देवीघाटमा एक्रोब्रिज सञ्चालनमा, सवारी आवागमन सहज
नुवाकोट — भोटेकोशी नदीमा आएको बाढीले बगाएको नुवाकोटको देवीघाटस्थित तादी खोलाको पुलको विकल्पमा नेपाली सेनाले निर्माण गरेको एक्रोब्रिज सञ्चालनमा आएको छ। बिहीबार साँझदेखि पुलबाट सबै प्रकारका सवारीसाधन आवतजावत गर्न थालेका छन्।
भदौ १० गतेको बाढीले विदुर र बेलकोटगढी नगरपालिका जोड्ने पुल बगाएपछि स्थानीयवासीसँगै नुवाकोट, धादिङ र रसुवागढीबीचको महत्वपूर्ण सडक सम्पर्क प्रभावित भएको थियो। पुल भत्किएपछि स्थानीयलाई आवतजावतमा निकै कठिनाइ भएको थियो भने लामो दूरीको घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता थियो।
बाढीपछि सरकारले देवीघाटमा वैकल्पिक पुल निर्माणलाई प्राथमिकतामा राखेको थियो। सोहीअनुसार नेपाली सेनाले ५७.९ मिटर लामो एक्रोब्रिज छोटो अवधिमै तयार पारेको हो।
नेपाली सेनाका अनुसार पुल निर्माणमा ५५ जना प्राविधिक जनशक्ति खटिएका थिए। देवीघाटमा भदौ २० गतेदेखि काम सुरु गरिएको भए पनि वास्तविक निर्माण अवधि करिब ७२ घण्टा मात्र रहेको सेनाका रथी रञ्जित थापाले बताए।
उनका अनुसार विदुर र गल्छी क्षेत्रलाई जोड्ने महत्वपूर्ण मार्ग भएकाले पुल निर्माणलाई तीव्र गतिमा अघि बढाइएको थियो।
घुमाउरो बाटोको बाध्यता हट्यो
पुल सञ्चालनमा आएपछि स्थानीयवासीलाई दैनिक आवतजावतमा ठूलो राहत मिलेको छ। बेलकोटगढी नगरपालिका–८ जिलिङका सौगात पुडासैनीले पुल नहुँदा घर पुग्न दुईदेखि तीन घण्टासम्म लाग्ने गरेकोमा अहिले करिब २५ मिनेटमै पुग्न सकिने बताए।
उनले बाढीका कारण गाउँघरबीचको सम्पर्कसमेत कठिन बनेको अवस्थामा छोटो समयमै पुल तयार भएपछि स्थानीयमा आशा जागेको बताए।
त्यस्तै, सोही वडाको ढुङ्गानेगाउँका मनोज तामाङले पनि पुल सञ्चालनमा आएपछि घर आउजाउ सहज भएको बताए। बाढीले पुल बगाउँदा ठूलो क्षति महसुस भए पनि नयाँ पुल बनेपछि राहतको अनुभूति भएको उनको भनाइ छ।
पृथ्वीराजमार्गसँग पुनः जोडियो सम्पर्क
विदुर नगरपालिका प्रमुख राजन श्रेष्ठले नेपाली सेनाको तीव्र कामका कारण छोटो समयमै पुल सञ्चालनमा आएको बताए। उनका अनुसार पुल बनेसँगै पृथ्वीराजमार्गसँग टुटेको सडक सम्पर्क पुनः स्थापित भएको छ।
नगरपालिकाले पुल निर्माणका क्रममा आवश्यक समन्वय र सहकार्य गरेको उनले जानकारी दिए।
नेपाली सेनाको १४ नम्बर बाहिनी अड्डाअन्तर्गतको ब्रिजिङ युनिटले पुल जडान गरेको हो। सेनाको १४ नम्बर बाहिनीका बाहिनीपति जगदीश खड्काका अनुसार देवीघाटमा जडान गरिएको एक्रोब्रिज यसअघि गजुरीमा रणनीतिक प्रयोजनका लागि भण्डारण गरेर राखिएको थियो।
गजुरीबाट पुल ल्याएर तादी खोलामा आवश्यक संरचना मिलाई सञ्चालनमा ल्याइएको उनले बताए।
६० टन भारवहन क्षमता
गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजना, विदुरका योजना प्रमुख कृष्णनाथ ओझाका अनुसार बाढीले पुरानो पुलको करिब ५५ मिटर लामो बक्सगर्डर संरचना भत्काएपछि त्यस ठाउँमा एक्रोब्रिज जडान गर्न सहज भएको हो।
उनका अनुसार रातोमाटे क्षेत्रमा बाँकी रहेको सडक कटिङ तथा मर्मतको काम पनि पूरा गरी सडकलाई पूर्ण रूपमा सहज बनाउने तयारी भइरहेको छ।
नेपाली सेनाका प्रमुख सेनानी करुणबहादुर थापाका अनुसार अमेरिकी प्रविधिमा आधारित एक्रोब्रिज बलियो र उच्च भारवहन क्षमताको हुन्छ। देवीघाटमा जडान गरिएको पुलले ६० टनसम्म भार थेग्न सक्ने उनले बताए।
