विश्वका सबै १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमाल केवल ६ महिना ६ दिनमै आरोहण गरेर कीर्तिमान बनाएका निर्मल पुर्जा यसपटक ती सबै हिमाल दोस्रो पटक सफलतापूर्वक आरोहण गर्ने अभियानमा थिए।
ब्रोड पिकपछि चीनको चो–ओयु आरोहण गर्ने योजना पूरा भएको भए उनी १४ वटै आठहजारे हिमाल दुईपटक सफलतापूर्वक आरोहण गर्ने इतिहासकै पहिलो पर्वतारोही बन्ने लक्ष्यमा थिए। अभियान सुरु गर्नुअघि उनले सामाजिक सञ्जालमार्फत आफ्नो यो महत्वाकांक्षी योजना सार्वजनिक गरेका थिए।
पुरबहादुर गुरुङ पनि कीर्तिमान नजिक
दुर्घटनामा ज्यान गुमाएका नेपाली पर्वतारोही पुरबहादुर गुरुङ ‘युक्ता’ पनि विश्वका १४ वटै आठहजारे हिमाल आरोहण गर्ने अन्तिम चरणमा पुगेका अनुभवी आरोही थिए। उनले सगरमाथाको १० पटक सफल आरोहण गरिसकेका थिए भने गत वसन्त यामसम्म १२ वटा आठहजारे हिमाल चढिसकेका थिए।
ब्रोड पिक दुर्घटनाले विश्व पर्वतारोहण समुदायलाई गम्भीर क्षति पुर्याएको छ। विशेषगरी नेपाली पर्वतारोहण क्षेत्रले अनुभव, नेतृत्व र अन्तर्राष्ट्रिय पहिचान बोकेका एकभन्दा बढी उत्कृष्ट आरोही गुमाएको छ।
