रुकुमपूर्वको ‘हरेली पूजा’ : कृषि परम्परासँगै ग्रामीण पर्यटनको मौलिक आकर्षण
रुकुमपूर्व । रुकुमपूर्वको भूमे गाउँपालिकामा मनाइने परम्परागत ‘हरेली पूजा’ धार्मिक अनुष्ठान मात्र होइन, स्थानीय कृषि संस्कृति, सामुदायिक जीवन र ग्रामीण पर्यटनको मौलिक पहिचानका रूपमा समेत स्थापित हुँदै गएको छ। धानबालीको संरक्षण, प्राकृतिक विपत्तिबाट बचाउ र समृद्धिको कामनासहित मनाइने यो पर्वले गाउँको जीवनशैलीलाई नजिकबाट बुझ्न चाहने आन्तरिक तथा विदेशी पर्यटकलाई पनि आकर्षित गर्ने सम्भावना बोकेको छ।
भूमे गाउँपालिका–३ मा पुस्तौंदेखि निरन्तर चलिआएको यो परम्परा हरेक वर्ष साउन १५ देखि २० गतेभित्र पर्ने आइतबार मनाइन्छ। असारको अन्तिम सातासम्म धान रोपाइँ सम्पन्न भएपछि किसानहरू खेतमै पुगेर सामूहिक रूपमा पूजा गर्ने चलन रहेको स्थानीय सीप सुनार बताउँछन्।
उनका अनुसार पूजाको तयारी अघिल्लो दिनदेखि नै सुरु हुन्छ। प्रत्येक किसानले आफ्नो धानखेतको बीचभागमा मिहेल (भोकर) रुखको हाँगा गाड्ने र त्यसलाई शुभ प्रतीक मानेर भोलिपल्ट बिहान पूजा गर्ने परम्परा रहिआएको छ।
हरेली पूजाको मुख्य उद्देश्य धानबालीलाई मुसा, कीरा–फट्याङ्ग्रा तथा अन्य प्राकृतिक प्रकोपबाट जोगाउने विश्वाससँग जोडिएको छ। पूजाको अघिल्लो साँझ गहुँको पिठोबाट मुसा, बिरालो, सर्प, कीरा–फट्याङ्ग्रा तथा खेतीपातीसँग सम्बन्धित विभिन्न आकृति बनाइन्छ, जसले कृषि जीवनसँग गाँसिएका विश्वास र परम्परालाई अभिव्यक्त गर्छ।
स्थानीय लिलाप्रसाद सुनारका अनुसार यी आकृतिहरूले खेती राम्रो होस्, बाली सुरक्षित रहोस् र गाउँमा समृद्धि आओस् भन्ने सामूहिक कामनाको प्रतिनिधित्व गर्छन्।
हरेली पूजा खेतमै सीमित रहँदैन। पूजा सम्पन्न भएपछि गाउँलेहरू चौतारीमा भेला भएर स्थानीय परिकारको स्वाद लिने, शुभकामना साटासाट गर्ने तथा सामूहिक नाचगान गर्ने परम्परा छ। यही अवसरमा कृषि जीवनसँग सम्बन्धित लोकगीत गाइन्छ भने पुस्तौंदेखि हस्तान्तरण हुँदै आएको सांस्कृतिक सम्पदालाई नयाँ पुस्तामा पनि हस्तान्तरण गरिन्छ।
स्थानीय युवा चन्द्रबहादुर रसाइलीका अनुसार हरेली पूजा खेतीपातीको संरक्षण मात्र नभई सामाजिक सद्भाव, पारिवारिक सुख, सन्तान प्राप्ति, वैवाहिक जीवन, शिक्षा र समृद्धिको कामनासँग पनि जोडिएको पर्व हो।
पर्यटनका जानकारहरूका अनुसार यस्ता मौलिक सांस्कृतिक परम्परालाई ग्रामीण पर्यटनसँग जोड्न सके भूमे गाउँपालिकाले नयाँ पर्यटकीय पहिचान बनाउन सक्छ। धानखेतमै हुने पूजा, स्थानीय कृषि संस्कृतिको प्रत्यक्ष अवलोकन, मौलिक परिकार, लोकनृत्य र गाउँको सामुदायिक जीवनले अनुभवमूलकर सांस्कृतिक पर्यटन खोज्ने पर्यटकका लागि आकर्षक गन्तव्य बन्ने सम्भावना देखिन्छ।
नेपालका धेरै पर्यटकीय गन्तव्य प्राकृतिक सौन्दर्यका कारण परिचित भए पनि भूमेजस्ता गाउँमा जीवित रहेका यस्ता सांस्कृतिक परम्पराले स्थानीय समुदायको जीवनशैली अनुभव गर्न चाहने पर्यटकलाई फरक आकर्षण दिन सक्छन्। स्थानीय तहले यस्ता मौलिक पर्वलाई पर्यटन प्रवर्द्धनसँग जोडेर संरक्षण र प्रचार गर्न सके रुकुमपूर्वको ग्रामीण पर्यटनले थप गति लिन सक्ने अपेक्षा गरिएको छ।
