देउवाको दाबी : अदालतबाट न्याय पाउनेमा विश्वस्त छु
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्रको पछिल्लो विवादमा आफूले न्याय पाउने विश्वास व्यक्त गरेका छन्।
कांग्रेस संस्थापन इतर समूहले काठमाडौंमा आयोजना गरेको राष्ट्रिय भेलाको समापन कार्यक्रममा बोल्दै देउवाले आफूहरूको सहमतिबिनै विशेष महाधिवेशन आयोजना गरिएको र त्यसक्रममा धेरै नेताकार्यकर्तालाई अन्यायपूर्ण ढंगले प्रक्रियाबाट बाहिर राखिएको आरोप लगाए।
उनका अनुसार आफूले पार्टीका सबै पक्षको सहमतिमा मात्र विशेष महाधिवेशन गर्नुपर्ने धारणा राखेका थिए। तर, आफ्नो आग्रहविपरीत जबरजस्ती विशेष महाधिवेशन गरिएपछि त्यसविरुद्ध न्यायालयको ढोका ढकढक्याउनुपरेको उनले बताए।
पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतको पूर्ण फैसला आउन बाँकी रहेको उल्लेख गर्दै देउवाले अदालतको निर्णय आफूले स्वीकार गर्ने बताए। उनले न्यायालयबाट आफूले न्याय पाउनेमा विश्वाससमेत व्यक्त गरे।
देउवाले विगतमा पनि नेपालको न्यायालयले आफूलाई न्याय दिएको स्मरण गरे। राजाको शासनकालमा आफूलाई थुनिए पनि शाही आयोग खारेज भएको र पञ्चायतकालमा समेत आफूले न्याय पाएको उनले बताए।
‘अहिले पनि न्यायालयले मलाई बचाएको छ, त्यसकै कारण म नेपालमा आइपुगेको छु,’ देउवाले भने।
पार्टीभित्रको विवादलाई न्यायालयले निष्पक्ष रूपमा टुंग्याउने विश्वास व्यक्त गर्दै उनले अदालतको अन्तिम निर्णयअघि यस विषयमा धेरै टिप्पणी नगर्ने संकेत पनि गरे।
