वाइडबडी जहाज मर्मतमा ढिलाइ, नेवानिको नारिता उडान फेरि रोकियो
काठमाडौं — नेपाल वायुसेवा निगम (नेवानि) का दुवै वाइडबडी जहाज सञ्चालनमा आउन नसक्दा अन्तर्राष्ट्रिय उडान तालिका प्रभावित भएको छ। निगमले मंगलबारका लागि तय गरेको काठमाडौं–नारिता र नारिता–काठमाडौं उडान पुनः रद्द गरेको छ।
जापानको नारितामा रहेको निगमको एउटा वाइडबडी जहाज लामो समयदेखि ग्राउन्डेड छ। मर्मत सम्पन्न गरेर जहाज काठमाडौं फर्काउने तयारीअनुसार काम अघि बढ्न नसकेपछि निर्धारित उडान स्थगित गर्नुपरेको निगमले जनाएको छ।
यसैगरी निगमको अर्को वाइडबडी जहाज नियमित मर्मतका लागि इटाली पठाइएको छ। दुवै जहाज एकै समयमा सञ्चालनबाहिर भएपछि लामो दूरीका गन्तव्यमा निगमको उडान व्यवस्थापन थप प्रभावित भएको छ।
चाडपर्व नजिकिँदै गर्दा नारिता जाने–आउने टिकट लिएका यात्रुहरू प्रभावित भएका छन्। दुवै वाइडबडी जहाज ग्राउन्डेड भएपछि निगमले हालसम्म करिब एक दर्जन उडान रद्द गरिसकेको छ।
उडान रद्द हुँदा यात्रु व्यवस्थापनसँगै निगमको आम्दानीमा समेत असर परेको छ। लगातार उडान स्थगित हुँदा निगमले ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको बताइएको छ।
नेवानिसँग अन्तर्राष्ट्रिय उडानका लागि दुई वाइडबडी र दुई न्यारोबडी गरी चार जहाज छन्। न्यारोबडी जहाजले मुख्यतः छोटो दूरीका गन्तव्यमा उडान गर्ने भएकाले लामो दूरीका नारिता लगायतका गन्तव्यमा सेवा सञ्चालन गर्न वाइडबडी जहाज आवश्यक पर्छ।
