सांसद सुनारका अभिव्यक्ति संसदको अभिलेखबाट हटाउन सभामुखको निर्देशन
काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले प्रतिनिधिसभामा नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई लक्षित गर्दै व्यक्त गरेका केही अभिव्यक्ति संसदको आधिकारिक अभिलेखबाट हटाइने भएको छ।
भदौ २६ गतेको प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्ने क्रममा सांसद सुनारले प्रहरी महानिरीक्षक कार्कीविरुद्ध विभिन्न आरोप लगाएका थिए। उनले प्रयोग गरेका केही शब्द संसदीय मर्यादाअनुकूल नभएको भन्दै सभामुख डीपी अर्यालले ती अंश अभिलेखबाट हटाउन निर्देशन दिएका हुन्।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अर्यालले भदौ २६ गते सुनारले बोलेका शब्दमध्ये ‘कहिलेपनि’ देखि ‘आरोप गम्भीर हुन्छ’ सम्मको बीचमा रहेका शब्दावली अभिलेखबाट हटाउन संसद् सचिवालयलाई निर्देशन दिए।
सभामुखले उक्त अंशलाई संसदीय मर्यादाविपरीतको अभिव्यक्तिका रूपमा उल्लेख गर्दै अभिलेखबाट हटाउन निर्देशन दिएको जनाएका छन्।
सांसद सुनारले पछिल्लो समय प्रहरी महानिरीक्षक कार्कीको कार्यसम्पादनलाई लिएर प्रतिनिधिसभा तथा संसदीय समितिका बैठकमा समेत प्रश्न उठाउँदै आएका छन्। उनले कार्कीलाई महानिरीक्षक पदबाट हटाउनुपर्ने मागसमेत गर्दै आएका छन्।
