तमोरको बगरमा फस्टाउँदै ड्रागन फ्रुट, बाँझो जमिनबाट लाखौँको आम्दानी
धनकुटा । सामान्यतया खेतीका लागि अनुपयुक्त मानिने तमोर नदीको बलौटे बगर अहिले व्यावसायिक कृषिको नमुना बन्दै गएको छ। धनकुटा नगरपालिका–९ छिम्सुवाका किशोर भण्डारीले बालुवा र ढुंगाले भरिएको जमिनलाई सदुपयोग गर्दै ड्रागन फ्रुटसहित विभिन्न फलफूल तथा तरकारीको व्यावसायिक खेती सुरु गरेका छन्।
करिब तीन वर्षअघि पाँच रोपनी बगरमा ३०० वटा ड्रागन फ्रुटका बिरुवा रोपेर सुरु भएको उनको कृषि यात्रा अहिले करिब नौ रोपनी क्षेत्रफलमा फैलिएको छ। सुक्खा र बलौटे जमिनमा समेत उत्पादन लिन सकिने सम्भावना देखेपछि उनले ड्रागन फ्रुटलाई पहिलो रोजाइ बनाएका थिए।
सुरुआती चरणमा नयाँ बाली भएकाले उत्पादन र बजार दुवै चुनौतीपूर्ण थियो। तर फल उत्पादन हुन थालेपछि माग बढ्दै गयो। राम्रो मूल्य पाउन थालेपछि भण्डारीले खेती विस्तार गर्दै लगे। अहिले ग्राहक तथा व्यापारीहरू बगानमै पुगेर ड्रागन फ्रुट खरिद गर्ने गरेका छन्।
उनका अनुसार केही समयअघि ड्रागन फ्रुट प्रतिकिलो ५०० रुपैयाँसम्म बिक्री भएको थियो। अहिले बजार र सिजनअनुसार प्रतिकिलो २५० देखि ३०० रुपैयाँसम्म मूल्य पाउने गरेका छन्।
एउटै बालीमा निर्भर छैनन् भण्डारी
ड्रागन फ्रुटबाट उत्साहित भएपछि भण्डारीले एउटै बालीमा मात्र निर्भर नहुने रणनीति अपनाएका छन्। जमिनको प्रकृति, हावापानी र बजारलाई ध्यानमा राख्दै उनले विभिन्न फलफूल तथा तरकारी खेती विस्तार गरेका छन्।
हाल करिब पाँच रोपनीमा ५०० वटा एप्पल बयरका बोट लगाइएको छ। त्यस्तै, करिब १५ रोपनीमा स्थानीय मालभोग जातको केरा खेती गरिएको छ। यस वर्ष जी–नाइन जातको केरालाई परीक्षणका रूपमा लगाइएको छ।
म्याकाडेमिया, आँप, एभोकाडो र टमाटरसमेत उनको कृषि उद्यममा समेटिएका छन्। फरक समयमा उत्पादन हुने बालीलाई प्राथमिकता दिँदा वर्षभरि आम्दानीको स्रोत कायम राख्न सकिने उनको विश्वास छ।
‘एउटै बालीमा समस्या आयो भने आम्दानीमै असर पर्छ। त्यसैले विभिन्न बाली लगाएर जोखिम घटाउने प्रयास गरेको हुँ,’ भण्डारीको भनाइ छ।
ड्रागन फ्रुटले बदल्यो सोच
भण्डारीका लागि ड्रागन फ्रुट केवल एउटा फलफूलको खेती मात्र रहेन, व्यावसायिक कृषिमा प्रवेश गर्ने आधार पनि बन्यो। उत्पादनले राम्रो बजार पाएपछि उनले अन्य बालीमा समेत लगानी बढाएका हुन्।
परम्परागत खेतीबाट अपेक्षित आम्दानी लिन कठिन भइरहेको अवस्थामा वैकल्पिक बालीमार्फत कम उर्वर जमिनबाट समेत राम्रो आम्दानी लिन सकिने उनको अनुभव छ।
धनकुटाका सुक्खा तथा कम पानी उपलब्ध हुने क्षेत्रमा पनि पछिल्लो समय ड्रागन फ्रुट खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ। धनकुटा नगरपालिका र साँगुरीगढी गाउँपालिकाका विभिन्न क्षेत्रमा यसको खेती विस्तार हुन थालेको छ।
कृषि ज्ञान केन्द्र धनकुटाका अनुसार जमिनको अवस्था र स्थानीय हावापानीअनुसार प्रविधि प्रयोग गर्न सके कम पानी हुने क्षेत्रमा पनि ड्रागन फ्रुटको व्यावसायिक खेती सम्भव छ।
केन्द्रका प्रमुख नगेन्द्र रानामगरले व्यावसायिक कृषि गर्ने किसानलाई प्राविधिक सहयोग र परामर्श उपलब्ध गराउँदै आएको बताए। चालु आर्थिक वर्षमा अनुदानका कार्यक्रम सञ्चालन गर्ने तयारीसमेत भइरहेको उनको भनाइ छ।
सिँचाइ बनेको मुख्य आधार
तमोरको बगरमा खेती गर्दा भण्डारीले सामना गरेको प्रमुख चुनौती सिँचाइ हो। बलौटे जमिनमा पानी लामो समय टिक्न नसक्ने भएकाले नियमित सिँचाइको व्यवस्था आवश्यक पर्छ।
यसका लागि संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)को आर्थिक सहयोग तथा पर्डेप नेपाल धनकुटाको प्राविधिक सहयोगमा सिँचाइ पोखरी निर्माण गरिएको छ। पोखरी बनेपछि खेतीका लागि आवश्यक पानी व्यवस्थापन गर्न सहज भएको छ।
सिँचाइको सुविधा र कृषि प्रविधिको प्रयोगसँगै बगरको जमिनमा उत्पादन सम्भव भएको भण्डारीको अनुभव छ।
वार्षिक १५ लाखभन्दा बढी आम्दानी
भण्डारीका अनुसार अहिले विभिन्न कृषि उत्पादनबाट वार्षिक १५ लाख रुपैयाँभन्दा बढी आम्दानी भइरहेको छ। नयाँ लगाइएका एप्पल बयर, म्याकाडेमिया, एभोकाडोलगायतका बोटले पूर्ण उत्पादन दिन थालेपछि आम्दानी अझ बढ्ने उनको अपेक्षा छ।
उनको कृषि उद्यमले स्थानीयस्तरमा रोजगारीको अवसरसमेत सिर्जना गरेको छ। खेतीको क्षेत्रफल बढेसँगै स्थानीय कामदारको आवश्यकता पनि बढिरहेको छ।
अबको लक्ष्य भने अझ ठूलो छ। आगामी दुईदेखि चार वर्षभित्र कृषि व्यवसायको वार्षिक कारोबार दुईदेखि चार करोड रुपैयाँसम्म पुर्याउने भण्डारीको योजना छ।
त्यसका लागि अहिले विभिन्न जातका फलफूल र तरकारीको परीक्षण, उत्पादन विस्तार तथा बजार खोजीलाई सँगसँगै अघि बढाइरहेका छन्।
