मनाङको हिमतालबाट मर्स्याङ्दी करिडोरसम्म बाढीको जोखिम
लमजुङ — मनाङमा रहेको डोना (थुलागी) हिमतालको जोखिमले मर्स्याङ्दी नदीको तल्लो तटीय क्षेत्रमा समेत सम्भावित विपद्को चिन्ता बढाएको छ। हिमताल विस्फोट भएर ठूलो बाढी आएमा त्यसको असर मनाङ हुँदै लमजुङ, गोरखा र तनहुँसम्म पर्न सक्ने भएकाले जोखिमको पुनःमूल्याङ्कन र पूर्वतयारी आवश्यक देखिएको छ।
मनाङको नासो गाउँपालिका–२ मा रहेको डोना हिमताललाई विगतदेखि नै सम्भावित जोखिमयुक्त हिमतालका रूपमा पहिचान गरिएको छ। विभिन्न अध्ययनले तालको क्षेत्रफल करिब ०.९ वर्गकिलोमिटर रहेको देखाएका छन् भने सन् २०१७ को सर्वेक्षणमा यसको अधिकतम गहिराइ ७६ मिटर मापन गरिएको थियो।
तर ती अध्ययन पुराना भइसकेकाले तालको वर्तमान अवस्था पुनः अध्ययन गर्नुपर्ने आवश्यकता देखिएको छ। पछिल्लो समय तालको क्षेत्रफल, पानीको मात्रा, हिमनदीको अवस्था तथा आसपासको भौगोलिक संरचनामा आएको परिवर्तनबारे स्थलगत अध्ययन हुन सकेको छैन।
नासो गाउँपालिका–२ का वडाध्यक्ष रवि गुरुङले ताल जोखिमयुक्त भए पनि तत्कालै विस्फोट हुने अवस्था नरहेको बताए। उनका अनुसार तालको आकार भने विगतको तुलनामा परिवर्तन हुँदै गएको छ।
‘ताल जोखिममा छ, अहिलेसम्म केही भएको छैन। आकार पहिलाको भन्दा फरक हुँदै ठूलो भइरहेको छ,’ उनले भने।
तालको जोखिम घटाउन गाउँपालिकाले पहल गरिरहेको भए पनि आवश्यक संरक्षण तथा व्यवस्थापनका लागि ठूलो रकम चाहिने उनको भनाइ छ। यसका लागि प्रदेश र संघीय सरकारसँग सहयोग मागिएको तथा स्थानीय बासिन्दालाई सम्भावित जोखिमबारे जानकारी गराउने काम भइरहेको उनले बताए।
मनास्लु हिमालको फेदीमा रहेको डोना ताल पर्यटकीय आकर्षणसमेत बनेको छ। वडाध्यक्ष गुरुङका अनुसार विदेशी र नेपाली गरी वर्षमा करिब २०० पर्यटक ताल क्षेत्रमा पुग्ने गरेका छन्।
‘जोखिम छ, तर कहिले हुन्छ भन्न सकिँदैन’
मनाङका प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालले डोना हिमतालको जोखिम न्यूनीकरणका लागि थप अध्ययन र आवश्यक पहल तत्काल अघि बढाउनुपर्ने बताए।
उनका अनुसार तालमा बालुवा र माटो जम्मा हुँदै जानु पनि चिन्ताको विषय हो।
‘ताल तत्काल फुट्छ भन्न सकिँदैन, तर तत्काल फुट्दैन भन्न सकिने अवस्था पनि छैन। जुनसुकै बेला जोखिम हुनसक्छ,’ उनले भने।
जिल्लामा सामान्य विपद् प्रतिकार्यको तयारी भए पनि ठूलो आकारको हिमताल विस्फोटबाट बाढी आए त्यसलाई नियन्त्रण तथा व्यवस्थापन गर्ने स्रोतसाधन सीमित रहेको उनले बताए।
जोखिम न्यूनीकरणका लागि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग पहल गरिएको र जिल्लास्तरीय बैठकबाट पनि आवश्यक निर्णय गरिएको उनले जानकारी दिए।
ताल विस्फोट भए मनाङका बस्ती हुँदै मर्स्याङ्दी नदीको बहाव क्षेत्रका तल्लो जिल्लासम्म असर पुग्न सक्ने उनको भनाइ छ। त्यसबाट बस्ती, सडक, जलविद्युत् आयोजना र अन्य पूर्वाधारमा क्षति पुग्न सक्ने भएकाले पूर्वसूचना र समयमै उद्धारको व्यवस्था महत्वपूर्ण हुने उनले बताए।
प्रजिअ खनालका अनुसार लालुपाते हाइड्रोपावरले डोना ताल आसपास जलविद्युत् आयोजना निर्माणको प्रक्रिया अघि बढाइरहेको छ। तालको पानी उपयोग गर्ने विषयमा समेत अध्ययन भइरहेको उनले बताए। त्यसैले हिमतालको जोखिमसँगै त्यहाँ निर्माण वा प्रस्तावित संरचनाको सुरक्षालाई समेत ध्यान दिनुपर्ने उनको भनाइ छ।
नियमित अनुगमनमा जोड
हिमतालका जानकार सुदन विकास महर्जनले डोना हिमतालको आकार र जोखिमको वर्तमान अवस्था स्थलगत अध्ययनबिना यकिन गर्न नसकिने बताए।
उनका अनुसार जोखिमयुक्त हिमतालको नियमित अनुगमन आवश्यक हुन्छ र सामान्यतः दुई–तीन वर्षको अन्तरालमा स्थलगत निरीक्षण गरिनुपर्छ।
सरकारले डोना लगायत जोखिमयुक्त हिमतालको पुनः निरीक्षण गरी जोखिमको स्तर निर्धारण तथा न्यूनीकरणका उपाय अघि बढाउनुपर्ने उनले बताए।
लमजुङका तल्लो क्षेत्र पनि जोखिममा
मर्स्याङ्दी नदी मनाङबाट लमजुङ हुँदै गोरखा र तनहुँतर्फ बगेर त्रिशूली नदीमा मिसिन्छ। त्यसैले डोना हिमतालबाट उत्पन्न हुन सक्ने बाढीको जोखिमलाई मनाङमा मात्र सीमित गरेर हेर्न नहुने विज्ञ तथा स्थानीय अधिकारीहरूको भनाइ छ।
लमजुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालले डोना हिमतालका कारण मर्स्याङ्दी नदीमा ठूलो बाढी आए जिल्लाका तल्लो तटीय क्षेत्र प्रभावित हुन सक्ने बताए।
उनका अनुसार सुन्दरबजार आसपासका तल्लो भूभाग, बेँसीसहरका केही क्षेत्र तथा मर्स्याङ्दी करिडोरमा रहेका जलविद्युत् आयोजनासमेत जोखिममा पर्न सक्छन्।
‘मनाङ र लमजुङ बढी जोखिममा पर्न सक्ने क्षेत्र हुन्। ताल फुट्छ वा फुट्दैन भनेर अहिले नै निश्चित भन्न सकिने अवस्था छैन,’ उनले भने।
ठूलो स्तरको विपद् आए अहिले उपलब्ध स्रोतसाधनले त्यसको सामना गर्न कठिन हुनसक्ने उनले बताए। त्यसैले पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउने, सम्भावित बाढी प्रभावित क्षेत्र पहिचान गर्ने र मानवीय क्षति रोक्न आवश्यक तयारीमा जोड दिइएको उनको भनाइ छ।
हिमतालबाट उत्पन्न हुन सक्ने बाढीलाई पूर्ण रूपमा रोक्न नसकिए पनि जोखिमको नियमित मूल्याङ्कन, तालको अनुगमन, पूर्वसूचना प्रणाली, सम्भावित बहाव क्षेत्रको पहिचान तथा स्थानीय तह र सुरक्षा निकायबीचको समन्वयबाट क्षति घटाउन सकिन्छ।
मर्स्याङ्दी नदी करिडोरमा बस्तीका साथै सडक, पुल, जलविद्युत् आयोजना र अन्य महत्वपूर्ण पूर्वाधार रहेकाले डोना हिमतालको जोखिमलाई हिमाली क्षेत्रको मात्र समस्या नमान्दै यसको सम्भावित प्रभावलाई तल्लो तटीय क्षेत्रको विपद् व्यवस्थापन योजनासँग जोडेर हेर्नुपर्ने देखिएको छ।
