भोटेकोशी बाढीमा अस्ट्रेलियाको साथ : ‘नेपालले यो पीडा एक्लै बोक्नुपर्दैन’
काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट नेपालमा भएको मानवीय क्षतिप्रति अस्ट्रेलियाले गहिरो दुःख व्यक्त गर्दै नेपाललाई संकटको यो घडीमा आफूहरू साथमा रहेको जनाएको छ।
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले संसदमा सम्बोधन गर्दै बाढीबाट प्रभावित नेपालीप्रति ऐक्यबद्धता र समवेदना व्यक्त गरेका हुन्। उनले विपद्बाट प्रभावित परिवार र समुदायप्रति अस्ट्रेलियाको समर्थन रहेको बताए।
अगस्ट २६ मा हिमनदी भत्किएपछि आएको आकस्मिक बाढीले नेपाल–चीन सीमाको दुवैतर्फ ठूलो क्षति पुर्याएको र त्यसको सबैभन्दा गम्भीर प्रभाव नेपालमा परेको अल्बानिजले उल्लेख गरे।
बाढीका कारण धेरै नेपालीले आफन्त, घर, गाउँ र जीविकोपार्जन गुमाउनुपरेको भन्दै उनले विपद्को पीडा निकै गहिरो रहेको बताए।
प्रधानमन्त्री अल्बानिजले आफूले शुक्रबार नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँग टेलिफोन कुराकानी गरेको जानकारी दिँदै बाढी प्रभावित नेपालीप्रति अस्ट्रेलियाको तर्फबाट समवेदना व्यक्त गरेको बताए।
‘आज नेपाल राष्ट्रिय शोकमा छ। नेपाली साथीहरूले यो भार एक्लै बोक्नुपर्दैन। हाम्रो विचार उनीहरू र विपद्बाट प्रभावित सबैसँग छ,’ उनले संसदमा भने।
३६ अस्ट्रेलियाली अझै सम्पर्कविहीन
भोटेकोशी बाढीपछि ३६ जना अस्ट्रेलियाली नागरिक अझै सम्पर्कविहीन रहेको पनि अल्बानिजले संसदलाई जानकारी गराए।
बेपत्ता अस्ट्रेलियाली नागरिकका परिवार तथा साथीहरूसँग सम्पूर्ण अस्ट्रेलियाली जनता रहेको उल्लेख गर्दै उनले उनीहरूको सकुशल उद्धारका लागि प्रार्थना गर्न नागरिकहरूलाई आग्रह गरे।
विपद् प्रभावितका लागि सञ्चालन गरिएको आपत्कालीन सहयोग अभियानमा आर्थिक योगदान गर्ने अस्ट्रेलियाली नागरिकप्रति पनि उनले धन्यवाद व्यक्त गरे।
संकटका बेला प्राप्त सहयोगले मानवता र एकअर्कालाई साथ दिने साझा प्रतिबद्धता देखाएको उनको भनाइ थियो।
‘हामीले सामना गर्ने चुनौती जति ठूलो भए पनि मानवताको साझा भावनासहित मिलेर त्यसको सामना गर्छौं,’ अल्बानिजले भने।
