भारतीय सेनापछि ड्रागन फ्रुटले बदलियो घलेको जीवन
सुनसरी । लामो समय भारतीय सेनामा बिताएका कृपाश्वर घले गुरुङले अवकाशपछि रोजेको कृषि कर्म अहिले उनको मुख्य आम्दानीको स्रोत बनेको छ । सुनसरीको रामधुनीमा दुई बिघा क्षेत्रफलमा गरिएको ड्रागन फ्रुट खेतीबाट उनले वार्षिक ५५ देखि ६० लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् ।
करिब २८ वर्ष भारतीय सेनामा सेवा गरेपछि घलेले २०७४ सालमा ‘सर्जुमा ड्रागन फ्रुट कृषि फार्म’ स्थापना गरेर व्यावसायिक खेती सुरु गरेका थिए । करिब २२ वर्षअघि मलेसियाबाट ल्याइएको रातो पिङ प्रजातिको एउटा बिरुवाबाट सुरु भएको उनको प्रयोग अहिले ठूलो व्यावसायिक फार्ममा विस्तार भएको छ ।
हाल फार्ममा करिब ५०० बोट छन् । गत वर्ष २७ मेट्रिकटन ड्रागन फ्रुट उत्पादन भएकोमा यस वर्ष ३० मेट्रिकटनभन्दा बढी उत्पादन हुने घलेको अनुमान छ । उत्पादन भएको फल स्थानीय बजारसँगै काठमाडौं, पोखरा, हेटौँडा र बुटवलसम्म पुग्ने गरेको छ ।
ड्रागन फ्रुटको विशेषता धेरैपटक उत्पादन हुनु रहेको घले बताउँछन् । उनका अनुसार उपयुक्त मौसममा एउटै सिजनमा नौदेखि १० पटकसम्म फल टिप्न सकिन्छ । वैशाखदेखि फूल लाग्न सुरु हुने र जेठको अन्तिम सातादेखि कात्तिकसम्म उत्पादन हुने गरेको छ । बत्तीको प्रयोगबाट बेमौसमी उत्पादनसमेत लिन सकिने भएकाले त्यतिबेला मूल्य राम्रो पाइने उनको अनुभव छ ।
फार्मबाट फलसँगै बिरुवाको बिक्री पनि हुने गरेको छ । वार्षिक चार लाख रुपैयाँभन्दा बढीका बिरुवा बिक्री हुने उनले बताए । सामान्य समयमा ड्रागन फ्रुट प्रतिकिलो थोकमा करिब ३०० र खुद्रामा ३५० रुपैयाँमा बिक्री हुन्छ भने बेमौसममा ४५० देखि ५०० रुपैयाँसम्म मूल्य पाउने गरेको उनको भनाइ छ ।
फार्म सञ्चालन, मल, औजार र मजदुरमा वार्षिक करिब आठदेखि नौ लाख रुपैयाँ खर्च हुने गरेको छ । दुई जना स्थायी कर्मचारीसँगै उत्पादनको समयमा थप मजदुर परिचालन गरिन्छ । यसले उनको व्यवसायले स्थानीयस्तरमा रोजगारीसमेत सिर्जना गरेको छ ।
घलेका अनुसार पानी नजम्ने, खुला र अत्यधिक चिसो नहुने ठाउँ ड्रागन फ्रुटका लागि उपयुक्त हुन्छ । रोग तथा फङ्गसको जोखिम रहे पनि नियमित निगरानी र उचित व्यवस्थापनबाट उत्पादन जोगाउन सकिने उनको अनुभव छ ।
ड्रागन फ्रुट खेतीमा सफल भएपछि घलेले कृषि व्यवसायलाई वैदेशिक रोजगारीको विकल्पका रूपमा हेर्न युवालाई सुझाव दिँदै आएका छन् । उनका अनुसार सुरुआती मेहनत र लगानीपछि नियमित आम्दानी लिन सकिने भएकाले विदेश जान चाहने युवाका लागि व्यावसायिक कृषि आकर्षक विकल्प बन्न सक्छ ।
घलेको सफलतासँगै रामधुनी–७ मा पनि ड्रागन फ्रुट खेतीप्रति स्थानीयको आकर्षण बढेको छ । हाल त्यहाँ एक दर्जनभन्दा बढी घरधुरी यस खेतीमा संलग्न छन् । उत्कृष्ट किसानका रूपमा घलेले विभिन्न संघसंस्थाबाट एक दर्जनभन्दा बढी सम्मानसमेत प्राप्त गरिसकेका छन् ।
उनको कथा विदेशमा लामो समय श्रम गरेका नेपालीले स्वदेश फर्किएपछि सीप, अनुभव र पूँजीलाई कृषि उद्यममा रूपान्तरण गर्न सके रोजगारी खोज्ने मात्र होइन, रोजगारी सिर्जना गर्ने उद्यमीसमेत बन्न सकिन्छ भन्ने उदाहरण बनेको छ ।
