हवाई इन्धन महँगिएसँगै आन्तरिक उडानको टिकट पनि बढ्यो, कुन गन्तव्यमा कति थपियो ?
काठमाडौं । नेपाल आयल निगमले आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँले बढाएपछि त्यसको प्रत्यक्ष असर हवाई यात्रुमा परेको छ। इन्धनको मूल्य समायोजनसँगै आन्तरिक वायुसेवा कम्पनीहरूले टिकटमा समावेश हुने इन्धन अधिभार (फ्युल सरचार्ज) बढाएका छन्, जसका कारण अधिकांश गन्तव्यको हवाई यात्रा महँगिएको छ।
नयाँ व्यवस्था सोमबारदेखि लागू भइसकेको छ। अब यात्रुले टिकट खरिद गर्दा आधारभूत भाडासँगै बढेको इन्धन शुल्क पनि तिर्नुपर्नेछ। वायुसेवा कम्पनीहरूले इन्धनको मूल्य बढ्दा वा घट्दा सोहीअनुसार टिकटमा फ्युल सरचार्ज समायोजन गर्ने अभ्यास निरन्तर गर्दै आएका छन्।
यसपटक सबैभन्दा धेरै असर काठमाडौं–धनगढी उडानमा परेको छ। यो रुटमा इन्धन शुल्क मात्रै ८८० रुपैयाँले बढेको छ। धनगढी काठमाडौंबाट सबैभन्दा लामो दूरीको आन्तरिक गन्तव्य भएकाले वृद्धि पनि सबैभन्दा बढी देखिएको हो।
त्यसको विपरीत, छोटो दूरीको काठमाडौं–सिमरा उडानमा इन्धन शुल्क १८३ रुपैयाँले मात्र बढेको छ।
काठमाडौंबाट हुने अन्य प्रमुख गन्तव्यमा थपिएको इन्धन शुल्क यसप्रकार छः
- सुर्खेत – ६९० रुपैयाँ
- माउन्टेन गन्तव्यहरू – ६८८ रुपैयाँ
- नेपालगञ्ज – ६५४ रुपैयाँ
- भद्रपुर – ५६० रुपैयाँ
- विराटनगर – ४७८ रुपैयाँ
- भैरहवा – ४१० रुपैयाँ
- राजविराज – ४०५ रुपैयाँ
- तुम्लिङटार – ३६८ रुपैयाँ
- पोखरा – ३१४ रुपैयाँ
- जनकपुर – २५८ रुपैयाँ
- भरतपुर – २१२ रुपैयाँ
- सिमरा – १८३ रुपैयाँ
इन्धन शुल्कबाहेक यात्रुले तिर्ने कुल टिकट मूल्यमा आधारभूत भाडा, विमानस्थल सेवा शुल्क तथा मूल्य अभिवृद्धि कर (भ्याट) पनि समावेश हुने भएकाले अन्तिम टिकट मूल्य गन्तव्य र कम्पनीअनुसार फरक पर्छ।
हाल विभिन्न गन्तव्यका न्यूनतम–अधिकतम हवाई भाडा पनि फरक–फरक छन्। काठमाडौं–धनगढी उडानको टिकट करिब ६ हजारदेखि १० हजार रुपैयाँ, नेपालगञ्ज १,८०० देखि ७,४०० रुपैयाँ, विराटनगर १,३०० देखि ५,५०० रुपैयाँ, भद्रपुर १,७०० देखि ६,९०० रुपैयाँ र पोखरा ९०० देखि ३,६०० रुपैयाँसम्म पर्छ।
त्यस्तै जनकपुरका लागि ७००–२,९०० रुपैयाँ, भैरहवाका लागि १,१००–४,७०० रुपैयाँ, भरतपुर ६००–२,६०० रुपैयाँ, सिमरा ५००–२,००० रुपैयाँ तथा सुर्खेतका लागि ५१७–२,००० रुपैयाँसम्म टिकट दर कायम रहेको छ।
पर्यटन व्यवसायीहरूका अनुसार इन्धन मूल्यमा हुने बारम्बारको उतारचढावले हवाई यात्राको लागत बढाउने भएकाले आन्तरिक पर्यटन र व्यावसायिक यात्रामा पनि यसको प्रत्यक्ष प्रभाव पर्ने देखिएको छ।
