सम्पदा धेरै, पर्यटनमा लगानीको दिशा अझै अन्योल
टिकाराम सुनार
सुदूरपश्चिम ।हिमाल, ताल, वन्यजन्तु, धार्मिक सम्पदा र मौलिक संस्कृतिले भरिपूर्ण सुदूरपश्चिमसँग पर्यटनको ठूलो सम्भावना छ। खप्तडको हरियालीदेखि अपि–साइपालका हिमशृंखला, बडिमालिकाको धार्मिक आस्था, शुक्लाफाँटाको बाह्रसिङ्गे, रामारोशन र घोडाघोडीका तालसम्म प्रदेशले प्रकृति र संस्कृतिको विविध अनुभव पर्यटकलाई दिन सक्छ।
त्रिपुरासुन्दरी, उग्रतारा, वैद्यनाथधाम, परशुरामधाम र मल्लिकार्जुनजस्ता धार्मिक तथा ऐतिहासिक स्थल, पहाडी गाउँको मौलिक जीवनशैली, पदयात्रा, जलपर्यटन र साहसिक गतिविधिले सुदूरपश्चिमलाई फरक पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने आधार तयार गरेका छन्।
तर यति ठूलो सम्भावनाका बाबजुद प्रदेशको पर्यटन बजेटको प्राथमिकता हेर्दा भने प्रश्न उठ्ने अवस्था देखिन्छ। सरकारले पर्यटनलाई रोजगारी, उद्यम र स्थानीय अर्थतन्त्रको आधार बनाउने नीति अघि सारे पनि व्यवहारमा बजेटको ठूलो हिस्सा छरिएका भौतिक संरचना निर्माणमै केन्द्रित भएको छ।
पर्यटन बजेटको ठूलो हिस्सा धार्मिक संरचनामा
आर्थिक वर्ष २०८२/८३ मा पर्यटन क्षेत्रअन्तर्गत पूर्वाधार, रोजगारी तथा क्षमता विकास, पर्यटन प्रवर्द्धन र पर्यटकीय वस्तु तथा सेवा विस्तारका कार्यक्रमका लागि रु ४६ करोड ३० लाख विनियोजन गरिएको थियो।
तर खर्चको ठूलो हिस्सा पूर्वाधार निर्माणमा गएको देखिन्छ। मन्त्रालयअन्तर्गत २९९ पूर्वाधार योजना सञ्चालन भएकामा १७४ वटा धार्मिक संरचनासँग सम्बन्धित थिए।
यीमध्ये १३३ मन्दिर, छ क्रिश्चियन मण्डली, दुई मस्जिद, एउटा थारू देउथान मरुवा, आठ धर्मशाला, एउटा मूर्ति निर्माण र २२ धार्मिक क्षेत्रको घेरापर्खाल निर्माणका योजना थिए। धार्मिक संरचनासँग सम्बन्धित योजनामा मात्रै रु २७ करोड दुई लाख खर्च भएको तथ्यांक छ।
पूर्वाधारतर्फको खर्चमा धार्मिक संरचनाको हिस्सा ६०.२४ प्रतिशत पुगेको छ। मन्दिर निर्माणमा मात्रै रु १८ करोड ६१ लाख खर्च भएको छ, जुन कुल पर्यटन बजेटको करिब ३७ प्रतिशत हो।
धार्मिक सम्पदाको संरक्षण र विकास पर्यटनका लागि महत्वपूर्ण भए पनि त्यसबाट पर्यटकको संख्या, बसाइ अवधि, स्थानीय उत्पादनको बिक्री र रोजगारीमा कस्तो प्रतिफल आयो भन्ने प्रश्नको उत्तर खोज्नुपर्ने अवस्था छ।
पर्यटक आउने मात्र होइन, बस्ने वातावरण चाहिन्छ
पर्यटन पूर्वाधार निर्माण आवश्यक छ। तर बाटो, भवन वा घेरापर्खाल बनाएर मात्रै पर्यटन उद्योग बलियो हुँदैन।
कुनै गन्तव्यमा पुगेपछि पर्यटक कहाँ बस्छ, स्थानीय खाना खान्छ कि खाँदैन, स्थानीय उत्पादन किन्छ कि किन्दैन, स्थानीय यातायात प्रयोग गर्छ कि गर्दैन र मनोरञ्जन तथा साहसिक गतिविधिमा खर्च गर्छ कि गर्दैन भन्ने कुराले पर्यटनबाट समुदायले पाउने वास्तविक लाभ निर्धारण गर्छ।
सुदूरपश्चिममा गत वर्ष ६३ पदमार्ग योजनामा रु आठ करोड २० लाख र १८ पर्यटकीय पार्क योजनामा रु दुई करोड ९० लाख खर्च भएको थियो। यस्ता पूर्वाधारले गन्तव्यसम्म पुग्न सहज बनाए पनि त्यससँगै सेवा, प्रचार, ब्रान्डिङ, स्थानीय उद्यम र बजारको विकास नहुँदा पर्यटनको आर्थिक लाभ सीमित हुन सक्छ।
धार्मिक पर्यटनलाई रणनीतिक रूपमा विकास गर्नुपर्ने
सुदूरपश्चिमका धार्मिक सम्पदाले नेपालभित्र मात्र होइन, भारतको विशाल धार्मिक पर्यटन बजारलाई समेत आकर्षित गर्न सक्ने सम्भावना बोकेका छन्।
संस्कृतिविद् पदमराज जोशी ‘प्रभात’ले राज्यको लगानी साना धार्मिक संरचना निर्माणमा छर्नुभन्दा ठूलो पर्यटकीय सम्भावना भएका धार्मिक गन्तव्यमा केन्द्रित गर्नुपर्ने धारणा राखेका छन्।
सुदूरपश्चिमका प्रमुख धार्मिक केन्द्रलाई सडक, आवास, सूचना, सरसफाइ, सुरक्षा र पर्यटक सेवा सुविधासँग जोड्न सके भारतीय पर्यटकसमेत आकर्षित गर्न सकिने सम्भावना छ। यसबाट स्थानीय होटल, होमस्टे, यातायात, कृषि उत्पादन, हस्तकला र अन्य सेवामा प्रत्यक्ष आर्थिक गतिविधि बढ्न सक्छ।
पर्यटनको अर्को आधार : प्रकृति र साहसिक गतिविधि
सुदूरपश्चिमको पर्यटनलाई धार्मिक सम्पदामा मात्र सीमित राख्नुपर्ने अवस्था छैन। हिमाली पर्यटन, पदयात्रा, कैलाश मानसरोवर मार्गसँग जोडिने सम्भावना, कर्णाली–महाकाली–सेती नदीमा जलपर्यटन तथा समुदायमा आधारित होमस्टे प्रदेशका वैकल्पिक पर्यटन उत्पादन हुन्।
खप्तड, अपि–साइपाल, रामारोशन, शुक्लाफाँटा र घोडाघोडीजस्ता गन्तव्यलाई छुट्टाछुट्टै योजना बनाएर विकास गर्नुभन्दा एकीकृत पर्यटन सर्किटका रूपमा जोड्न सके पर्यटकको बसाइ अवधि बढाउन सकिन्छ।
उदाहरणका लागि धार्मिक पर्यटनमा आउने पर्यटकलाई प्राकृतिक तथा सांस्कृतिक गन्तव्यसम्म पुर्याउने र पदयात्राका लागि आउने पर्यटकलाई स्थानीय होमस्टे, खानपान तथा सांस्कृतिक अनुभवसँग जोड्ने रणनीति प्रभावकारी हुन सक्छ।
बजेट अब ‘संरचना’ होइन ‘पर्यटन अर्थतन्त्र’तर्फ
होमस्टे प्रवर्द्धन तथा भवन निर्माणका लागि गत वर्ष रु ५५ लाख, पर्यटन क्षेत्र संरक्षणमा रु ५० लाख, प्राकृतिक ताल संरक्षणमा रु १५ लाख र पर्यटकीय क्षेत्रमा तारजालीका लागि रु १५ लाख खर्च भएको थियो। संग्रहालय, पर्यटक सूचना केन्द्र, सार्वजनिक शौचालय र विश्रामस्थलजस्ता पर्यटक सेवासँग जोडिएका संरचनामा भने तुलनात्मक रूपमा सीमित लगानी देखिन्छ।
अबको प्राथमिकता पर्यटकले देख्ने संरचना मात्र होइन, पर्यटकले प्रयोग गर्ने सेवा र स्थानीयले कमाउने अवसर हुनुपर्ने देखिन्छ।
यसका लागि—
- प्रमुख गन्तव्यको स्पष्ट छनोट,
- पर्यटन सर्किट निर्माण,
- होमस्टे र स्थानीय उद्यम विस्तार,
- डिजिटल प्रचार तथा ब्रान्डिङ,
- स्थानीय उत्पादनको बजारीकरण,
- पर्यटक सूचना तथा सेवा केन्द्र,
- गाइड र पर्यटन जनशक्तिको क्षमता विकास,
- निजी क्षेत्रसँग साझेदारी,
- साहसिक तथा प्रकृतिमा आधारित पर्यटनको विकास
जस्ता कार्यक्रमलाई बजेटको केन्द्रमा राख्नुपर्ने देखिन्छ।
गुरुयोजनासँग बजेट जोडिनुपर्ने
सुदूरपश्चिम प्रदेशले पर्यटन ऐन र पर्यटन गुरुयोजना बनाएर पर्यटनलाई आर्थिक विकास, रोजगारी, निजी लगानी, सम्पदा संरक्षण र दिगो विकाससँग जोड्ने नीति लिएको छ। गुरुयोजनाले साहसिक, धार्मिक तथा प्रकृतिमा आधारित पर्यटनसँगै निजी क्षेत्र र स्थानीय समुदायको सहभागितालाई प्राथमिकता दिएको छ।
तर नीति र बजेटबीचको दूरी कम गर्न नसकिएसम्म गुरुयोजनाको लक्ष्य व्यवहारमा रूपान्तरण हुन कठिन हुन्छ।
प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. जीवन रानाले पनि बजेट छर्नेभन्दा दिगो, रूपान्तरणकारी, बहुवर्षीय र बहुउपयोगी क्षेत्रमा लगानी गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
यसको अर्थ अब प्रत्येक पर्यटन बजेटको प्रतिफल मापन गर्नुपर्ने हुन्छ—कति पर्यटक आए, कति दिन बसे, कति खर्च गरे, स्थानीय उत्पादनको बिक्री कति बढ्यो, कति नयाँ उद्यम खुले र कति स्थायी रोजगारी सिर्जना भयो?
सुदूरपश्चिमको पर्यटनको असली परीक्षा
गत वर्ष पर्यटन क्षेत्रका कार्यक्रमबाट एक लाख ३६ हजार ३८० जनाले तत्कालका लागि प्रत्यक्ष रोजगारी पाए पनि यस्तो रोजगारी दीर्घकालीन प्रकृतिको नभएको सरोकारवालाको भनाइ छ।
त्यसैले सुदूरपश्चिमको पर्यटन नीति अब ‘कति भवन बने?’ भन्ने प्रश्नबाट ‘कति पर्यटन अर्थतन्त्र सिर्जना भयो?’ भन्ने प्रश्नतर्फ जानुपर्ने देखिन्छ।
प्रदेशका प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदा आफैंमा ठूलो पूँजी हुन्। चुनौती भनेको ती सम्पदालाई बजार, सेवा, उद्यम र रोजगारीसँग जोड्नु हो।
पर्यटन गुरुयोजनाले देखाएको गन्तव्य विकास, समुदायको सहभागिता, निजी लगानी, स्थानीय उत्पादनको बजारीकरण र दिगो रोजगारीको बाटोमा बजेटलाई केन्द्रित गर्न सके सुदूरपश्चिमले पर्यटनलाई केवल घुम्ने क्षेत्र होइन, स्थानीय अर्थतन्त्रको प्रमुख आधार बनाउन सक्छ।
