कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको चासो बढ्यो, प्रवेश परीक्षार्थी १२ प्रतिशतले वृद्धि
चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालयमा स्नातक तह अध्ययन गर्न चाहने विद्यार्थीको संख्या यस वर्ष बढेको छ। विश्वविद्यालयका अनुसार गत वर्षको तुलनामा प्रवेश परीक्षामा सहभागी हुने विद्यार्थीको संख्या १७९ ले वृद्धि भएको हो।
उपकुलपति प्राडा. ऋषिराम कट्टेलका अनुसार गत शैक्षिक सत्रमा १ हजार ५०८ विद्यार्थीले प्रवेश परीक्षा दिएका थिए। यस वर्ष भने १ हजार ६८७ विद्यार्थी प्रवेश परीक्षामा सहभागी भएका छन्।
विश्वविद्यालयले यसपटक काठमाडौं, हेटौँडा र चितवनको रामपुरसँगै इटहरी, जनकपुर र नेपालगञ्ज गरी छ स्थानबाट एकैपटक प्रवेश परीक्षा सञ्चालन गरेको थियो।
सबैभन्दा धेरै परीक्षार्थी काठमाडौं केन्द्रबाट सहभागी भए। काठमाडौंमा ७०६, रामपुरमा ५६८, इटहरीमा १४५, नेपालगञ्जमा ११२, जनकपुरमा ९१ र हेटौँडामा ६५ विद्यार्थीले परीक्षा दिएका थिए।
विश्वविद्यालयका अनुसार स्नातक तहका लागि १ हजार ८०१ जनाले आवेदन दिएका थिए। तीमध्ये ११४ जना प्रवेश परीक्षामा सहभागी भएनन्।
विश्वविद्यालयको केन्द्रीय तथा आङ्गिक क्याम्पसतर्फ ८५४ विद्यार्थीका लागि अध्ययनको व्यवस्था छ। त्यस्तै, सम्बन्धन प्राप्त आठ निजी क्याम्पसमा थप ४०० विद्यार्थी अध्ययन गर्न पाउनेछन्। यसरी यस शैक्षिक सत्रमा कुल १ हजार २५४ विद्यार्थीले स्नातक तहमा अध्ययन गर्ने अवसर पाउनेछन्।
यसमा १२ जना विदेशी विद्यार्थीसमेत समावेश छन्। विदेशी विद्यार्थीका लागि छुट्टै व्यवस्थाअनुसार प्रवेश परीक्षा अनिवार्य गरिएको छैन।
उपकुलपति कट्टेलले यस वर्ष प्रवेश परीक्षामा विद्यार्थीको संख्या बढेकाले आङ्गिक तथा सम्बन्धन प्राप्त निजी क्याम्पसमा विद्यार्थीको अभाव कम हुने अपेक्षा गरिएको बताए।
गत वर्ष विद्यार्थी संख्या नपुगेका कारण विश्वविद्यालयका आठ आङ्गिक क्याम्पसमध्ये पाँचमा नयाँ भर्ना हुन सकेको थिएन। त्यस्तै, विद्यार्थी अभावकै कारण सम्बन्धन प्राप्त आठ निजी क्याम्पस पनि सञ्चालनमा आउन सकेका थिएनन्।
कट्टेलका अनुसार विद्यार्थी संख्या पर्याप्त नभए त्यस्ता आङ्गिक क्याम्पसलाई अनुसन्धान, नवप्रवर्तन तथा प्रसार केन्द्रका रूपमा विकास गर्ने योजना छ। आवश्यक परे २१ दिनभित्र पुनः प्रवेश परीक्षा सञ्चालन गरिने उनले बताए।
विश्वविद्यालयले देशभरका क्याम्पसमा प्रचारप्रसार विस्तार गर्नुका साथै विभिन्न स्थानमा प्रवेश परीक्षा सञ्चालन गरेको थियो। पाठ्यक्रममा गरिएको परिमार्जन र शैक्षिक गुणस्तर सुधारका कारण पनि विद्यार्थीको आकर्षण बढेको विश्वविद्यालयको भनाइ छ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयमा कृषि, पशु चिकित्सा तथा पशुपालन, मत्स्य विज्ञान र वन विज्ञानतर्फ स्नातक, स्नातकोत्तर तथा विद्यावारिधिसम्मका कार्यक्रम सञ्चालन हुँदै आएका छन्।
कृषि सङ्कायका डिन प्राडा. सुन्दर तिवारीका अनुसार विदेशी विद्यार्थीका तर्फबाट हालसम्म पाँच जनाको आवेदन प्राप्त भएको छ। उनीहरू भारत र बंगलादेशका हुन्। परराष्ट्र मन्त्रालयमार्फत थप विदेशी विद्यार्थी आउने अपेक्षा गरिएको उनले बताए।
यस शैक्षिक सत्रमा विश्वविद्यालयका तीन सङ्कायमा गरी १२ विदेशी विद्यार्थी भर्ना हुनेछन्। तीमध्ये कृषि विज्ञानमा पाँच, पशु चिकित्सामा तीन, मत्स्य विज्ञानमा एक र वन विज्ञानमा तीन जना रहेका छन् ।
