मंसिरमा पनि निक्षेपको ब्याजदर ओरालो, सानिमाले दिँदैछ सबैभन्दा बढी ४.५ प्रतिशत
काठमाडौं । वाणिज्य बैंकहरूले मंसिरका लागि सार्वजनिक गरेको नयाँ ब्याजदरमा पनि व्यक्तिगत मुद्दती निक्षेपको दर घटेको छ। बैंकिङ प्रणालीमा लगानीयोग्य रकम पर्याप्त रहनु र कर्जाको माग अपेक्षाकृत सुस्त हुनुका कारण निक्षेपको ब्याजदर घट्ने क्रमले निरन्तरता पाएको हो।
२० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको मंसिर महिनाको ब्याजदरअनुसार व्यक्तिगत मुद्दती निक्षेपमा दिइने अधिकतम औसत ब्याजदर कात्तिकको तुलनामा ०.१०७ प्रतिशत बिन्दुले घटेको छ। कात्तिकमा यस्तो औसत दर ४.०१३ प्रतिशत रहेकामा मंसिरमा ३.९०६ प्रतिशतमा झरेको छ।
बैंकहरूको ब्याजदर पछिल्ला केही महिनादेखि लगातार घट्दो क्रममा छ। व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत दर साउनमा ४.१६७५ प्रतिशत, भदौमा ४.१३६० प्रतिशत र असोजमा ४.०८९६ प्रतिशत थियो।
मंसिरमा कात्तिकको तुलनामा ६ वटा बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन्। बाँकी १४ बैंकले भने अघिल्लो महिनाकै दरलाई निरन्तरता दिएका छन्।
सानिमाको मुद्दतीमा ४.५ प्रतिशत
मंसिरमा व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा बढी ब्याजदर दिने बैंकका रूपमा सानिमा बैंक देखिएको छ। बैंकले पाँच वर्ष वा सोभन्दा बढी अवधिको व्यक्तिगत मुद्दती निक्षेपमा ४.५ प्रतिशत ब्याजदर कायम गरेको छ।
त्यसपछि एनएमबी बैंकले ४.२५ प्रतिशत तथा नेपाल बैंक र प्रभु बैंकले ४.१५ र ४.२५ प्रतिशतसम्म ब्याजदर दिएका छन्।
बैंकहरूले सामान्यतः छोटो अवधिको मुद्दती निक्षेपमा तुलनात्मक रूपमा कम र लामो अवधिको निक्षेपमा बढी ब्याजदर तोक्ने गरेका छन्। यहाँ उल्लेख गरिएको अधिकतम दर सम्बन्धित बैंकले व्यक्तिगत मुद्दतीका लागि तोकेको उच्चतम दर हो।
नयाँ र नवीकरण हुने मुद्दतीमा मात्रै नयाँ दर
पहिले नै मुद्दती निक्षेप खोलेका ग्राहकको हकमा भने खाता खोल्दाको सम्झौताअनुसारकै ब्याजदर लागू हुन्छ। मंसिरमा नयाँ खोलिने मुद्दती खाता वा अवधि पूरा भएर नवीकरण हुने खातामा मात्रै बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर लागू हुनेछ।
निक्षेपको ब्याजदर घट्दा बैंकहरूको आधार दरमा समेत प्रभाव पर्ने भएकाले त्यसले कर्जाको ब्याजदर घटाउन दबाब सिर्जना गर्न सक्छ। बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहे पनि कर्जा प्रवाह अपेक्षाकृत सुस्त भएकाले बैंकहरूले निक्षेपको ब्याजदर क्रमशः घटाउँदै आएका छन्।
