कैलाश मानसरोवर यात्रामा रसुवागढीको आकर्षण बढ्दो, एक वर्षमै १३ हजारभन्दा बढी तीर्थयात्री
काठमाडौं, साउन १९ — नेपाल–चीन सीमा जोड्ने रसुवागढी नाका पछिल्लो समय कैलाश मानसरोवर यात्राको प्रमुख प्रवेशद्वारका रूपमा स्थापित हुँदै गएको छ। आर्थिक वर्ष २०८२/८३ मा मात्रै १३ हजार ५२३ जना धार्मिक पर्यटक यही नाका हुँदै तिब्बतस्थित पवित्र कैलाश मानसरोवर पुगेका छन्। यो संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा करिब १९ प्रतिशतले बढी हो।
अध्यागमन कार्यालय रसुवागढीका अनुसार आर्थिक वर्ष २०८१/८२ मा ११ हजार ३८७ जनाले मात्र यही मार्ग प्रयोग गरेका थिए। खर्च कम लाग्ने, सडक पहुँच सहज हुँदै जानु र यात्रा व्यवस्थापनमा सुधार आउनुले रसुवागढीमार्फत कैलाश जाने यात्रुको संख्या निरन्तर बढिरहेको देखिन्छ।
कैलाश मानसरोवर हिन्दु, बौद्ध, जैन तथा बोन धर्मावलम्बीहरूको आस्थाको केन्द्र मानिन्छ। हुम्लाको हिल्सा नाकाको तुलनामा रसुवागढी मार्ग कम खर्चिलो र तुलनात्मक रूपमा सहज भएकाले विशेषगरी भारतीय तीर्थयात्रीहरूको रोजाइमा परेको छ।
गत वर्ष ल्हेन्दे खोलाको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएपछि केही समय आवागमन प्रभावित बनेको थियो। पछि चीनतर्फबाट बेलिब्रिज निर्माण गरिएसँगै पुस महिनादेखि नाका पुनः सञ्चालनमा आएको थियो। सात महिनामात्र पूर्ण रूपमा सञ्चालनमा रहँदा पनि यात्रु संख्या उल्लेखनीय रूपमा बढ्नु पर्यटनका लागि सकारात्मक संकेत मानिएको छ।
आर्थिक वर्ष २०८२/८३ मा रसुवागढी नाका हुँदै नेपाल र चीनबीच कुल ५३ हजार ७४२ जनाले आवतजावत गरेका छन्। तीमध्ये २७ हजार २९३ जना नेपाल प्रवेश गरेका भने २६ हजार ४४९ जना बाहिरिएका छन्। अघिल्लो आर्थिक वर्षको तुलनामा नाका प्रयोग गर्ने यात्रुको संख्या २०.७४ प्रतिशतले वृद्धि भएको तथ्यांकले देखाउँछ।
राष्ट्रियताका आधारमा भारतीय यात्रु सबैभन्दा धेरै छन्। गत आर्थिक वर्षमा २४ हजार २७८ भारतीयले यो नाका प्रयोग गरेका छन्। त्यसपछि नेपाली (१० हजार २५७), चिनियाँ (६ हजार २७), अमेरिकी (४ हजार २१४), अष्ट्रेलियाली (१ हजार ५३४), रसियन (९१७), मलेसियन (९११), भुटानी (८८४), बेलायती (८१०) र क्यानेडियन (४२०) यात्रु सीमा पार गरेका छन्।
यद्यपि, कैलाश मानसरोवरबाहेक तिब्बतको ल्हासा तथा चिनियाँतर्फको एभरेष्ट बेस क्याम्प भ्रमण गर्ने पर्यटकको संख्या भने घटेको छ। गत आर्थिक वर्षमा रसुवागढी हुँदै ६२६ जना मात्र ल्हासा पुगेका छन्, जुन अघिल्लो वर्षको तुलनामा ६७.२ प्रतिशतले कम हो। त्यस्तै चिनियाँ एभरेष्ट बेस क्याम्प जाने संख्या २७६ बाट घटेर २२ जनामा सीमित भएको छ, अर्थात् करिब ९२ प्रतिशतको गिरावट।
पर्यटन व्यवसायीहरूका अनुसार धार्मिक पर्यटनको माग बढ्दै जाँदा रसुवागढी नाकाको पूर्वाधार, सेवा सुविधा र सीमा व्यवस्थापनलाई थप सुदृढ बनाउन सके नेपालले हिमालय क्षेत्रको सीमा–पर्यटनबाट अझ ठूलो आर्थिक लाभ लिन सक्ने सम्भावना छ।
