नेपालका बाढीपीडितप्रति बार्सिलोनाको ऐक्यबद्धता
काठमाडौं— रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट ज्यान गुमाएका तथा प्रभावित भएकाहरूको सम्झनामा स्पेनिस फुटबल क्लब बार्सिलोनाले एक मिनेट मौनधारण गरेको छ।
घरेलु मैदानमा एथ्लेटिक क्लबसँगको खेल सुरु हुनुअघि दुवै टोलीका खेलाडी मैदानमा उभिएर बाढीमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा घाइते र प्रभावितप्रति ऐक्यबद्धता जनाएका हुन्।
बार्सिलोनाले सामाजिक सञ्जालमार्फत मौनधारणको जानकारी दिँदै नेपाल र चीनको सीमावर्ती क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा घाइतेहरूको सम्झनामा यो कार्यक्रम गरिएको जनाएको छ। क्लबले यसअघि पनि नेपालमा आएको बाढीप्रति दुःख व्यक्त गर्दै प्रभावित नेपालीप्रति ऐक्यबद्धता जनाएको थियो।
विश्व खेलकुदबाट नेपालको दुःखमा साथ
नेपालमा आएको बाढी र त्यसले निम्त्याएको मानवीय क्षतिप्रति अन्तर्राष्ट्रिय खेलकुद क्षेत्रबाट समेत सहानुभूति व्यक्त हुन थालेको छ।
स्पेनका अन्य क्लब एट्लेटिको मड्रिड लगायतले पनि सामाजिक सञ्जालमार्फत नेपालका बाढीपीडितप्रति दुःख व्यक्त गरेका छन्।
त्यस्तै, भारतका चर्चित क्रिकेट क्लब तथा आईपीएल टोली कोलकाता नाइट राइडर्स, रोयल च्यालेन्जर्स बेंगलुरु र चेन्नई सुपर किङ्सले पनि नेपालमा आएको विपद्प्रति यसअघि नै ऐक्यबद्धता जनाएका थिए।
छिमेकी भुटानका पारो एफसी र थिम्पु सिटीले समेत नेपाली बाढीपीडितप्रति समर्थन जनाएका छन्। हाल भुटानमा नेपालका एक दर्जनभन्दा बढी महिला फुटबल खेलाडी खेलिरहेका छन्।
रसुवाको भोटेकोशीमा आएको बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएपछि नेपालमा उद्धार, बेपत्ताको खोजी र राहत वितरण जारी छ। यस्तो अवस्थामा विश्व खेलकुदका चर्चित क्लब र टोलीबाट आएको समर्थनले विपद्मा परेका नेपालीप्रति अन्तर्राष्ट्रिय चासो र ऐक्यबद्धता पनि देखाएको छ।
