‘गौंथली’ बन्यो दोस्रो सर्वाधिक कमाउने नेपाली फिल्म
काठमाडौं । प्रदर्शनको एक महिना पुग्न लाग्दा पनि दर्शकको आकर्षण कायमै राखेको नेपाली फिल्म ‘गौंथली’ सर्वाधिक कमाइ गर्ने नेपाली फिल्मको सूचीमा दोस्रो स्थानमा उक्लिएको छ।
साउन १ गतेदेखि प्रदर्शनमा आएको अरूण क्षेत्री र सिम्रन खड्का अभिनीत फिल्मले बिहीबार दिउँसोसम्म २१ करोड ४२ लाख २१ हजार रुपैयाँभन्दा बढी ग्रस व्यापार गरेको चलचित्र विकास बोर्डको ‘सिनेमा बक्स अफिस’ विवरणले देखाएको छ।
योसँगै ‘गौंथली’ले यसअघि दोस्रो स्थानमा रहेको कबड्डी ४ लाई पछि पारेको हो। ‘कबड्डी ४’ले २१ करोड ४० लाख रुपैयाँको व्यापार गरेको बोर्डको तथ्यांकमा उल्लेख छ। ‘गौंथली’को उक्त व्यापारका क्रममा ७ लाख ८८ हजार ७ सयभन्दा बढी टिकट बिक्री भएको बताइएको छ।
नेपाली फिल्ममध्ये सर्वाधिक कमाइको कीर्तिमान भने अझै ‘पूर्णबहादुरको सारंगी’को नाममा छ। उक्त फिल्मले ४६ करोड ८७ लाख ४१ हजार रुपैयाँ ग्रस व्यापार गरेको थियो।
‘गौंथली’ले यसअघि ‘छक्का पञ्जा’ सिरिजका विभिन्न फिल्मसहित ‘जेरी अन टप’, ‘जारी’, ‘परान’ र ‘१२ गाउँ’को व्यापारिक रेकर्डसमेत पार गरिसकेको छ।
फिल्मको प्रदर्शन गति यस्तै रहे आगामी बोर्ड अद्यावधिकमा कुल कमाइ २३ करोड रुपैयाँ नाघ्ने अनुमान गरिएको छ। बजारमा यसको प्रदर्शन निरन्तर रहे २५ करोड रुपैयाँभन्दा माथिको व्यापार गर्न सक्ने अपेक्षा गरिएको छ।
डा. कपिल रिजालको निर्देशनमा बनेको फिल्ममा अरूण क्षेत्री र सिम्रन खड्कासँगै मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना र लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको अभिनय छ।
शिक्षाको महत्व र वैवाहिक सम्बन्धलाई कथाको केन्द्रमा राखिएको फिल्मका निर्माता कपिल रिजाल र सुमन गिरी हुन्।
