रसुवागढी प्रभावित भएपछि कोरला नाकामा बढ्यो चहलपहल, ईभी र कन्टेनरको आयात उकालो
मुस्ताङ । रसुवागढी नाका बाढीका कारण प्रभावित भएपछि चीनसँगको व्यापारका लागि मुस्ताङको कोरला नाकामाथि निर्भरता बढेको छ। पछिल्ला दिनमा कोरला नाकाबाट भित्रिने विद्युतीय सवारीसाधन (ईभी) र मालवाहक कन्टेनरको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ।
उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ स्थित नेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालय र कोरला नाका क्षेत्रमा अहिले चीनबाट आयात भएका ईभी, विद्युतीय उपकरण, घरायसी सामग्री, कपडा, जुत्ता, कस्मेटिक तथा चाडपर्व लक्षित उपभोग्य वस्तु बोकेका कन्टेनरको आवागमन बढेको छ।
भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीपछि रसुवागढी भन्सार प्रभावित भएपछि कोरला नाका चीनबाट सामान ल्याउने उत्तरी नाकामध्ये प्रमुख वैकल्पिक मार्ग बनेको हो। त्यसअघि साउनसम्म कोरला नाकाको व्यापारिक गतिविधि तुलनात्मक रूपमा सामान्य थियो।
दुई महिनामै ३ अर्बभन्दा बढी राजस्व
चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा कोरला नाकाबाट ३ अर्ब ७ करोड ९३ लाख रुपैयाँ राजस्व सङ्कलन भएको मुस्ताङ भन्सार कार्यालयले जनाएको छ।
चाडपर्वलाई लक्षित आयात र विशेषगरी विद्युतीय सवारीसाधनको बढ्दो कारोबारले राजस्वमा उल्लेख्य योगदान गरेको कार्यालयको तथ्यांकले देखाउँछ।
ईभी आयातमा आएको वृद्धि झनै ठूलो छ। साउनमा कोरला नाकाबाट १०० वटा ईभी भित्रिएकोमा भदौमा यो सङ्ख्या बढेर १ हजार २२३ वटा पुगेको छ। ईभीबाट मात्रै २ अर्ब ११ करोड ३० लाख रुपैयाँ राजस्व उठेको छ।
त्यस्तै, मालवाहक कन्टेनरको आवागमन पनि तीव्र भएको छ। साउनमा ५७ वटा कन्टेनर भित्रिएकोमा भदौमा यो सङ्ख्या बढेर ६९७ वटा पुगेको छ।
स्थानीय व्यापारमा पनि प्रभाव
नाकामा कारोबार बढेपछि उपल्लो मुस्ताङको स्थानीय अर्थतन्त्रमा समेत त्यसको प्रभाव देखिन थालेको छ। कोरला दशगजा आसपासका पसलमा व्यापार बढेको छ भने चीनबाट नेपालतर्फ आएका सामान ढुवानीका क्रममा चालक र मजदुरले थप काम पाएका छन्।
नाकाबाट भित्रिएका ईभी तथा अन्य सामग्रीलाई करिब १४ किलोमिटर तल रहेको भन्सार कार्यालयमा ल्याएर जाँचपास गर्ने व्यवस्था छ। जाँचपासपछि सवारीसाधन तथा सामानलाई कालीगण्डकी करिडोर हुँदै बेनी–जोमसोम–कोरला सडकमार्गबाट पोखरा तथा देशका अन्य सहरतर्फ पठाइन्छ।
विशेषगरी ईभीलाई देशका विभिन्न सहरमा रहेका डिलर तथा सोरुमसम्म पुर्याउने क्रममा चालकहरूको व्यस्तता बढेको छ।
लामो समयपछि पुनः सक्रिय भएको नाका
समुद्री सतहबाट करिब ४ हजार ६५० मिटर उचाइमा रहेको कोरला नाका लामो समय व्यापारिक गतिविधिबाट टाढा थियो। सन् १९६० को दशकमा तिब्बतमा राजनीतिक परिवर्तनपछि तिब्बती खम्पा विद्रोहीहरूले नेपाली भूभाग प्रयोग गरेको घटनापछि नाका बन्द भएको इतिहास छ।
नेपाल–चीनबीचको व्यापार विस्तार गर्ने उद्देश्यले २०८० कात्तिक २७ गते कोरला नाकाको औपचारिक उद्घाटन गरिएको थियो। त्यसपछि गत आर्थिक वर्ष २०८२/८३ को भदौ ३० गतेदेखि नाका व्यावसायिक रूपमा सञ्चालनमा आएको थियो।
गत आर्थिक वर्षमा कोरला नाकाबाट ६ अर्ब ९१ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो।
नाकाको पूर्वाधार विस्तार तथा भन्सार सञ्चालनका लागि करिब १ हजार रोपनी जग्गा अधिग्रहण गरिएको छ। त्यस्तै, कोरला नाकाबाट करिब १४ किलोमिटर तल रहेको भन्सार कार्यालय परिसरमा करिब ३०० रोपनी जग्गा रहेको छ।
रसुवागढी नाका बाढीका कारण प्रभावित भएपछि कोरला नाकामा देखिएको बढ्दो चापले नेपाल–चीन उत्तरी व्यापारमा यसको वैकल्पिक भूमिकालाई थप महत्त्वपूर्ण बनाएको छ। दसैँ–तिहारलगायतका प्रमुख चाडपर्व नजिकिँदै जाँदा ईभी तथा उपभोग्य सामग्री बोकेका कन्टेनरको आवागमन अझ बढ्ने अनुमान गरिएको छ।
