कांग्रेस कार्यालयमा खड्का र कोइरालाका लागि वरिष्ठ नेताको हैसियतमा छुट्टाछुट्टै कार्यकक्ष
काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी नभएका पूर्वउपसभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइरालाका लागि पार्टीको सानेपा कार्यालयमा छुट्टाछुट्टै कार्यकक्षको व्यवस्था गरेको छ।
सभापति गगनकुमार थापाको पहलमा दुवै नेताका लागि वरिष्ठ नेताका रूपमा पार्टी कार्यालय आउँदा प्रयोग गर्न मिल्ने गरी कोठा छुट्याइएको बताइएको छ।
स्रोतका अनुसार उपसभापति मधु आचार्यको कार्यकक्षअगाडि रहेका दुईवटा कोठा खड्का र कोइरालाका लागि छुट्याइएको हो। ती कोठामा यसअघि १४औँ महाधिवेशनबाट निर्वाचित सहमहामन्त्रीहरूले काम गर्दै आएका थिए।
१५औँ महाधिवेशनपछि सहमहामन्त्रीका लागि नयाँ कार्यकक्षको व्यवस्था गरिएपछि पुराना कोठा वरिष्ठ नेताहरूका लागि प्रयोग गर्ने निर्णय भएको कांग्रेसका एक सहमहामन्त्रीले बताए।
‘पार्टीका पुराना शीर्ष नेताहरू कार्यालय आउँदा सहज रूपमा बस्न र काम गर्न सकून् भनेर कोठा छुट्याइएको हो,’ ती सहमहामन्त्रीले भने।
यसअघि ती कार्यकक्षमा बस्दै आएका सहमहामन्त्रीहरूका लागि पार्टी कार्यालयको लाइब्रेरी हलमा नयाँ व्यवस्था गरिएको छ। दुई सहमहामन्त्रीले पुरानै कोठालाई आफ्नो कार्यकक्ष बनाउन इच्छा देखाए पनि कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले ती कोठा वरिष्ठ नेताहरूका लागि राखिएको जानकारी गराएका थिए।
कांग्रेसभित्र १५औँ महाधिवेशनमा सहभागी नभएका खड्का र कोइरालालाई पार्टी संरचनामा कसरी समेट्ने भन्ने विषयमा समेत चासो रहँदै आएको छ। यही सन्दर्भमा उनीहरूका लागि कार्यालयमा छुट्टै स्थानको व्यवस्था गरिएको हो।
यद्यपि उपसभापति मधु आचार्यले भने कार्यकक्ष औपचारिक रूपमा तयार भइसकेको दाबी गरेका छैनन्। उनले पार्टीभित्र एकता कायम राख्दै सबै पक्षलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको बताए।
‘राजनीतिक रूपमा सहमति बनेपछि कार्यकक्षको विषय तत्काल मिलाउन सकिन्छ,’ आचार्यले भने, ‘उहाँहरू आउँदा हामी बसेको ठाउँ छोडेर पनि स्वागत गर्न तयार छौँ।’
उनका अनुसार खड्का र कोइरालासँग राजनीतिक संवादसमेत जारी छ। पार्टीभित्रको एकता कमजोर हुन नदिई सबैलाई समेटेर अघि बढ्नुपर्नेमा नेतृत्व सकारात्मक रहेको उनको भनाइ छ।
यसअघि १४औँ महाधिवेशन सम्पन्न भएको करिब एक वर्षपछि तत्कालीन सभापति शेरबहादुर देउवाले डा. शेखर कोइरालाका लागि पार्टी कार्यालयमा छुट्टै कार्यकक्षको व्यवस्था गरेका थिए। यद्यपि कोइरालाले उक्त कार्यकक्ष नियमित रूपमा प्रयोग गरेका थिएनन्।
