रसुवागढी बन्द हुँदा तातोपानी र हिल्सा हुँदै नेपाल भित्रिने यात्रु बढे
काठमाडौं । रसुवागढी नाका अवरुद्ध भएपछि नेपाल–चीन आवतजावतका लागि सिन्धुपाल्चोकको तातोपानी र हुम्लाको हिल्सा नाका वैकल्पिक मार्गका रूपमा प्रयोग हुन थालेका छन्।
भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण रसुवागढी नाकामा क्षति पुगेपछि चीनको तिब्बतबाट नेपाल फर्किने यात्रुले तातोपानी र हिल्सा नाका प्रयोग गर्न थालेका हुन्।
अध्यागमन विभागका अनुसार भदौ १० देखि २९ गतेसम्म तातोपानी नाका भएर ३ हजार ९०४ जना यात्रु नेपाल प्रवेश गरेका छन्। प्रवेश गर्नेमा १ हजार ७३३ जना महिला छन्। यही अवधिमा तातोपानी हुँदै ३९१ जना चीनतर्फ प्रस्थान गरेका छन्।
हिल्सा नाकाबाट पनि यात्रुको आवतजावत भएको छ। उक्त अवधिमा ३८७ जना यात्रु नेपाल प्रवेश गरेका छन् भने १७८ जना चीनतर्फ गएका छन्। हिल्सा हुँदै नेपाल भित्रिएकामध्ये १६५ जना यसअघि रसुवागढीबाट चीन प्रवेश गरेका यात्रु रहेको विभागले जनाएको छ।
अध्यागमन विभागका प्रवक्ता एवं निर्देशक टीकाराम ढकालका अनुसार तिब्बतको कैलाश–मानसरोवर यात्रा तथा अन्य पर्यटकीय भ्रमणका लागि चीन पुगेका यात्रुहरू रसुवागढी नाका बन्द भएपछि तातोपानी र हिल्साबाट नेपाल फर्किएका हुन्।
यी दुई नाकाबाट आवतजावत गर्ने विदेशी नागरिकमा भारतीय, बेलायती र अमेरिकी नागरिकको संख्या बढी रहेको विभागले जनाएको छ।
रसुवागढी नाकामा आएको अवरोधका कारण नेपाल–चीन सीमापार आवागमनमा वैकल्पिक नाकाको महत्त्व पनि देखिएको छ। विशेषगरी धार्मिक तथा पर्यटकीय यात्राका लागि तातोपानी र हिल्सा नाकाले तत्कालीन अवस्थामा रसुवागढीको विकल्प प्रदान गरेका छन्।
